22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

आज सहिद दिवस, यस्तो छ यसको इतिहास

          |   प्रकाशित मितिः आइतवार, माघ १६, २०७३     10:32:16 AM  | 94 पटक पढिएको   |  

काठमाडौं: देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो ।

सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ ।

महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले आज बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट बिहान ८ः१५ बजे प्रभातफेरी सुरु गरी ९ बजे लैनचौरस्थित सहिद स्मारकमा गएर विशेष कार्यक्रम गरेको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

प्रभातफेरीमा संवैधानिक निकायका प्रमुख एवम् सदस्य, मन्त्रीगणलगायत पनि सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो । ९ बजे लैनचौरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको सालिकमा माल्यार्पण गरेका छन् ।

मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ । तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन ।

नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद–शुक्रराज शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ ।

त्यसयता पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले सहादत प्राप्त गरेको भए पनि उनीहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन । विसं २०४६ को जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ जनालाई सम्मानस्वरुप सरकारले जनही रु एक लाख आर्थिक सहयोग ग¥यो ।

मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

कसलाई सहिद भन्ने र कसलाई नभन्ने भन्नेमा विवाद आउन थालेपछि सरकारले २०६२÷६३ सालको जनआन्दोलनपछि त्यसलाई व्यवस्थित गर्न दुई आयोग बनायो । तर त्यसको प्रतिवेदन हालसम्म पनि कार्यान्वयन भएको छैन । सरकारले नवराज सुवेदी र मोदनाथ प्रश्रितको संयोजकत्वमा सहिदको मापदण्ड बनाउन फरक फरक दुई आयोग बनायो ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि पनि त्यसप्रति असन्तुष्टि जनाउँदै भएको आन्दोलनमा थुप्रै व्यक्तिले ज्यान गुमाइसकेका छन् । सरकारले पछिल्लो मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्न गठन गरेको आयोगले काम गरिरहेको छ ।

लोकतन्त्र र अग्रगमन सहिदका बलिदानको परिणाम : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान् सहिदका त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उनीहरुले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गरेको बताएकी छिन् ।
सहिद दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपतिले आदरणीय ज्ञात–अज्ञात सहिदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

सन्देशमा उनले वीर, अमर, त्यागी र भविष्यद्रष्टा सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सकेमा मात्र सहिदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको बताएकी छिन् ।

राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवम् मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति राष्ट्रपतिले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।

संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदको सपना प्रेरणादायी–प्रम प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताएक छन् ।

सहिद दिवसका अवसरमा आज प्रधानमन्त्री प्रचण्डले दिनुभएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान सहिदको योगदान सधंँै स्मरणीय रहने उल्लेख गरेका छन् ।

“माघ १६ नेपाल र सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु”–सन्देशमा उल्लेख छ ।

नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र हामीलाई अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा सहिदहरूको योगदान उच्च रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकालविरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेस आन्दोलनलगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जेजति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको सन्देशमा उल्लेख गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महसुस गर्न आजको ऐतिहासिक दिनबाट शान्ति र विकाससहितको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

Leave a comment

Your email address will not be published.


*