20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

लिफ्ट प्रणालीको खानेपानीबाट ठुलीपोखरीका स्थानीय लाभान्वित

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः आइतवार, माघ १६, २०७३     7:55:03 AM  | 238 पटक पढिएको   |  

पर्वतः ठुलीपोखरी ३ की चन्द्रकला लामीछानेलाई हिजो आज पानी ल्याउनकै लागि विहान सबेरै उठ्नुपर्ने बाध्यता हटेको छ । लिफ्ट प्रणाली मार्फत घरमै खानेपानी पुगेपछि चन्द्रकला जस्ता धेरै गृहिणीलाई हाइसुख्ख भएको हो ।

ठुलीपोखरी ३,८ र ९ नम्वर वडामा बिगत लामो समय देखि खानेपानीको हाहाकार थियो । ठुलिपोखरी लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछि गाउँ भरि पानीको समस्या हटेको छ । बिगतमा पानीको हाहाकार भई सख्खा हुने ठुलीपोखरीको भन्जयाङका बासिन्दा अहिले सबैभन्दा खुशी छन् । पानी ल्याउन पनि झनै सजिलो भएको छ । आफनै मोबाईलमै एउटा वटन थिचेपछि खोरीया पानीको टंकिमा जम्मा भएको पानी धारामा सजिलै आउछ भन्छन् ठुलिपोखरी लिफेटिङ खानेपानी आयोजनाका अध्यक्ष निलकण्ठ शर्मा लामिछाने ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र ठुलिपोखरीका स्थानीयको सक्रियतामा हालै लिफ्टिङ खानेपानीको आयोजना निर्माण गरिएको हो । बिगत २०७२ माघ महिनामा सुरु भएको खानेपानी आयोजना १ करोड २० लाखको लगतमा सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिए । खानेपानीको अभाव हुने गरेको गाविसको माथिल्लो भेगमा समेत अहिले सहज रुपमा खानेपानीको पहुँच पुगेको छ ।

धार्मीक क्षेत्रको रुपमा रहेको बटुलेचौर दुर्गा मन्दीरमा आउने दर्शनार्थीहरुलाई पनि अव खानेपानीको समस्या टरेको स्थानीय हरिप्रसाद लामिछानेले बताए ।पर्वतको ठुलीपोखरी गाविसमा खानेपानीकै अभावले वसाईसराई तिव्र रुपमा वढेको थियो । अहिले पानीको समस्या टरेको छ । स्थानीय वासीहरु अहिले खुशी भएका छन् । पानीको समस्या हटेपछि दुखका दिन फिरेर सुखका दिन शुरु भएकोमा गाउँवासी दंग छन् ।

Leave a comment

Your email address will not be published.


*