22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

सोनाम ल्होसारको अवसरमा राष्ट्रपतिको शुभकामना

          |   प्रकाशित मितिः शनिबार, माघ १५, २०७३     10:09:04 AM  | 90 पटक पढिएको   |  

काठमाडौँ: तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवम् तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले जानकारी दिए ।
‘यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइँदैछ, स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले आज बौद्धका चार ढोका खोलिन्छ, आज दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइन्छ’ उनले भने ।
यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।

राष्ट्रपति भण्डारीबाट ल्होसारको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

‘जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष र न्वाँगी पूजाका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । आपसी मनोरञ्जन र खुसी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व, पारस्परिकता र सद्‌भाव कायम राख्न मद्दत पु¥याउनेछ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व हो”– विज्ञप्तिमा छ ।

तामाङ संस्कृति आफैँमा मौलिक, सुसंस्कृत, सम्पन्न र समृद्ध रहेको, यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याई नेपालीबीचको एकता, सद्‌भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्ने कामनाराष्ट्रपति भण्डारीले गरेकी छिन् ।

प्रधानमन्त्रीको पनि शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘जनताको संघर्ष र वीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यन्वयन गर्नु तथा हिमाल, पहाल र तराईंका सवै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृतिको दिशामा अगाडि बढनु आजको आबश्यकता हो । यसका लागि सरकार संवाद र सहमतिको आधारमा लक्ष्य हासिल गर्न क्रियाशिल रहदै आएको छ । यस अवसरमा तामाङ समुदाय तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपिल गर्दछु । ’
प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘यस पर्वले तामाङ समुदायका साथै सम्पूर्ण नेपालीहरुको बीचमा वन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुतमा कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदा गर्ने अपेक्षा गर्दै सम्पूर्ण तामाङ समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

साभारः रातोपाटी

Leave a comment

Your email address will not be published.


*