21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

सयौं पटक मरेको मान्छे (कविता)

        नेकी धनेन्द्र   |   प्रकाशित मितिः शनिबार, माघ १५, २०७३     9:58:57 AM  | 301 पटक पढिएको   |  

बलेकै आगो त तापिन्छ
जहाँ पनि
म त निभिसकेपछिको
खरानी न हुँ
हावाको एकै झोक्काले
पनि उडाएर बराली दिन्छ
टाढा-टाढा सम्म !!

मुटुको गति बन्द नभए सम्म
पृथ्वीको गतिविधि नरोकिए सम्म
संसारिक रित उस्तै रहेसम्म
जहाँ गएपनि यी मेरा-
अभाव, आँसु र वेदनाहरु
भने जीवितै रहनेछन्
यो जिन्दगि भरि
जसरी,
जीवितै छन अहिलेसम्म !!

जता हिड्न खोज्यो
उतै छन-अग्ला अग्ला पर्खाल
उतै छन- छ्याप छ्याप्ती कांडैकाँडा
उतै छन- जन्जिरै जन्जिर
कसरी पुगुं म गणतव्य सम्म
कलियुगको
विर्यबाट जन्मेको छ समय
यहाँ हात समतेर साथ दिनु
भन्दा खुट्टा भाँचेर
पिठ्युँमा भारी बोकाइन्छ
र बाटो देखाइन्छ
गणतब्य सम्म पुग्ने!!

जिउने सम्पूर्ण उपाय
टुङ्गिएको मान्छे न हुँ
बाँच्न उत्प्रेरित
गर्ने तत्व नै छैन मसित
समाप्त भैसकेका छन
इच्छा, आकांक्षा र रहरह्रु
भर्खरै लागेको डढेलोबाट !!

आमाको दुधको साटो
अभाव पीउदै हुर्केको मान्छे
ख्याउटे र मरन्च्यासे
भएपछि, भनियो-
बोक्सी र भुत लाग्यो
र, झार फुक, धामीझाँक्री
गर्दागर्दै पूर्ण रुपमा
कुपोस्गित भैसकेको थिए
फलस्वरूप-
सुस्त भैदियो दिमागको गति
अति कम्जोर भैदिए यी पाखुराहरु
र त गर्न सकिन-
छानाको जोह
खानाको जोह
नानाको जोह !!

अर्थ,अस्थित्व
र महत्वहिन भएर
रित्तिएपछि
परजीवी प्राणी भएं
गरिबिले निलेको परिवार भित्र !!

समाजका लागि
जिस्काइने साधन बन्न पुगें
आफैप्रती
घृणा जागेर आयो
त्यसपछि बारम्बार
यहि सोचिरहन्छु-
अब चाडै मर्नुपर्छ….!!
र, सोचिरहन्छु म मर्नु भनेको
नै बाँच्नु हो !!

Leave a comment

Your email address will not be published.


*