24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

सडक र पुल निर्माणकार्य अलपत्र

सडकमा वेथिति

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, माघ ११, २०७३     3:01:49 PM  | 184 पटक पढिएको   |  

जाजरकोट: सम्बन्धित निकायको लापरबाही र ढिलासुस्तीले जाजरकोटका महत्वपूर्ण सडक र पुलहरूको निर्माणकार्य अलपत्र परेको छ । निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि जिल्लाका आधा दर्जन बढी सडक र पुल निर्माणकार्यले गति लिन नसक्दा जिल्लावासीको सडक सपना अधुरो बनेको हो ।

निर्माणकार्य रोकिएका सडक र पुलहरू यथाशीघ्र सुचारु गर्न स्थानीयले माग गरेका छन् । जिल्लाका रणनैतिक सडक र पुलमा पर्याप्त बजेट विनियोजन नहुनु, विनियोजन भएको बजेट पनि सही सदुपयोग नहुनुले आयोजनाहरू अलपत्र परेको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

“निर्माण कम्पनीको ढिलासुस्ती र उदासिनताले राज्यको रकम दुरुपयोग भएको छ” शाहले भने, “१०औं वर्षअघिदेखि निर्माण सुरु गरिए पनि जिल्लाको भविष्यसँग जोडिएका सडकको निर्माणकार्य रोकिनु दुर्भाग्य हो ।”

निर्माण सुरु भएको १० वर्षसम्म पनि काम नहुँदा अलपत्र अवस्थामा रहेको खलंगा–पाँचकाटिया–पैक–ब्याउलीढुंगा–जुम्ला, खलंगा–पाँचकाटिया–बारेकोट–जुम्ला र छेडा–चाँदे–जुम्ला सडकजस्ता रणनैतिक सडक अलपत्र छन् ।

सदरमुकाम खलंगामा सडक यातायात पुगेको १० वर्ष बिते पनि सदरमुकाम बाहिरका ग्रामीण भेगमा सडक सञ्जाल जोडिन सकेको छैन । सडक डिभिजन कार्यालयको उदासिनताले जाजरकोटको विकास रोकिएको नागरिकको गुनासो छ ।

पुल नबन्दा झन सास्ती
जाजरकोट–डोल्पा भेरीकरिडोरको बैरीताल–चिसापानी पुल, छिन्चु–जाजरकोट सडकको पासागाड पुल र सिम्ली खोलाको पुल समयमा नबन्दा जिल्लावासीलाई थप सास्ती भएको छ । पुल नबन्दा सदरमुकाम खलंगा आउन ग्रामीण भेगका बासिन्दा पैदल हिँड्नुको विकल्प छैन ।

“सडक निर्माणले गति लिन नसक्दा अधिकांश बासिन्दा पैदल हिँड्न बाध्य छन् ।” लहँ ६ कालिमाटीका हाँसिलाल पन्तले भने, “बिरामी उपचारका लागि सदरमुकाम लैजान र उपभोग्य सरसामान लिन अहिले पनि डोकोमा बोक्नु पर्ने बाध्यता छ ।”

“सदरमुकामनजिकका बस्तीसम्म सडक निर्माणकार्य भए पनि खोलाहरूमा पुल नबन्दा यातायात सञ्चालनमा आउन सकेको छैन ।” पन्तले भने, “निर्माण भएको सडक पनि कतिपय ठाउँमा भत्किसक्यो ।”

पुल बन्यो, पहुँच मार्ग बनेन
जाजरकोट–डोल्पा सडकको रिम्ना खण्डमा पुल निर्माण भएको ८ महिना बित्यो । तर, करिब ६ सय मिटरको पहुँच मार्ग नबन्दा नागरिकले सास्ती झेल्नु परेको छ ।जाजरकोट, डोल्पा र रुकुमका स्थानीय आवतजावत गर्ने यो सडक खण्डमा कसले पहुँच मार्ग निर्माण गर्ने भन्ने विषय विवादले पहुँच मार्ग निर्माणकार्य अलपत्र परेको हो ।

अनक लुम्बिनी जेभीले १० करोड लगानीमा निर्माण गरेको पुल पहुँचमार्ग नबन्दा प्रयोगविहीन बनेको छ । हाल रुकुमको भू–भागमा पर्ने छेपारे, जाजरकोटमा पर्ने तल्लुबगर र डोल्पामा पर्ने त्रिवेणीसम्म जीप चले पनि रिम्नामा यात्रुहरूले करिब ६ सय मिटर पैदलबाटो हिँड्नु पर्ने बाध्यता छ ।

दुवै तिरबाट गाडी चल्छन् तर, पहँचुमार्ग अभावले सामग्री ढुवानी गर्दा त्यसक्षेत्रमा उपभोग्य सामग्रीसमेत महंगिएको सक्ला– २ का दिलबहादुर नेपालीले बताए ।जाजरकोट–डोल्पा सडकअन्तर्गतको जाजरकोट खण्ड नेपाली सेनाले तीन वर्ष पहिले पूरा गरेको थियो । पहुँचमार्ग निर्माणका लागि सेना र पुल निर्माण कम्पनीले आफ्नो जिम्मेवारीभित्र नपर्ने भन्दै आलटाल गर्दै आएका छन् ।

रकम विनियोजन नहुँदा स्थानीय आक्रोशित
रणनैतिक महत्वका मुख्य दुई सडक छेडा–चाँदे–जुम्ला र खलंगा–पाँचकाटिया–जुम्ला सडकका लागि चालू आवमा रकम विनियोजन नगरेपछि स्थानीय आक्रोशित भएका छन् ।

अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने भन्दै सडक डिभिजनलाई आशयपत्र पठाएपछि करिब ७÷७ करोडका दुई वटा टेन्डर भएका थिए । रकम आउने निश्चित नभएको र अन्य प्रक्रिया पनि पूरा नभएको भन्दै ती ठेक्का रद्द भएका छन् ।

आव सुरु भएको ६ महिना बितिसक्दा पनि जुम्ला जोड्ने रणनैतिक सडकका लागि बजेट नआएपछि डिभिजन कार्यालय र नेताप्रति जनता आक्रोशित बनेको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए । जिल्लामा सहरी, क्षेत्रीय र प्रादेशिक गरी चार दर्जन बढी सडक आयोजनामा बजेट विनियोजन गरिए पनि रणनैतिक महत्वका सडकमा बजेट विनियोजन नभएको डिभिजन प्रमुख आशिष थापा मगरको भनाइ छ ।

“हामीलाई अर्थले बजेटका लागि आशयपत्र दिएको छ । रद्द भएको सडकको पनि पुनः टेन्डर गर्ने तयारीमा छौं,” थापाले भने । हालको सुर्खेत–दैलेखहँुदै जुम्ला जोड्ने कर्णाली राजमार्ग सडकभन्दा जाजरकोट–जुम्ला सडक दूरीको हिसाबले छोटो छ । जाजरकोट र जुम्ला जोड्ने रणनैतिक सडक निर्माण भएमा कर्णालीसँगको ढोका खुल्ने र आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि हुने जिल्लावासीको विश्वास छ ।

साभारः कारोबार दैनिक

Leave a comment

Your email address will not be published.


*