21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

जाजरकोटमा औषधी आयो, डाक्टर आएनन्

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, माघ ८, २०७३     1:24:53 PM  | 136 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटवासी घरछेउको अस्पतालबाट विशेषज्ञ सेवा पाउन वञ्चित छन् । सरोकारवाला निकायले अझै जिल्लामा विशेषज्ञ डाक्टर पठाएको छैन । ‘विशेषज्ञ सेवा लिन नेपालगन्ज, सुर्खेतलगायत सहर नपुगी सुखै छैन,’ स्थानीय सूर्यबहादुर श्रेष्ठले भने, ‘जिल्ला अस्पताल स्तर वृद्धि गरेर ५० शय्याको जाजरकोट अस्पताल बनाउने सरकारले एउटै विशेषज्ञ पठाएन ।’ स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले बेवास्ता गर्दा अस्पतालको स्तर वृद्धि तथा विशेषज्ञ चिकित्सकको दरबन्दी कागजमै सीमित भएको हो ।

‘जिल्ला अस्पताल स्थापना भएको ४० वर्ष बित्दासमेत मेडिकल सुपरिटेन्डेन्ट नपठाउने सरकारले ९ विशेषज्ञ चिकित्सक कसरी पठाउला ?,’ श्रेष्ठले भने । ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जनरलिस्ट, बालरोग, स्त्रीरोग, मानसिक रोग, जनरल फिजिसियन, रेडियोलोजिस्ट, हाडजोर्नी, जनरल सर्जन, एनेस्थेसियालगायत ९ विशेषज्ञ चिकित्सक, वरिष्ठ फिजियोथेरापिस्ट, नर्सिङ अधिकृत, ल्याव टेक्नोलोजिस्ट, मेडिकल रेकर्डर, स्टाफ नर्स, स्वास्थ्य सहायक, फार्मेसिस्टलगायत ३७ जनाको पदपूर्ति हुन सकेको छैन ।

अस्पतालमा मेडिकल अधिकृत, डेन्टल सर्जनलगायतले मात्र सेवा प्रवाह गर्दै आएका छन् । भौतिक पूर्वाधार तथा उपकरण अभावले सिकेको ज्ञान सदुपयोग नहुने अवस्था आएको डा. भूपेन्द्र मल्लले बताए । ‘औजार र भौतिक संरचनाबिना विशेषज्ञ डाक्टरले पनि सेवा प्रवाह गर्ने वातावरण बन्दैन,’ उनले भने, ‘भौतिक संरचना, उपकरण र विशेषज्ञ डाक्टरबिनाको अस्पताल ५० शय्याको हुन सक्दैन ।’

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा आवश्यकताअनुसार पद पूर्ति हुन सकेको छैन । घरंगा, साल्मा, थालारैकर, झाप्रा, डाँडागाउँ, पजारु, दह, भगवतीलगायत स्थानका स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन छन् । १ सय ३३ स्वास्थ्यकर्मी अभाव रहेको जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले बताए । पद पूर्ति भएका स्वास्थ्यकर्मी सरुवा भएर जाने क्रम बढेपछि दरबन्दी रिक्त भएको उनले बताए । ‘दरबन्दी छ, जनशक्ति छैन,’ उनले भने ।

तत्काललाई औषधि जोहो 
जाजरकोट अस्पतालको स्टोरमा भर्खरै ५० लाख रुपैयाँ बराबरको औषधि आइपुगेको छ । यससँगै जिल्ला अस्पताललगायत स्वास्थ्य संस्थामा तत्काललाई औषधि अभाव टरेको छ । गत पुस १७ गते कान्तिपुर दैनिकमा जाजरकोटमा औषधि अभावलगायत स्वास्थ्य क्षेत्रका बेथितिबारे समाचार प्रकाशित भएपछि सरकारले औषधि पठाएको हो । मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जबाट १३ लाख ४७ हजार र स्वास्थ्य कार्यालयबाट ३५ लाख मूल्यको औषधि खरिद गरिएको छ ।

विभिन्न इन्जेक्सन र सिरिन्ज, सिट्रिजीन, एमोक्सिलिन, जिन्क ट्याब्लेट, सिप्रो, मेट्रोलगायत ६२ प्रकारका औषधि आइपुगेको स्टोरकिपर लमबहादुर खडकाले बताए । जिल्लामा उपलब्ध औषधि गाउँका स्वास्थ्य संस्थालाई वितरण गर्ने क्रम जारी रहेको उनले जानकारी दिए । ‘अब तत्काललाई औषधि अभाव टरेको छ,’ खडकाले भने ।

साभारः कान्तिपुर दैनिक

Leave a comment

Your email address will not be published.


*