22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

पश्चिम जाजरकोटमा विकराल बन्दैछ छाउपडी प्रथा

सरोकारवाला निकाय बेखबर

        सुरेन्द्र सुमन   |   प्रकाशित मितिः बिहिबार, पुस २८, २०७३     5:37:05 PM  | 739 पटक पढिएको   |  

जाजरकोटः मजकोट १ की सुशीला खड्का पहिलो पटक रजस्वला हुदा कपडाको पोको बाँधेर छाउगोठ पसिन् । कम्मर र पेट कटकटी दुख्थ्यो । लगातार रगत बगीरहेको थियो । जिउ भारी भएको थियो । उनलाई नुहाएर ज्यान हलुको बनाउन मन थियो । तर, उनी गह्रुगों तन र मन लिएर साँघुरो र अँध्यारो गोठमा पसिन् ।

 

उनले घरका आमा दिदीहरु छाउमा बसेको देखेकी थिईन् । तर, जब आफूले पहिलो पल्ट छाउ बार्नुपर्दा भने असैह्य पीडा महसुस भयो । अत्यासलाग्दो गोठको कुनामा कुजिएर बस्नुपर्ने अवस्था अर्को तर्फ घामको अनुहार देख्न नपाईने । त्यतिमात्र हो र ? छुई हुदा घरको आँगनमा समेत छुन नपाईने अछुत व्यवहार ।

‘देवता रिसाउँछन्’ भन्ने अन्धविश्वासका कारण जाजरकोटका पश्चिमी गाविसका महिलाहरु असुरक्षित रुपपमा गोठमा बसेर छाउ बार्न बाध्य छन् । रजस्वला भएकी महिलाले ६ दिनसम्म र सुत्केरी भएकी महिलाले ४५ दिन सम्म सकसपूर्ण रुपमा छाउ बार्नुपर्ने अन्धविश्वास छ ।

पश्चिमी जाजरकोटका विभिन्न गाविसहरु मध्ये खासगरी मजकोट, कोर्तागं, दहमा छाउपडीप्रथा हालसम्म कायम रहेको स्थानीयहरु बताउँछन् । मजकोट १ तल्लो लुहादह र मजकोट २ माथिल्लो लुहादहका स्थानीयले छाउपडी कुप्रथालाई गम्भीर रुपमा अंगाल्दै आएका छन् । माथिल्लो लुहादह र तल्लो लुहादहमा क्रमश १ सय ७० र तल्लो लुहादहमा १ सय १५ घरधुरी रहेका छन् । यी प्रत्येक घरधुरीका अधिकासंका छाउगोठ रहेका छन् ।
अधिकासं क्षेत्रीहरुको बाहुल्यता रहेको यी वडामा दलित समुदाय करिब ८० घरधुरीको हाराहारीमा रहेको मजकोट २ का वडा नागरिक मन्च संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । हालसम्म छाउगोठमा बस्दा अप्रिय घटना नघटे पनि यहाँका महिलाहरु निकै असुरक्षित रुपमा छाउगोठमा बस्नुपर्ने अन्धविश्वास कायम रहेको संयोजक खड्का बताउँछन् ।

शिक्षितहरु पनि देवतासँग डराउँछन्: प्रेम खड्का, वडा नागरिक मन्च, मजकोट–२ जाजरकोट

संयोजक खड्का मजकोट २ स्थित जन्मे हुर्के पनि जवानी अवस्थादेखि नै बर्दियामा बसे । उतै तिर घरजम पनि गरे । आफ्नो गाउँको अन्धविश्वासलाई उनले बर्दियामा रहदा बस्दा वास्ता गरेनन्, मानेन् । उनको घरपरिवार राम्रै चलिरहेको थियो । खान लाउन पुगेको थियो । केटाकेटीको पढाई राम्रै चलेको थियो । घरमा कोही रोगी र बिरामी हुनुपर्ने अवस्था आएन ।

समय वितेसँगै उनलाई बर्दियाको बसाई केही अपुग भएजस्तो महसुस भयो । मन अधीर भयो । जिन्दगीका धेरै समय बर्दियामै विताएका खड्कालाई शायद आफू जन्मेहुर्केको गाउँठाउँको माया लाग्यो । र, परिवारसहित केही वर्ष अघि मात्रै आफू जन्मेको गाउँ लुहादह फर्किए ।

लुहादह फर्किएपछि उनले छाउ बारे आफ्नो परिवारमा प्रयोग गरेर हेरे । उनले आफ्नी पत्नीलाई छुई बार्न लगाएनन् । छुई भएपछि आफ्नो श्रीमती वा छोरीलाई छाउगोठमा पठाएनन् । समाजले उनको परिवारमा छाउबारे जिज्ञाशा राख्दा अरु नै बहाना बनाएर ढाँटे ।
चार वर्ष वित्यो । घरमा अप्रिय घटना भएन । देवता रिसाएनन् । छाउ बार्नु भनेको अन्धविश्वास नै हो भन्ने उनले मनैमन पुष्टि भएको महसुस गरे ।

२०७२ माघको महिना देखि खड्काकी पत्नी विरामी परिन् । आँखामा समस्या देखापर्यो । आँखाका रोग बल्झिदै गम्भीर समस्या देखियो । तत्कालै श्रीमतीलाई लिएर खड्का नेपालगन्ज फुलटेक्रा स्थित आँखा अस्पतालमा पुगे । उपचार गरेर फर्केपछि दिनचर्या सामान्य चलीरहेको थियो । तर, एक्कासी श्रीमती बेहोस भईन् । श्रीमतीलाई नेपालगन्ज फेरि पुर्याए । औषधि उपचार गरियो । श्रीमतीको अवस्था सामान्य भयो ।
तर, वर्षमा ३, ४ पल्ट श्रीमती बेहोस भएर विरामी भैरहन थालेपछि गाउँमै धामीलाई देखाए । ‘धामीले छाउ नबारेकोले देवता रिसाएछन्’ खड्काले भने ‘देवतालाई तीन वटा खसी काटीसकेपछि श्रीमती हाल सन्चै छन् । त्यसपछि छाउ लुकाउने हिम्मत गर्न सकिएको छैन ।’

शौचालय भन्दा छाउघर अनिवार्य

यहाँका बस्तीहरुमा घर निर्माण गरिएपछि शौचालय भन्दा पनि छाउघर अनिवार्य रुपमा निर्माण गर्नुपर्ने हुन्छ ।
केही वर्ष जाजरकोटलाई खुला दिसामुक्त अभियानका क्रममा सरकारी तथा गैरसरकारी निकायको केही दबाब र केही अनुदानले शौचालय निर्माण गरिए । तर, छाउघर निर्माणमा भने गाउँलेहरु स्वस्फुर्त जागरुक हुनेगरेको पाईन्छ । आर्थिक रुपमा कमजोर व्यक्तिहरुले भने एक दुई घरधुरी मिलेर सामुहिक छाउगोठ निर्माण गर्ने गरेको खड्का बताउँछन् । कतिपयले शाैचालय प्रयोग नगरी छाउघरका रूपमा प्रयोग गर्दै आएको खड्काको भनाइ छ ।

छाउपडी केवल अन्धविश्वास मात्रै

छुई नबार्दा देउता रिसाउँछन भन्ने मान्यता केवल अन्धविश्वास मात्रै रहेको र यो मान्यताबाट उनीहरु पुर्खौपुर्खादेखि प्रभावित भएकाले यो अन्धविश्वासलाई सहजै परिवर्तन गर्न गाह्रो भएको पत्रकार राजेन्द्र कार्कीको विश्लेषण छ ।
परम्परागत रुपमा यहाँको समुदायमा जकडिएको यो अन्धविश्वासलाई परिवर्तन गर्न सरकारी र गैरसरकारी तहबाट चेतनामुलक कार्यक्रम संचालन गरिनुपर्ने पत्रकार कार्कीको सुझाव छ ।

छाउपडी बारे चेतनामुलक कार्यक्रम नै छैनन्

मजकोटमा छाउपडी प्रथाको अवस्था विकराल भएपनि हालसम्म यहाँ कुनैपनि निकायबाट चेतनामुलक कार्यक्रम संचालन हुनसकेका छैनन् । जिल्लामा दर्जनौ गैरसरकारी संस्थाहरु भएपनि छाउपडी जस्तो कुप्रथा हटाउने तर्फ गैरसरकारी संघसंस्थाहरुको ध्यान नजानु दुःखद भएको स्थानीय पत्रकार रेशमबहादुर खड्काले दुःख व्यक्त गरे । त्यस्तै महिला अधिकारसँग जोडिएको मुद्दा भएपनि महिला बालबालिका कार्यालय यो कुप्रथाबारे बेखबर छ ।

गाविसले नै बजेट छुट्याउदैन

छाउपडी कुप्रथाबारे स्थानीय शिक्षित र चेतनशिल व्यक्ति नै अभ्यस्त भैसकेका छन् । यो प्रथालाई हटाईनुपर्छ भन्नेमा कसैको पनि गम्भीर चासो नभएको मजकोटका पत्रकार दिपक शाही बताउँछन् । जनचेतनामुलक कार्यक्रम संचालनका लागि गाविसबाट रकम विनियोजन गर्न सकिने पर्याप्त आधार र पहुँच भएपनि स्थानीय राजनीतिक दलका नेता तथा वुद्धिजीवीहरुको ध्यान जानसकेको छैन ।

परम्परा र संस्कारसँग जोडिएको यो कुप्रथाले मानव अधिकारको खुल्लम खुल्ला धज्जी उडाए पनि जनताहरू जागरूक नहुदा यहाँका किशाेरी र महिलाहरू जाेखिमपूर्ण रूपले बाँच्न विवश छन् । छाउघरमा असुरक्षित रूपमा बस्दा बलात्कार, सर्पको टोकाइ, संक्रमणजन्य रोग लगायतका जोखिममा पर्नसक्ने तर्फ कसैको ध्यान जान सकेको छैन ।

Leave a comment

Your email address will not be published.


*