22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

शैक्षिक सामाग्री बाँड्दै एमाले नेता

          |   प्रकाशित मितिः बिहिबार, पुस २१, २०७३     12:30:46 PM  | 726 पटक पढिएको   |  

जाजरकोट: नेकपा एमालेका युवा नेता निरज आचार्य जाजरकोटको एक विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेका छन् । आचार्यले भेरीमालिका नगरपालिका ११ कटीगाउँमा रहेको जनज्योती प्राथामिक विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
कक्षा एकदेखि कक्षा तीनसम्म पढाई हुने उक्त विद्यालयमा एक सय ६५ विद्यार्थी अध्ययनरत छन् । उनीहरु सबै दलित समुदायका बालबालिका हुन् । विद्यार्थीहरुलाई भलिवल, प्रतिविद्यार्थी एक-एक दर्जन कापी र कलम दिइएको युवा संघ नेपालका पूर्व महासचिव समेत रहेका नेता आचार्यले जानकारी दिए । शैक्षिक सामाग्री वितरण कार्यक्रमको संयोजन अनेरास्ववियु जाजरकोटले गरेको हो ।
साविक जगतिपुर गाउँ विकास समितिको तीन नम्बर वडामा पर्ने कटीगाउँमा दलित समुदायको बसोवास रहेको छ । उक्त गाउँमा गैरदलितको एक जना परिवार पनि नरहेको छिमेकी वडाका दिनेश गौतमले बताए । सो गाउँबाट अहिलेसम्म तीन जनाले एसएलसी उत्तीर्ण गरेका छन् । त्यसमध्ये एक जना नेपाली सेनामा कार्यरत छन्, एकजनाले सोही विद्यालयमा निजी स्रोतबाट अध्यापन गराईरहेकी छन् भने अर्का एक जना पूर्व माओवादी लडाकु हुन् ।


विद्यालयमा अहिले खानेपानी व्यवस्था नरहेको तथा विद्यालय भवन जीर्ण अवस्थामा रहेको छ । विद्यालय प्रशासनले एक क्वाईल पाइप भएमा विद्यालयमा खानेपानीको व्यवस्था गर्न सकिने बताएपछि पाइप उपलब्ध गराउने नेता आचार्यले प्रतिवद्धता जनाएका छन् । यसका लागि प्रक्रिया शुरु भइसकेको आचार्यले बताए ।

 

नेकपा एमालेका श्रम तथा रोजगार समितिका सचिव रहेका नेता आचार्यले जिल्ला आउँदा शिक्षा र खेलकुदका क्षेत्रमा विभिन्न सामाग्री प्रदान गर्ने गरेका छन् । यसअघि उनले भगवती माध्यामिक विद्यालय कुदुमा शैक्षिक सामाग्री तथा सदरमुकाममा रहेको खेलकुद क्लबवाई फूटबल प्रदान गरेका थिए ।
विदेशमा रहेका आफ्ना साथीहरुले उपलब्ध गराएको तथा आफ्नो व्यक्तिगत खर्चबाट उक्त सामाग्री प्रदान गरिएको आचार्यले बताए । जिल्लाको शैक्षिक र खेलकुद क्षेत्रको विकासका लागि आफू गम्भिर लागिरहेको नेता आचार्यको भनाई छ ।

Leave a comment

Your email address will not be published.


*