20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

सिटामोल सम्म नपाइने जाजरकोटको स्वास्थ्य सेवा

कार्यलय सहयोगीका भरमा स्वास्थ्य संस्थाहरू

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, पुस १९, २०७३     11:37:14 AM  | 834 पटक पढिएको   |  

जाजरकोटः पत्यार नलाग्न सक्छ– सिटामोल समेत छैन जाजरकोटका अस्पतालमा । स्वास्थ्य चौकीको त कुरै छाडौं, जिल्ला अस्पतालले समेत उपचार गर्न सक्दैन ज्वरोका बिरामीको समेत । र, सामान्य चोटपटकका बिरामी समेत ‘रिफर’ गरिन्छन्– सुर्खेत र नेपालगन्जका अस्पतालहरूमा ।

वर्षैपिच्छे महामारी र प्रकोपले आक्रान्त भइरहने जाजरकोटमा न औषधि छ, न त पूर्वाधार र जनशक्ति नै । जिल्ला अस्पताललगायत ३ दर्जन स्वास्थ्य संस्थाहरू ‘नाम मात्रका’ छन् ।
१५ शय्याको जिल्ला अस्पताललाई सरकारले एक वर्षअघि ५० शय्यामा विस्तार गरे पनि उपचार प्रणाली स्वास्थ्य चौकीको जति पनि छैन । सामान्य रोगकै बिरामी दिनहुँ ‘रिफर’ गरिन्छन् । ज्वरो, निमोनियाँ, फ्याक्चर, सुत्केरी, दमलगायत सामान्य स्वास्थ्य समस्याकै उपचार हुन सक्दैन । ‘सानो चोटपटकमा पनि नेपालगन्ज धाउनुपर्ने अवस्था छ,’ स्थानीय लीलाबहादुर शाहले भने, ‘बिरामी अस्पताल पुग्न पाएको हुँदैन, रिफरकै कुरा हुन्छ । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर धाउनुपर्ने भएकाले जाजरकोटवासीको उपचार निकै महँगो बनेको छ । ५० शय्याको जिल्ला अस्पतालमा सुत्केरी गराउने उपायसमेत नहुनु लाजमर्दो छ ।’

तस्बिरः भीमबहादुर सिंह/कान्तिपुर दैनिक

स्वास्थ्य सेवा विभागले ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र ४६ सहायकस्तरका सहित ५९ स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्था गरे पनि अहिलेसम्म आइपुगेका छैनन् । ‘न अस्पतालमा चिकित्सक छन्, न त भौतिक पूर्वाधार, उपकरण र औषधि नै,’ शाहले गुनासो गरे । अस्पतालको स्तर वृद्धि गरी ५ मेडिकल अधिकृत, स्टाफ नर्स ३, अनमी १, कार्यालय सहयोगीलगायत १७ जनाबाहेक थप पदपूर्ति हुन नसकेको डा. चाँदनी जैसवालले बताइन् । ‘सामान्य उपचार गर्न पनि कठिन छ,’ उनले भनिन् । आईपीडी, ओपीडी, ब्लड बैंक र सुत्केरी सेवाजस्ता अत्यावश्यक उपचारका लागि भवन र कोठा छैनन् । ब्लड बैंकका लागि उपकरण आएको १० महिना बिते पनि सञ्चालन गर्ने ठाउँ छैन । बिरामी सुताउने बेड त्यत्तिकै थन्क्याइएको छ । ३० वर्ष पुरानो जीर्ण भौतिक संरचना र उपकरण लथालिंग अवस्थामा छन् । ६ महिनायता अस्पताल प्रमुखसमेत तोकिएका छैनन् ।

जिल्लाका ३ दर्जन स्वास्थ्य संस्थामा गरी १ सय ५० स्वास्थ्यकर्मीको अभाव छ । दरबन्दीमा आएकाहरू पनि सरुवा गरी सुविधासम्पन्न क्षेत्रतर्फ जाने गरेकाले जाजरकोटमा स्वास्थ्यकर्मीको अभाव बढेको हो । दर्जनभन्दा बढी स्वास्थ्य संस्थाहरू कार्यालय सहयोगीकै भरमा चल्दै आएका छन् । विगतमा झाडापखाला र स्वाइन फ्लुको महामारीबाट बढी आक्रान्त पैंक, ढिमे, पजारू, नायकबाडा, रग्दा, सीमा, टालेगाउँलगायत गाविसका बासिन्दा सामान्य रोगकै उपचारबाट वञ्चित छन् । स्वास्थ्य संस्थामा वर्षैभरि औषधि अभाव हुने गरेको छ । सरकारले नि:शुल्क उपलब्ध गराउने भनेका औषधि जिल्ला अस्पतालमा समेत बिरामीले पाउँदैनन् ।

निजी मेडिकल खोज्दै धाउनुपर्ने बाध्यता छ । यतिखेर यहाँका स्वास्थ्य संस्थाहरूमा सिटामोल र टाँका लगाउने धागो तथा सियोसमेत पाउन छाडिएको स्थानीय कर्ण खत्रीले बताए । स्वास्थ्य संस्थामा कोर्टिन, एमोक्सिलिन, आई ड्रप, एन्टासिड, बुस्कोपान, र्‍यानिटिडिन, भिटामिन बी कम्प्लेक्स, फेनारामाइन, म्याग्लेट, जिन्क ट्याब्लेट, पारासिटामोल, डाइजिन, विभिन्न सलाइन, सिप्रो तथा आँखा, लुतो लगायतका ६० थरी औषधिको अभाव छ ।

नि:शुल्क वितरण गरिने ७० थरीमध्ये १० थरी औषधि पनि पाउन मुस्किल छ । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भने पनि अहिलेसम्म ३० प्रकारभन्दा बढी औषधि उपलब्ध गराउन नसकेको स्टोरकिपर लमबहादुर खडकाले बताए । औषधि खरिदका लागि आउने वार्षिक बजेट नै कम रहेको तर्क उनले गरे । ‘२ लाख जनतालाई वार्षिक ५० लाखभन्दा कमको औषधि खरिद हुन्छ, अनि कसरी पुग्छ ?’ खडकाले भने ।

महामारी फैलिने सम्भावित क्षेत्रमा तत्काल औषधि पुर्‍याउन सजिलो हुने उद्देश्यले स्थापित केन्द्रमा औषधि बफर स्टक शून्य छ । सदरमुकाम खलंगा, सुवानाउली, ढिमे, भुर, दल्लीलगायत स्थानमै यस्तो हविगत छ । औषधि स्टक हुने अवस्था नरहेको स्वास्थ्यकर्मी कृष्ण खत्रीले बताए । ‘चैत वैशाखदेखि महामारीको सम्भावना बढ्ने भएकाले स्टक गर्न ढिलाइ भइसकेको छ,’ उनले भने ।

साभारः इकान्तिपुर

Leave a comment

Your email address will not be published.


*