21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

रकम संकलन गरी स्थानीयले गरे सडकको स्तरोन्नति

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस ११, २०७३     2:38:40 PM  | 122 पटक पढिएको   |  

दाङ: स्थानीयवासीले रकम सङ्कलन गरेर पश्चिम दाङको बाघमारेको हारीचौर हुँदै सल्यान जोड्ने सडकखण्ड स्तरोन्नति गरेका छन् ।

स्थानीयको रकमबाट गरुलेनीदेखि बसेनी जोड्ने सडकको स्तरोन्नति भएको छ । १० घर परिवारबाट प्रतिघर परिवार २४ हजारका दरले रकम सङ्कलन गरी दुर्इ किलोमिटर बाटो निर्माण गरिएको स्थानीय अगुवा मानबहादुर केसीले बताए ।

मूल सडकदेखि केही टाढा रहेको बसेनी गाउँका स्थानीयले गाविस, सङ्घसंस्था तथा विभिन्न राजनीतिक दलसँग पटकपटक हारगुहार गर्दै आएको भए पनि कसैले नसुनेपछि स्थानीयले प्रतिघरधुरी रकम सङ्कलन गरेर उक्त सडकखण्डको स्तरोन्नति गरेका हुन् ।

यहाँ एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने बाटो नहुँदा सुत्केरी व्यथा लाग्दा र स्थानीय बिरामी पर्दा डोकोमा बोकेर घन्टौँ हिँडेर बजार पुर्याउनुपर्ने असहज परिस्थिति थियो, तर बाटो बनेपछि त्यो दुःख समाप्त हुने अपेक्षा गरिएको छ । सडकको स्तरोन्नतिसँगै स्थानीय उत्पादन बजार पुर्याउन सहज हुने छ ।

उक्त सडकखण्ड आसपासको क्षेत्रमा टिमुर, अदुवा, कागती, आलु र बेमौसमी तरकारी राम्रो उत्पादन हुँदै आएको भए पनि त्यसले बजार पाउन नसकेको स्थानीय उदीराम बलीले बताए ।

सडकको स्तरोन्नतिसँगै बाघमारे गाविसको बसेनी, गजुरे, गहुँखोरे तथा छिमेकी गाविस शान्तिनगरका तोरीखुती, एकराते, वैजारखुटीलगायतका गाउँ यो सडकबाट लाभान्वित हुने छन् ।

Leave a comment

Your email address will not be published.


*