18 October 2017|   बुधबार, कार्तिक १, २०७४

बूढीगण्डकी आयोजनाको आधा पानी खेर जाने

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     1:18:43 AM  | 81 पटक पढिएको   |  

काठमाडाै मंसीर २३

बूढीगण्डकी जलाशययुक्त आयोजनाको कुल जलभण्डारमा आधा पानी उपयोग गर्नै नमिल्ने (डेड स्टोरेज) गरी डिजाइन गरेको फेला परेको छ । बाँध बाँधेर नियन्त्रण गरिने पानीलाई सुख्खायाममा अमृत समान मानिए पनि बूढीगण्डकीको परामर्शदाता ट्र्याकवेलले आधा पानी सिँचाइ तथा बिजुली उत्पादनमा उपयोग गर्न नसकिने गरी डिजाइन गरेको हो ।

बूढीगण्डकीको कुल ४५ किलोमिटर लामो जलभण्डारमा चार अर्ब ४० करोड क्युबिक मिटर पानी जम्मा हुन्छ । कुल आयतनमध्ये दुई अर्ब २० करोड क्युबिक मिटर पानीमात्र उपयोग गर्न मिल्ने गरी डिजाइन गरेर बूढीगण्डकी जलविद्यत् आयोजना विकास समितिलाई परामर्शदाता ट्र्याकवेलले एक वर्षअघि बुझाएको हो । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

भारतले सुरु गरेको नदी जोड योजनालाई सघाउ पुग्ने गरी बूढीगण्डकीको पानीलाई उपयोगहीन बनाइएको तर्क जलस्रोत क्षेत्रका ज्ञाताहरूले गरेका छन् । यस्ताखाले जलभण्डारमा सामान्यतया १० प्रतिशत पानी मात्र डेड स्टोरेज राख्ने विश्वव्यापी चलन छ ।

परामर्शदाता ट्र्याकवेलले बुझाएको डिजाइन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माथि टिप्पणी गरी उपयुक्त रायसुझाव पेस गर्न समितिले पूर्वजलस्रोतमन्त्री तथा जलस्रोतविद् दीपक ज्ञवालीको नेतृत्वमा विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक दीपकप्रसाद उपाध्याय र विद्युत् विकास विभागका पूर्वउपमहानिर्देशक दामोदर भट्टराईसहितको टोलीलाई जिम्मा दिएको थियो ।

टोलीले गत फागुन २ मा समितिलाई आफ्नो सुझावसहितको प्रतिवेदन बुझाएको थियो । टोलीमा पूर्वजलस्रोत सचिव डा. द्वारिकानाथ ढुंगेल र पूर्व ऊर्जासचिव शीतलबाबु रेग्मी पनि सहभागी थिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका ज्ञवालीले नेपाललाई आर्थिक र प्राविधिक रूपले ठूलो नोक्सानी हुने गरी डिजाइन गरिएको र उक्त डिजाइन सच्याउनुपर्ने बताए ।

‘जनतालाई उठिबास लगाएर जम्मा गरिएको पानी आधामात्र उपयोग हुने गरी डिजाइन आउनु सरासर गलत नियत देखिन्छ’, ज्ञवालीले बुधबार अन्नपूर्णसित भने, ‘यो पानी पूर्ण उपयोग हुने गरी डिजाइन गरेको भए चितवन र नवलपरासीका एक लाख हेक्टरमा सिँचाइ पुग्ने र सप्तगण्डकीमा आठ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने थियो ।’

ज्ञवालीका अनुसार सन् १९८२ मा बूढीगण्डकी अध्ययन गरिँदा (त्यतिबेला ६ सय मेगावाट, हाल १२ सय मेगावाट) नारायणी नदीमा पानी थप हुन पुगी सप्तगण्डकी बहुउद्देश्यीय आयोजना (२२५ मेगावाट) को विद्युत् उत्पादन क्षमता आठ सय मेगावाट पुग्ने उल्लेख गरिएको थियो । ‘सप्तगण्डकी, विद्युत् र सिँचाइ तीनवटै मुख्य जलस्रोतलाई पूरै बेवास्ता गरिएको रहेछ’, ज्ञवालीले भने ।

जलभण्डारमा सञ्चित नियन्त्रित पानीको अधिकतम उपयोग गर्न कुलेखानीको अनुभवबाट पाठ सिक्दै स्लोपिङ इनटेक डिजाइन (बाँधको पिँधमा पानी निकास हुने) गर्न टोलीको प्रतिवेदनले सुझाएको छ ।

परामर्शदाता ट्र्याकवेलले बूढीगण्डकीबाट विद्युत् उत्पादन हुँदाका बखत आउने बाढीसरहको पानीलाई नियन्त्रण गर्ने संरचना (रि–रेगुलेटिङ ड्याम) को परिकल्पना गरेको छैन ।

Leave a comment

Your email address will not be published.


*