20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

वडा नम्बर ४

कथा

        –क्षितिज समर्पण   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     11:44:07 AM  | 658 पटक पढिएको   |  

पत्रिकाको अफिसमा थिएँ । प्रमुख जिल्ला अधिकारीसँग फोनमा कुरा भईरहेको थियो । पछिल्लो समय जिल्लामा बढ्दै गरेको अपराध, स्थानीय प्रशासनले अपराध न्यूनिकरणका लागि गरिरहेको पहल र अस्ति मात्र पसल चोरीको अभियोगमा पक्राउ परेका तीन बालकको विषयमा कुरा गर्दै थिएँ । हिजो मात्र जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मलेन गरि ती बालकहरुलाई सार्वजनिक गरेको थियो ।
खैरो र रातो कपाल, कानमा मुद्रा, घाँटीमा ब्लेड आकारको स्टिल देखिने माला थियो सबैको । तीमध्ये अलि ठूलोवालाको हातमा बाला पनि थियो । रोचक कुरा त के भने, ती तीनै जनाले बाँया हातमा एकै स्थानमा एकै प्रकारको टाटु खोपेका थिए । सायद त्यसको संकेत हुँदो हो हम ये दोस्ती नहीं तोडुंगे…..
मलाई अपराध, यौन र भ्रष्टाचारका विषयमा समाचार लेख्न खूब मजा लाग्छ । बजारमा धेरै बिक्ने विषय भनेकै यीनै त हुन् । यी विषयमा लेख्दा धेरैचोटी धेरै प्रकारका प्रतिक्रिया सहनु परेको छ । अब त बानी नै परिसक्यो भन्दा हुन्छ । खासगरि भ्रष्टाचारका विषयमा लेख्दा धम्की धेरै आउँथे । उसो त मैले माथि उल्लेख गरेका विषयमध्ये कम समाचार लेख्ने गरेको विषय भ्रष्टाचारको नै हो । लेख्न चाहेर पनि त्यो पुरा हुँदैन । किनकी, त्यो विषयमा मसँग सूचनाको स्रोत सीमित छ । कार्यालयका अधिकांशः कर्मचारी यो काण्डमा मुछिएका हुन्छन् ।

आफूलाई भाग पुगेन भने मात्र न सूचना दिने हुन् ! कोही कोही मात्र हुन सत्य हरिशचन्द्र !

सूचनालाई भेरिफाई गर्ने डकुमेन्ट जुटाउनै समय लाग्छ । आफूले पत्रकारिता सिक्दै गर्दा सिकेका अनेक उपायबाट बल्ल एउटा सग्लो समाचार बन्छ । भोलीपल्टबाट फेरि अनेक किसिमका फोन आउँछन् । कोही लोभ देखाउने, कोही धम्कीको भाषा प्रयोग गर्ने । यो दुनियाँ नै यस्तो छ । कसैले आफ्नो प्रशंसा गर्यो भने उसलाई दुनियाँको महान मान्छे ठान्ने तर, कसैले आफ्ना कमजोरीका विषयमा खोतल्यो भने उसको सत्तोसराप गर्ने । बडो अजिवको छ यार दुनियाँ पनि ।
–‘दाई ! तपाईलाई भेट्न एक जना बहिनी आएकी छन् ।’
अफिसमा काम गर्ने प्रभा बहिनीले मेरो सम्वाद छोट्याउन संकेत दिई । मैले सिडिओसँगको कुराकानीलाई टुंग्याएँ ।
–‘भित्र पठाईदेउ’, प्रभालाई भनें ।
अस्ति एकजना सहाराविहिन किशोरीका विषयमा समाचार लेखेको थिएँ । सोंचे, तिनै बहिनी मलाई धन्यवाद दिन आएकी होलिन् । किनकी, त्यो समाचारले राम्रै प्रभाव पारेको थियो । उनलाई सहयोग गर्ने मान्छेहरु भेटिन थालेका थिए । त्यो विषयमा पनि मैले अर्काे दिन फ्लोअप समाचार दिएको थिएँ । देशविदेशबाट सहयोग प्राप्त भईरहेको थियो । यो पत्रकारिताको यात्रामा यस्ता धेरै पात्रहरु भेटिएका छन् । जसको बारेमा धेरै कुरा लेखियो । धेरैको जीवनमा सकारात्मक असर परेको छ। त्यतिबेला आफैलाई धन्यवाद दिन मन लाग्छ । जीवनमा पत्रकारिता अंगालेकोमा गर्व लाग्छ । जीवनमा पुण्यको काम गरिएछ भन्ने लाग्छ ।
‘ऊः त्यहाँ बस ।’ प्रभाले भित्र ल्याएकी बहिनी र प्रभालाई छेउको सोफासेट देखाउँदै भने । फु∙ उडेको, गोलो अनुहार–रस निचोरेको सुन्तला जस्तो । औसत नाक, निला आँखा । कपाल भने खासै मिलाईएको थिएन । उचाई यस्तै चार फिट नौ ईन्च जति हुँदो हो । गहुँगोरो वर्ण । हाँस्दा दायाँ गालामा खोपिल्टो पर्दोरहेछ ।
काश ! मलाई डिम्पल पर्ने मान्छे खूब राम्रो लाग्छ !
मेरो अगाडी बसेकी किशोरी मैले अस्ति समाचार लेखेकी सहाराविहिन बालिका भने थिइन ।
–‘बहिनीको नाम के हो ?’
–‘शोभा ।’
–‘अनि, घर?’
–‘यहीं चार नम्बर हो ।’
–‘उमेर ?’
–‘१६ वर्ष ।’

मैले फेरि एकपटक उसको शिरदेखि पाउसम्म हरें । १६ वर्षको जस्तो लाग्दै लाग्दिनथि । एकदमै दुब्लो र पातलो शरीर । दुब्लो शरीरमा उमेर बताउने उसको छाती पनि खासै सून्दर देखिदैनथ्यो । शरीर आवश्यकताभन्दा दुब्लो र शरीरभन्दा छाती ठूलो हुँदा त्यसले दिने सून्दरता पनि फिक्का लाग्दो रहेछ । छातीको माथिपट्टि हड्डीहरु निकै अग्ला देखिन्थे । पुलिस शैलीको मेरो प्रश्न सोधाईले सायद अलि झिंजो मानेकी हुँदि हो । घरि यता घरि उता हेरिरहन्थी ।
‘अनि, के कति कामले आयौ यहाँसम्म ?’ फेरि प्रश्नउत्तर श्रृंखला शुरु भो ।
‘खै काम भन्ने कि के भन्ने । तपाईले अस्ति पत्रिकामा छापेको समाचार पढें । तपाईलाई भेट्न मन लाग्यो, अनि आएको ।’
‘ए, भनेपछि तिमीलाई पनि त्यो मान्छेलाई सहयोग गर्न मन लाग्यो, हो ?’
‘होइन, म पनि मेरो कुरा सुनाउन आएको ।’ थोरै हाँसी अलि लजालु भएर । गालामा डिम्पल प¥यो । हाँसेको चाँही राम्रो देखिदो रहेछ ।
‘मेरो कुराले पनि तपाईको पत्रिकामा स्थान पाउँछ कि भनेर आएको ।’ अलि गम्भिर देखिई शोभा ।
‘भनन, के कुरा हो । समाचार बनाउन लायक रहेछ भने बनाउँला ।’
‘म सबै कुरा लेखेर दिन्छु । अहिले यहाँ सबै भन्न सक्दिन । बरु भन्नुस कहिले ल्याईदिउँ ?’
‘तिमीलाई जहिले फुर्सद हुन्छ ल्याईदेउ न’, मैले भने, ‘म हेरेर बिचार गरौंला ।’
’हस हुन्छ, नमस्कार सर !’
ऊ निस्केर गई । निकै बेरसम्म बिमार र चिन्ताले खाएको जस्तो देखिने उसको हुलिया याद आईरह्यो । याद आईरह्यो उसको मीठो हाँसो । अनि, गालाको डिम्पल र निला आँखा ।

उसले सुनाउन खोजेको कुरा के होला ? कहिले ल्याउँछे उसले त्यो कुरा ? मनमा कौतुहल भईरह्यो । भन्न नसक्ने तर, लेखेर ल्याउन सक्ने के होला त्यस्तो कुरा ? छट्पटी बढ्नु स्वभाविकै थियो, बढ्यो ।
हुन त, कतिपय अवस्थामा मान्छे मुखले व्यक्त गर्न नसकेका भावनाहरु, मनका कुराहरु लेख्न सक्छ । अभिव्यक्तिको सशक्त माध्यम भनेको लेखन पनि रहेछ क्यारे ।

….
रिपोर्टिङ सकेर बेलुका अफिस आउँदा टेबुलमा एउटा बन्द खाम थियो । खाममा पत्रबाहकको नाम थिएन । पत्र पाउनेको नाम लेख्नेपट्टी मेरो पत्रिकाको नाम लेखिएको थियो । खाम अलि मोटो नै देखिएको थियो ।
खोलेर हेरें । पत्र शोभाको रहेछ । मेरो प्रतिक्षाको एउटा घडी सकियो । कतिखेर उसले आफ्नो कुरा लेखेर ल्याउँछे भनेर म प्रतिक्षामा थिएँ । निकै लामो लेखेकी थिई ।

भोली बिहान बजारमा जाने पत्रिकाका लागि लगभग सबै समाचार भईसकेका थिए । मुख्य समाचार र एङकर समाचार अघि नै तयार भईसकेको थियो । साना टुक्राटाक्रि समाचार र सम्पादकीय लेख्न बाँकी थियो ।
शोभाको पत्र पढ्न छोडेर पत्रिकाको काममा लागे ।

हतार हतार समाचार र सम्पादकीय तयार पारेर पत्रिका सेटिङ गर्ने भाईलाई दिएँ । मलाई एकातिर शोभाको पत्र पढ्न हतार थियो भने अर्काेतिर पत्रिकाको काम समयमै सक्नुपर्ने चाप थियो । आज लोडसेडिङ आठ बजेबाट हुनेवाला थियो । त्यसैले पनि पत्रिकाको सेटिङ समयमै सकेर प्रेस पठाउनु थियो ।

सायद, साविकका दिनमा भन्दा आज अलि बढी नै हतारमा हुँदो हुँ म ।
‘सर, आज निकै हतारमा जस्तो देखिनुहुन्छ नि !’ अपरेटर भाईले मतिर नहेरेरै भने ।
‘हो, भाई आज अलि त्यस्तै छ।’ मैले पनि उतिर नहेरेरै भने ।

पत्रिकाको प्रुफ हेर्ने काम सकियो । प्लेट निकालेर दुईभाईले सर्र हे¥यौं । खासै गल्ती देखिएन । कतिपय अवस्थामा प्रुफ हेर्दा नदेखिएको गल्ती प्लेट निकाल्दा देखिन्छ । प्लेटमा नदेखिएको गल्ती भोलीपल्ट एकैपटक पत्रिकामा देखिन्छ । एकदिन त हतार हतारमा समाचारको हेडलाइनमा नै गल्ती भएको रहेछ । पत्रिकाका हात परेपछि थाहा भो ।
आज पनि हतार छ । हतारमै हेरियो । तर, त्यस्तो गल्ती केही देखिएको छैन ।
‘अस्तीको जस्तो भ’को छैन नि भाई’, अपरेटर भाईलाई सोधे ।
पहिलो पृष्ठबाट अन्तिम पृष्ठसम्मका हेडलाइन फेरि एकपटक हरेर भाईले भने, ‘छैन सर, अब प्रेसमा पठाईदिदा हुन्छ ।’
बल्ल आजको काम सकियो । यो चार पृष्ठको पत्रिका निकाल्न पनि कम्ती सास्ती छैन ।
पीडा छ हजुर पीडा !

…..
कोठामा आउने वित्तिकै शोभाको पत्र खोलें ।
वास्तवमा मान्छे जीवनमा अनेक कथाहरु बोकेर बाँचेको हुँदो रहेछ । हरेकका जीवनमा आ–आफ्नै कथा हुँदारहेछन् । मान्छे स्वय्म एउटा कथाको घर रहेछ । फरक यत्ति हो कतिले व्यक्त गर्छन, कतिले गर्दैनन् । कतिले समयमै व्यक्त गर्छन, कतिले समय घर्केपछि । लाग्छ, हरेक आ–आफ्नै कथा हुन्छन् जिन्दगीका ।

सायद शोभाले आफ्नो कथा समयमै व्यक्त गर्न चाहेकी हुँदी हो । यस्तै लाग्छ उसको यो पत्र हेर्दाः
सर, नमस्कार ! कृृपया झर्काे नमानी मैले लेखेका सबै कुरा पढिदिनुहोला । विश्वास छ तपाईले मेरो अनुरोध स्वीकार्नुहुनेछ ।
मैले तपाईको अफिस आउँदा मेरो कुराले पनि तपाईको पत्रिकामा स्थान पाउँछ कि भनेर आएकी थिएँ । तर, अहिले आएर के लाग्छ भने मेरो कुराले त्यहाँ स्थान पाउनै पर्छ भन्ने लाग्दैन । उपयुक्त लागे जरुर स्थान दिनुहुनेछ भन्ने विश्वास भने छ ।
म एउटा निम्न वर्गिय परिवारमा जन्मेकी हुँ । घरको जेठी तथा एक मात्र छोरी हुँ । मभन्दा पछाडी एउटा भाई छ–मेरी आमाबाट ।
अहिले मेरा बाआमा दुवै खाडी छन् । आमा आफ्नो तवरले, बा आफ्नो तवरले । बाले कान्छी विहे गरेको सात वर्ष भयो । घरमा मेरी आमा हुँदाहुँदै बाले किन कान्छी ल्याए मैले अहिलेसम्म थाहा पाउन सकेकी छैन । परिवार राम्रैसँग चलेको थ्यो जस्तो लाग्छ । अधिकांश पुरुषले कान्छी ल्याउने भनेको घरकीबाट छोरो नजन्मिएपछि हो भन्ने सुनेकी छु । तर, मेरी आमाले त्यो पनि पुरा गरिदिएकी थिइन । थाहा छैन बाले किन कान्छी ल्याए ?
बाले कान्छी ल्याएको चार वर्षपछि आमाले पनि अर्को बिहे गरिन् । त्यसपछि हामीसँग न आमा रहिन्, न बा । बाआमा भएर पनि हामी बाआमा विहिन भयौं । बाले वास्ता गर्न छोडेको त उहिल्यै हो । अर्काे बिहे गरेर गएपछि आमाले पनि कम वास्ता गर्न थालिन् । अन्ततः आमा पनि विदेश गईन–हामीलाई छोडेर ।
जब, आमा पनि विदेश गईन, समाजले अनेक किसिमका कुरा काट्न थाल्यो । भर्खर १० कक्षा पढ्दै गरेकी म, ती कुराले पढाईमा पटक्कै ध्यान जान छोड्यो । टोलाएर बस्न थालें । मानसिक रुपमा विक्षिप्त हुँदै जान थालें । साथीहरु पनि जिस्काउँथे । यसको आमाले विदेशमा यस्तो गर्छे रे, उस्तो गर्छे रे भनेर सुनाउन थाले । अरु सबै कुरा सुन्न र सहन सक्थें तर, आमाले विदेशमा गएर अरुसँग रात बिताएको भन्ने कुरा म सुन्नै सक्दिनथे । त्यो मेरो कल्पनाबाहिरको कुरा थ्यो । यसले मलाई निकै पीडा दिन्थ्यो । समाजले मलाई सबैभन्दा बढी सुनाउने कुरा नै त्यही थियो । आफ्नै आँखाले देखेको होला झैं गरि सुनाउँथे । दिन दुई गुणा रात चौगुणा गर्दै यो कुरा गाउँघरतिर फैलिन थाल्यो । हल्लाको कालो धुवाँले गाउँ ढाक्न थाल्यो ।
यसको वास्तविकता के हो आमालाई नै थाहा होला । के कुनै दिन यसको जवाफ आमाले देलिन?
शोभाको प्रश्नले म झस्किएँ । वास्तवमा कता जाँदैछ हाम्रो समाज ? किन, तथ्य बुझ्न खोज्दैन ? किन अफवाहको पछि लाग्छ ? यदि, सत्य नै भएपनि मान्छे किन मान्छेको बाध्यतालाई बुझ्ने कोशिस गर्दैन ? मेरा मनमा पनि अनेक किसिमका प्रश्नहरु उब्जिन थाले । हामी कस्तो किसिमको सामाजिक सद्भाव कायम गर्न खोज्दैछौं कुन्नी ?

पछिल्लो सयम वैदेशिक रोजगारले सम्बन्धमा ल्याएको दरार, परिवार र समाजका बीचमा खनिएको खाडल, परिवारमा निम्त्याएको विग्रह यी सबै कुरासँग म अभ्यस्त भईसकेको छु । दिनहुँ यस्ता कुरा देख्दै र लेख्दै आएको छु ।

रेमिट्यान्सले किन्न खोजेको खुशी रेमिट्यान्स जस्तै म्यादी बन्ने गरेको छ । वैदेशिक रोजगारलाई न व्यवस्थित गर्न सकिएको छ, न तिनका परिवारमा आउने दरारका विषयमा विचार गरिएको छ । रेमिट्यान्सले देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगटिरहेको छ तर, राज्यले वैदेशिक रोजगारमा हुनेहरुका परिवारका लागि केही सोच्न सकेको छैन ।
वैदेशिक रोजगार भयावह कहर बनिरहेको छ । वैदेशिक रोजगारले किन पारिवारिक जीवन ध्वस्त भईरहेको छ ? किन मान्छेका भावनाहरुको हत्या भईरहेको छ ? अब, यस्तो लाग्छ वैदेशिक रोजगारमा जाने मान्छे र तिनको परिवारलाई मनोवैज्ञानिक परामर्श दिन अत्यन्तै जरुरी भईसकेको छ । नत्र यो कहर झनै बढ्नेछ ।
म फुपुको घरमा बसेर पढिरहेकी छु । बाआमा जीतिवै हुँदापनि टुहुरी जस्तै बनेकि छु । मेरा बाआमा अव प्राविधिक रुपमा मात्र मेरा थिए । मेरो जन्मदर्ताको कागजमा मात्र सीमित थिए उनीहरु । भनिन्छ, हरेक बाउआमाले जे गर्छन, आफ्ना सन्तानको खुशीका लागि गर्छन । थाहा छैन मेरा बाआमाले कसको कस्तो खुशीका लागि यो सब गरेका हुन् । यदि, हामी सन्तान (भाई र म) को खुशीका लागि हो भने यो शतप्रतिशत गलत हो । यसरी पनि कहीं सन्तानलाई खुशी मिल्छ ? छँदाखाँदाको खुशी बेचेर कस्तो खुशी किन्ने ? यो कस्तो खुशी ?
भोली मेरो जीवनमा यो प्रश्न जरुर कतै न कतैबाट आउनेवाला छ । फलानोको बाआमा यस्ता÷उस्ता भनेर यो समाजले जरुर कुरा काट्नेछ । म कसैको पत्नी, बुहारी, भाउजु, काकी बनेर जहाँ जानेछु यी प्रश्नहरुको भारी पनि मसँगै जानेछन् । थाहा छ, यसले मेरो पुरै जिन्दगीलाई असर गर्नेछ ।
मैले यसरी जिन्दगी बाँच्नुको कुनै अर्थ देखेकी छैन सर । सहाराविहिन भएर कसरी बाँच्ने ? समाजमा अपहेलित भएर कसरी बाँच्ने ? जतिबेला मलाई बाको अभिभावकत्व आवश्यक थियो, जतिबेला मलाई आमाको न्यानो काखको जरुरत थियो त्यतिबेला यी दुवै पात्र पराई भए । बाआमाको आफ्नो समस्याले हामी छोराछोरीको जिन्दगीमा पूरै प्रभाव पारिरहेको छ । तर, उनीहरुलाई यसको कुनै प्रवाह छैन । तपाई आफै भन्नुस त सर, म अब किन बाँच्ने ? कसका लागि बाँच्ने ? के भनेर बाँच्ने ?

हैट ! कति निराशावादी कुरा गरेको ?
शोभाको पत्र पढ्दै गर्दा ऊ स्वयम् अगाडी भएझैं मुखबाट फुत्किहाल्यो । लाग्छ, ऊ मसँग सम्वाद गर्दैथिई ।

उसको पुरै पत्र पढे । उसले भनेका सबै कुरा यथार्त हो कि होईन भन्ने दोधारमा परियो । निकै गम्भीर भएँ त्यो पत्रले । मलाई विगतमा नेपालमा हुने गरेका धेरै घटनाको याद आयो । मान्छे चर्चामा आउनलाई अनेक प्रोपोगाण्डा गर्छन । गलत कुरालाई पनि सत्य होला झैं गरि प्रस्तुती दिन्छन् । पत्रकारितामा वर्षाैं बिताएका मान्छेहरुपनि चिप्लेका थुप्रै उदाहरण छन् ।
तर, शोभाले लेखेका कुरा, अस्ति भेटमा देखिएको उसको हाउभाउ र अनुहारले उसले प्रोपोगाण्डाकै लागि यस्तो गरिहोला भनेर मनले विश्वास गर्न सकेको छैन । अब मलाई अर्काे चुनौती थपियो । उसले भनेका कुराहरु ‘भेरिफाई’ कसरी गर्ने होला भन्नेतर्फ सोच्न थालें । र, ऊ फेरि कहिले सम्पर्कमा आउँछे ?
तीन दिन उसको प्रतिक्षामा बसें । ऊ फर्केर आइन । उसले ठेगाना बताएको ठाउँमा गएँ । छिमेकमा सोधियो, उसले भनेको कुरा सत्य नै रहेछ । तर, ऊ हराईसकेकी थिई । सत्य बताएर कता भागी ऊ ? किन भागी ऊ ? कि पत्रिकामा आफ्नो बारेमा कुरा आउँछ भनेर उसले कतै गलत कदम त चालिन ? मनमा अनेक किसिमका तर्कहरु आउन थाले । आखिर शोभा कता गई ?
कतै आत्…मा……!

ह्या ! मनले पनि के के सोच्छ सोच्छ । शोभाले त्यसो गर्न सक्दिन ।
म अघोषित रुपमा उसकै खोजीमा लागें । मनमनै कामना गर्न थालें –हे भगवान ! शोभाले केही गलत नगरेको होस् । ऊ जहाँ होस सुरक्षित होस ।

….
‘प्रेम जी कता हुनुहुन्छ ?’ प्रहरी निरीक्षक भट्टको फोन आयो ।
मैले आफू अफिसमा भएको जानकारी गराएँ । प्रहरी निरीक्षक भट्टले मलाई हस्पिटल आउन आग्रह गरे । बाइक स्टार्ट गरेर हस्पिटलतर्फ हानिएँं ।

फु∙ उडेको गोलो अनुहार–एकदम सापट । औसत नाक, निला आँखा–जो अहिले पनि खुल्लै छन् । असरल्ल कपाल–सानो रातो डोरीले बाँधिएको ।
हाँस्दा दायाँ गालामा पर्ने खोपिल्टो भने देखिएको थिएन । किनकी ऊ अब हाँस्न सक्ने अवस्थामा थिईन । न त, एकहोरो आकाशतिर हेरिरहेका उसका आँखा बन्द गर्न सक्ने अवस्थामा थिई । उसका गुलावी ओठ, निला भईसकेका थिए । तिनै ओठको बीचमा थोरै दाँत देखिएका थिए–न हाँसेजस्तो लाग्ने, न बोलेजस्तो लाग्ने ।

हस्पिटलको पोष्टमार्टम कक्षमा उनको शरीर सुतिरहेको थियो–कहिल्यै नब्युझिने गरि । उनी गहिरो निद्रामा थिईन ।
‘वडा नम्बर चार की एक किशोरीले आत्महत्या गरिछ ।’ हस्पिटलन पुग्ने वित्तिकै प्रहरी निरीक्षक भट्टले भनेका थिए । मलाई निकै आतुरी लाग्यो उसको अनुहार हेर्न । को हो ऊ ? मैले चिनेको मान्छे हो या होइन ? कतै ऊ शोभा त होइन ? मन आतकंतिक भईरहेको थियो ।

जब पोष्टमार्टम कक्षको दृश्य आफ्नै आँखाले हेरे, तब मन निकै भावुक बनेर आयो । हातखुट्टा लुला झैं लाग्न थाले । छेउको कुर्सीमा थचक्क बसें । अनुहारभरी चिटचिट पसिना आउन थाले । चारवटै भित्ता एकआपसमा ठोक्किन लागेझैं लाग्न थाल्यो । भाउन्न भएर आयो ।
आखिर जे नहोस भनेर कामना गरेको थिएँ, त्यही सत्य बनेर आफ्नै आँखा अगाडी थियो । जसको जीवन रक्षाको लागि केही गर्छु भन्ने सोचेको थिएँ, अब सबै व्यर्थ बनिगए । उसले अन्ततोगोत्वा आत्माहत्या गरिछ । अर्थात, शोभाले आत्माहत्या गरिछ ।
उसँगको पहिलो भेट आफ्नै अफिसमा भएको थियो । अन्तिम भेट हस्पिटलको पोष्टमार्टमा कक्षमा भयो । तर, यो भेटमा न उसले मलाई चिन्छे, न मसँग बोल्न सक्छे । उसँगको पहिलो भेट नै अन्तिम भेट बन्न पुग्यो ।
पोष्टमार्टमा कक्षबाट फर्किएदेखि म निकै दोधारमा छु– उसको पत्र सार्वजनिक गर्ने कि नगर्ने भनेर । उसले मेरो अफिसमा छोडेको पत्र फेरि दोहोर्याएर पढ्न मन लागेन । कुनै अमूल्य चिजजस्तो गरि जतनका साथ राखेको छु । कुनै दिन उसका बाआमालाई भेटेर त्यो पत्र फिर्ता गर्नु उपयुक्त होला ?

fmradio.kshitij@gmail.com

Leave a comment

Your email address will not be published.


*