22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

प्रचार प्रसार अभावले ओझेल परेको रुकुमको गढी

पर्यटकिय गन्तव्य

        शब्द/तस्बिरः सुरेन्द्र सुमन   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     5:22:54 AM  | 990 पटक पढिएको   |  

गुर्तालगाउ, रूकुमः गुर्तालगाउँमा पहिले पहिले रेडियो नेपाल बज्थ्यो । अहिलेको समयले स्थानीय एफएमहरु बजाउन थालेको छ । तिनै एफएमहरुका समाचार र संगीत सुन्दै गुर्तालगाउँको पश्चिमको डिलमा वर र पिपलको तन्नेरी जोडी वर्षौ देखि जाजरकोट खलंगा तर्फ फर्केर डेटिङ्गमा मस्त छ । त्यो बाटो भएर हिड्दै गर्दा यही वर पिपलको जोडीले उकालोमा हिडेको थकान मेटाई दिन्छ । र, पसिना पुछिदिन्छ । खासमा यही नै हो गुर्तालगाउँको मुल ढोका पनि । आँगन पनि ।

एेतिहासिक महत्व

वरपिपलको छेवैमा अजंगका लामा लामा कलात्मक ढुंगाहरु लस्करै उभिएका छन् । ती ढुंगाहरुलाई गौर गरेर हेर्ने हो भने ती ढुंगासँग कुनै महत्वपुर्ण ऐतिहासिक सम्बन्ध जोडिएको सहजै अनुमान गर्न सकिन्छ । ती कलात्मक ढुंगाका बारेमा स्थानीयहरुका आ–आफ्नै अनुमान छन् । सबैको फरक मत छ, यसबारे ।
कोही भन्छन– ‘जक्तिपुर राज्यका जक्तिसिहं महाराजले वाण हान्नका लागि निसाना राखेका हुन् ।’
कसैले यस्तो पनि अनुमान गर्छन्– ‘कोटजहारी राज्यमा पहिले भोटे राजाको शासन थियो । त्यो बेलाका भोटे राजाको दरबारको केही अवशेष हुन् ।’

जसले जे अनुमान गरे पनि ती कलात्मक ढुंगाको सम्बन्ध कुनै न कुनै राजाको ईतिहाससँग अवश्य जोडिएको छ । ती ढुंगामा कुदिएका घोडचढीहरुका कलात्मक चित्र अनि कुनै लिपी जस्ता लाग्ने अक्षरहरुले कुनै पुरानो ईतिहाससँग जोडिएको पुष्टि गर्छन् ।

विकासको गति

रुकुम जिल्लाको पश्चिमी किनार । हाल चौरजहारी नगरपालिकाको ११ नम्बर वडामा पर्ने गुर्तालागाउँ । जुन जाजरकोटको भेरीमालिका नगरपालिकासँग जोडिएको रुकुमको सुदुर बस्तीको रुपमा रहेको छ । भौगोलिक रुपमा गुर्तालगाउँ सुदुरमा अवस्थित भएपनि त्यति विकट भने छैन ।

सडक संजाल विस्तार हुने क्रममा छ । विद्युत्तका खम्बा र तारहरु जडान भैरहेका छन् । त्यहाँका वस्ती वस्तीमा सडकको पहुँच गुडिरहेको छ । गुर्तालगाउँ अहिले ‘हाई–टेक’ सपनाहरु देख्न सक्ने भएको छ । युवा पुस्ता थ्रीजी ईन्टरनेटको पहुँचमा पुगेको छ ।

 

दृष्यावलोकन

गुर्तालगाउँबाट देखिने रुकुमको प्रमुख व्यापारिक केन्द्र चौरजहारी उपत्यका र भेरी नदीको आकर्षक दृष्यले जोकोहीको मन अवश्य लोभ्याउँछन् । उसो त याम अनुसार बाक्लो हुस्सुले चौरजहारी उपत्यका कहिलेकाँही नदेखिन पनि सक्छ । तर, हुस्सु लागेको सौन्दर्य पनि कम हेर्न लायक भने हुदै हुन्न । धोएको सेताप्य कपास जस्तो बादल भित्र लुकेको चौरजहारी बजार र भेरी नदीको मधुरो दृष्यले जोकोहीलाई काल्पनिक संसारमा डुबाईदिन्छ ।


गुर्तालगाउँको बस्ती मकै छरे जस्तै छरपष्ट छ । तर, प्रत्येक घरका आँगन र बारीका डिलमा हरीया घाँसका रुख ठिगं उभिएका छन् । यो नै त्यो गाउँको आर्कषण हो । सडक विस्तारको कार्य चलिरहेको छ । गाउँलेहरु सडक निर्माणमा व्यस्त छन् । विकासको यो सपना गुर्तालवासीले धेरै पहिले देखि नै देखेका हुदा हुन् ।

पेसाका हिसाबले कृषि र कृषिमा पनि भैसीपालन यहाँका बासिन्दाको मुल पेसा हो । रुकुम, सल्यान र जाजरकोट सम्म निर्यात हुने यहाँको सिलेट ढुंगाको खानीले पनि स्थानीयलाई आर्थिक रुपमा सक्षम हुने धेरै हदसम्म मदत गरेको छ ।
गुर्तालगाउँको निधार र शीरको रुपमा रहेको गढी जंगलै जंगलले भरिएको छ । बाँझ, रयाँज, गुराँस, काफल, जुम्ली सल्ला जस्ता उच्च पहाडी भेगमा पाईने वनस्पति पर्याप्त मात्रामा रहेका छन् ।


करिब २८ सय मीटरको उचाईमा रहेको गढीबाट रुकुम, जाजरकोट, सल्यान, रोल्पा, जुम्ला, डोल्पा, बागलुगं जिल्लाका हिमाली तथा पहाडी दृष्यहरु अवलोकन गर्न सकिन्छ । जाजरकोटको कुशेमुसे, च्याखुरे, कराईचुली हिमाल रुकुमको सिस्ने हिम श्रृंखला त्यस्तै बागलुङ्गको धौलागिरी हिमाल, सल्यानको कुमाख लेक यहाँबाट आकर्षक रुपमा विचरण गर्न सकिन्छ ।

एेतिहासिक गढी

गढ अहिले भग्नावशेषको रुपमा रहेको छ । छ वटा कोणको रुपमा रहेको गढ कुनै न कुनै राजाको पालाको हुनुपर्छ भनेर स्थानीय वासी अनुमान लगाउँछन् । स्थानीय बृद्ध बृद्धालाई सोध्दा पनि गढको बारेमा एकिन तथ्य भने छैन ।
पृथ्वीनारायण शाहको पालामा नेपाल एकिकरण गर्दा उनका सेनाले लडाई लड्दा यो डाँडोलाई सुरक्षित ठानेर गढ बनाएको हुन सक्ने कतिपयको विश्वास छ । तर, कतिपय भने स्थानीय भोटे राजाले लडाई लड्नका लागि गढी निर्माण गरेको अनुमान लगाउँछन् । केही समय पहिले स्थानीयहरुले गढको भग्नावशेषबाट परानो रुपैया पैसा भेटेको पनि बताउँछन् ।

उचित प्रचार प्रसार भएको अवस्थामा गढी आन्तरिक पर्यटनका लागि महत्वपुर्ण गन्तव्यका रुपमा स्थापित हुन सक्नेमा विश्वास गर्न सकिन्छ । गुर्तालगाउँका कलात्मक ढुंगा र गढीको ऐतिहासिक पुष्टिका लागि राज्यले ध्यान दिन सकेको खण्डमा यहाँको आन्तरिक पर्यटनमा वृद्धि र विकासमा टेवा पुग्ने देखिन्छ ।
स्थानीयस्तरमा यहाँको प्रचार प्रसारका लागि केही प्रयासहरु पनि भएका छन् । गढीको पश्चिमी फेदीमा शिव मन्दिर निर्माणाधिन अवस्थामा रहेको छ । यो मन्दिर निर्माण भएपछि धार्मिक पर्यटनका लागि पनि यो तीर्थस्थलको रुपमा परिचित हुने संभावना देखिन्छ ।

गढको फेदिमा रहेको न्याउली बजारमा त्यहाँ जाने पर्यटकका लागि खोजेको अधिकासं खानेकुरा सहजै उपलब्ध छ । खानामा रोटी, दाल भात तरकारी अनि पेय पदार्थमा स्थानीय कोदोको गुणस्तरीय मदिारा उपलब्ध गराउन सकिने स्थानीय होटेल व्यवसायीहरु बताउँछन् ।

पैदल हिड्न चाहानेहरुका लागि ४ घन्टामा पुग्न सकिन्छ भने हिड्न अल्छी गर्ने तर घुम्न मन गर्नेहरुका लागि न्याउली बजार सम्म मोटरसाईकलमा बढीमा एक घन्टाको समयमा पुग्न सकिन्छ ।

शब्द/तस्बिरः सुरेन्द्र सुमन

1 Trackbacks & Pingbacks

  1. शनिबार सर्वाधिक पढिएका ४ समाचार, के तपाइले पढ्नु भो ? | Ekhabaronline.com

Leave a comment

Your email address will not be published.


*