24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

१३ वर्षमा बिहे, १४ वर्षमा छोरो

        ई-खबर डेस्क   |   प्रकाशित मितिः बुधबार, पुस ६, २०७३     1:03:35 AM  | 123 पटक पढिएको   |  

बझाङ: बझाङमा बालविवाहले भयावह रुप लिँदै गएको छ । जिल्लामा बालविवाहका कारण एसएलसी उत्तिर्ण नगर्दै विद्यालय छोड्नु पर्ने बाध्यता समेत बालबालिकामा छ । उमेर नपुग्दै विवाह गर्नाले केही किशोरीले त अकालमा ज्यान गुमाउनु परेको छ । सानै उमेरमा घर परिवार तथा आफन्तले विवाह गरिदिने र उमेर पुगेपछि श्रीमानले अर्को विवाह गर्ने घटना पनि बढेको छ ।

दौलीचौर–९ घर भएकी १८ वर्षकी होइजु चदाराले भन्नुभयो ‘१३ वर्षको उमेरमा विवाह भयो,  अहिलेसम्म दुई सन्तान भइसके ।’ उहाँको विवाह हुँदा १३ वर्ष पूरा हुन ४ महिना नै बाँकी थियो । उहाँले सानै उमेरमा प्रेम विवाह गर्नुभएको हो । उहाँले भन्नुभयो ‘विवाह रमाइलोका लागि गरीन्छ भन्ने थाहा थियो । सानै उमेरमा विवाह गर्दा के हुन्छ भन्ने चाहीँ थाहा थिएन । विवाहपछि जिम्मेवारी बढ्दो रहेछ । विवाह हुने बेलन कक्षा ४ मा पढ्दै थिएँ । त्यसपछि पढ्न पाइएन । अब त केटाकेटी भइसके के पढ्नु ?’

होइजुको समय अहिले घरायसी काम र छोराछोरीको हेरचाहमै बित्छ । उहाँको जेठो छोरा ४ वर्षका भए । सानी एक वर्ष पुग्दै छिन् । सानै उमेरमा विवाह गरेका कारण माइतीमा बस्नु परेको छ भातेखोला–२ की लक्ष्मि धामीलाई ।

‘श्रीमानले अर्को विवाह गरे’ उहाँले आँखाभरि आँसु पार्दै भन्नभयो ‘मलाई घरबाट निकाले । माइतीमा बस्दै छु ।’ उहाँ अहिले युएन ओम्यानले दिएको सिलाईकटाई तालिम लिएर जीविका चलाउँदै हुनुहुन्छ । उहाँको भने बुवाआमाले सानै उमेरमा विवाह गरिदिनुभएको हो ।

यो त उदाहरण मात्र हुन् । यस्ता घटनाहरु बझाङका ग्रामीण क्षेत्रमा धेरै छन् । बालविवाह न्युनिकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले जनचेतना मुलक कार्यक्रम गरेका छन् । त्यसका कारण बालविवाहका घटना केही कम भएपनि हट्न भने सकेको छैन ।

अभिभावकले सानै उमेरमा गरिदिने विवाह त समस्या छ नै त्योसँगै सानै उमेरमा केटाकेटीले भागेर विवाह गर्ने चलनले पनि समस्या निम्त्याएको छ । बालविवाह रोक्नका लागि अभिभावकसँगै बालबालिका तथा किशोरकिशोरीलाई सचेतानामुलक कार्यक्रम चाहिएको सरोकारवालाले बताएका छन् । 

साभार: उज्यालो

Leave a comment

Your email address will not be published.


*