20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

सुत्केरीलाई अमानवीय कष्ट, गोठमा हुर्कंदैछ एउटा पुस्ता

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     12:55:00 AM  | 74 पटक पढिएको   |  

नन्दसरा सार्की (२३) बाजुरा, बाँधु

११ कात्तिक, २०७३ । आज मैले बच्चा जन्माएको १२ दिन भयो । सुत्केरी भएपछि म यो गोठमा बस्दै आएकी छु । बच्चा जन्मिसकेपछि सुत्केरी र बच्चालाई घरमा छुन नहुने भएकाले म गाईगोठमा बसेकी हुँ । छुई (महीनावारी) र सुत्केरी भएको समयमा म मात्र होइन हाम्रो घरका सबै महिला यसैगरी गाईगोठमा बस्ने गर्छौं ।

मेरो माईत हुम्ला हो, त्यहाँ पनि म जस्ता सबै गोठमा नै बस्छन् । अहिलेसम्म मैले पाँचवटा बच्चा जन्माइसकेकी छु । प्रत्येक पटक एक महीना गोठमा बस्दै आएकी छु । हाम्रोतिर सुत्केरी भएको बेलामा १० दिन मात्र घरकाले पकाएर खान दिन्छन् । ११औं दिनदेखि मैले आफैं पकाएर खान थालेकी हुँ ।

मेरा दुई बच्चा भगवानका नजिक भए । यो बच्चालाई चिसो लागेको छ । चिसोले गर्दा खोकी लागेको र पातलो दिसा गरेको छ । त्यसैले बच्चा लिएर घाममा बसेकी छु । आगो नबाल्दा कोठा धेरै चिसो हुन्छ । पहिलेका दुई बच्चा पनि चिसो हुँदाहुँदै मरेका हुन् । तर, जन्माएका सबै बच्चा कहाँ बाँच्छन् र ? सबैका बच्चा मरेका हुन्छन् त्यसैले मेरा पनि मरे ।

स्वास्थ्य चौकीमा बच्चा जन्माउँदा डाक्टरले गोठमा बस्न हुन्न भने तर पनि हामी बस्ने गोठमै हो । घरमा बस्न हुन्न । देउता रिसाउनुहुन्छ । देउता लागेपछि परिवारमा समस्या हुन्छ, बालीनाली राम्रो हुँदैन । जीवित भएका बच्चालाई पनि राम्रो हुँदैन । म पनि गोठमा जन्मिएँ, आमासँगै एक महीना गोठमा बसें । मलाई केही भएको छैन । त्यसैले गोठमा बसेर केही हुने होइन । आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न । देउता रिसाउनुभयो भने विनाश हुन्छ ।

संस्थाका ‘सर’ र ‘म्याडम’ आएर गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर हामीलाई गोठमा बसेर राम्रो भइरहेको छ । खान पाएकै छौं, परिवारसँगै छौं । मैले अरू बच्चा जन्माएँ भने अब पनि बस्ने गोठमै हो । परिवारलाई नराम्रो हुने काम गर्नुहुँदैन । पहिलाका सबै जना गोठमा बस्दा केही भएको छैन भने हामी बस्दा के समस्या हुन्छ र ? चल्दै आएको चलन किन नमान्ने ? गोठमा बस्दा बच्चा म¥यो भने आमा मात्र चाहिं धेरै दिन गोठमा बस्नु पर्दैन । मेरा छोरी मात्र छन्, अंश खाने छोरो जन्माउनु छ । पाप ग¥यो भने छोरो जन्मिंदैन । छोरो जन्मँदा पनि गोठमै बस्ने हो ।

सरस्वती बुढथापा (२१), बाजुरा रुगिन

१२ कात्तिक । बच्चा जन्मिएको आज १२ दिन भयो । स्वास्थ्य चौकीमा बच्चा जन्मिसकेपछि २४ घण्टा म स्वास्थ्य चौकीमै बसें । डाक्टरले बच्चा र आमाको स्वास्थ्य राम्रो छ भनेपछि घर आयौं । घर आएदेखि म यही गोठमा बसेकी छु । बच्चा जन्माउँदा हाम्रो गाउँमा सबैजना गोठमा बस्छौं । भान्सा र घरको अन्य ठाउँमा जाँदा देउता रिसाउने हुँदा हामी गोठमा बस्ने गरेका हौं । स्वास्थ्य (चौकी) मा जाँदा सफा बस्नुपर्दछ, गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर यस्तो छुई भएको समयमा गोठमै बस्नु प¥यो नि ! आमा, हजुरआमाले पनि गोठमै बच्चा जन्माउनुभयो, गोठमै बस्नुभयो । उहाँहरूलाई केही भएको छैन, हामीलाई पनि केही हुँदैन ।

यस्तो बेलामा म भान्सामा बसेर घरमा केही अनिष्ट भयो भने के गर्ने ? देउता नमान्दा देउता रिसाउँछन् र देउता रिसाए भने अन्न फल्दैन, बच्चाहरू अपाङ्ग हुन्छन्, खडेरी हुन्छ, पहिरो जान्छ । यस्तो थाहा हुँदाहुँदै कसरी घरमा बस्ने ?

गोठमा बस्दा भूतप्रेत नआओस् भनेर ढोकामा बन्चरो झ्ुन्ड्याउने गर्छौं र कम्मरमा हँसिया राख्छौं । देउता खुशी बनायो भने भूत डराउँछ तर कहिलेकाहीं गल्ती हुँदा भूत लाग्न सक्छ भनेर हँसिया र बन्चरोसँगै राखेका हौं । सुत्केरी बस्ने गाईगोठमा एक महीनासम्म कोही बस्दैन, आमा र बच्चा मात्र बस्छन् । सबैले गरिरहेको काम किन नगर्ने ? आफ्नो संस्कार मान्नु प¥यो । स्वास्थ्यका ‘सर’ ‘म्याडम’ ले भनेको सबै कुरा घरमा गर्न मिल्दैन ।

मागी चदारा (१७) मुगु, ह्याङ्गलु 

१४ कात्तिक । आज छोरी जन्मिएको १३ दिन भयो । छोरीलाई गोठमा सुताएर धान काट्न खेत गएकी । अब (दिनको ११ बजेको छ) यो घाँस भैसा (भैंसी) लाई हालिदिएर, खाना खाने अनि छोरीलाई दूध खुवाएर फेरि घाँस काट्न जान्या (जाने) हो । स्वास्थ्य (चौकी) नजिकै छ, पाँच मिनेटमा पुगिन्छ । स्वास्थ्यमा गयो भने नियमित जँचाउनु पर्छ, गोठमा बस्नुहुन्न भन्नहुन्छ त्यसैले घरमै बच्चा जन्माएँ, स्वास्थ्य गइनँ ।

स्वास्थ्य र संस्थाका ‘सर’ ‘म्याडम’ हरू आएर गोठमा बस्नुहुन्न सफा ठाउँमा बस्नुपर्छ भन्नुहुन्छ तर भनेजस्तो सबै कुरा कहाँ पुग्छ र ? गाउँका मान्यजन र ठूलाले गोठमा बस्नुपर्छ भनेपछि घरमा बस्नु भएन । मलाई बच्चा जन्माउने बेथा लागेपछि गोठमा गएँ, छोरी त्यहीं जन्मिई । आमा, सासू, जेठानी, भाउजू र छिमेकी सबै जना गोठमा बस्नुहुन्छ तिनीहरूलाई केही भएको छैन, मलाई के हुन्छ र ? १५ वर्षमा भागेर विवाह गरेकी हुँ । लभ परेर बिहे गरे पनि बिहेपछि सधैं कहाँ माया गर्छन् र ? अहिले सबै काम गर्नुपर्छ ।

छुई भएर घरको काम गर्न नभए पनि मेलापातको काम गर्न हुन्छ । त्यसैले धान काट्न आएकी हुँ । धान काट्ने ठाउँमा केटीहरू मात्र हुन्छन् । हामी जस्ता छुई भएका महिलाले पुरुषलाई छुन हुँदैन । अब अर्को बच्चा जन्माउँदा पनि म गोठमा नै बस्छु । देउता रिसाउँछन् भन्ने थाहा हुँदा भान्सामा बस्छु भन्न मिल्छ र ? पढे पनि संस्कार मान्नुपर्छ । तपाईं के आफ्नो संस्कार मान्नुहुन्न ? छुई हुँदा छुनुहुन्छ देउता ? रिसाउन्नन् ? किन गोठमा बस्नहुन्न भन्नुहुन्छ ? बच्चासँग सुत्केरी सबैका अगाडि बस्दा लाज लाग्दैन र ? सबैले मानेको कुरा हामीले पनि मान्नुपर्छ ।

चिनकला चदारा (२२) मुगु, ह्याङ्गलु 

१४ कात्तिक । आज बच्चा जन्मिएको ६ दिन भयो । बच्चा यही गोठमा जन्मिएको हो । गर्भवती भएको समयमा स्वास्थ्य (केन्द्र) मा जँचाउन गएकी थिएँ । डाक्टरले बच्चा जन्माउन स्वास्थ्यमा आउनुपर्दछ भने पनि गइनँ । स्वास्थ्यमा गएपछि पैसा दिन्छ भन्नुहुन्थ्यो । समस्या केही भएन, घरमै जन्माएँ ।

सबैजना गोठमा बस्नुहुन्छ त्यसैले म पनि गोठमा बसें । मेरो घर नजिकै अर्की सुत्केरी पनि गोठमा बसेकी छन् । सुत्केरी भएको बेलामा आफैं खाना बनाएर खानुपर्छ । छुई हुने भएकाले कोहीलाई छुन हुँदैन । घाँस काट्ने, कोदो काट्ने, कपडा धुने जस्तो घर बाहिरको काम गर्न हुन्छ । सबै जना बसेको गोठमा हामी बस्न किन समस्या हुन्छ र, हुँदैन ।

सुत्केरी हुँदा आमा र बच्चा दुवै फोहोर हुन्छन्, त्यसैले गोठमा बस्नुपर्दछ । देउताले दुःख पर्दा सबैलाई बचाउनुहुन्छ । अनि भान्सामा बसेर देउता रिसाउने काम गर्नु भएन नि ! अरु बच्चा जन्मँदा पनि गोठमै बस्ने हो । देउता रिसायो भने घरका लोग्नेमान्छेलाई समस्या हुन्छ । बालोबैंसमा मर्नुपर्छ । सन्तान अपाङ्ग हुन्छन् । घरमा संकट आउँछ । यस्तो थाहा पाएर पनि घरमा बस्न हुन्छ र ? ३० दिन गोठमा बस्दा परिवारका सबैलाई राम्रो हुन्छ । पाप ग¥यो भने सन्तानलाई नराम्रो हुन्छ । ३० दिन मैले दुःख काट्दा के हुन्छ र ?

दुधारी धामी (२४) हुम्ला, मैला

२०७२ माघमा मैले गोठमै बच्चा जन्माएँ । एक महीना गोठमा बसें । सुत्केरी बेथा लागेपछि छिमेकी महिलाले मलाई गोठमा लगेका थिए । अरूको जस्तै हँसियाले बच्चाको नाल काटेको हो । म २४ वर्षकी भएँ, मेरा दुई बच्चा छन् । पहिलाको बच्चा हुँदा पनि म गोठमै बसेकी हुँ । केही भएको छैन । हाम्रो यहाँको चलन यस्तै छ ।

आमाले मलाई गोठमै जन्माउनुभएको हो । अहिलेसम्म मलाई केही भएको छैन । घरभित्र बसेर देउता रिसाएर समस्या भयो भने कसरी पाप कटाउने त ? पुर्खाहरूको पालादेखि देउता रिसाउने भएकाले गोठमा बसेको भन्नुहुन्छ आमाले । भनेको मान्नु प¥यो नि ! सुत्केरी भएको समयमा दूध खाँदा गाई भैसा (भैंसी) ले दूध नदिने हुँदा दूध खान मिल्दैन । गोठमा बस्दा आधा ज्यान घटे पनि आफ्नो चलन मान्नु प¥यो । पानी पर्दा वर्षाको समयमा गोठमा कीरा आउँछन् अलि समस्या हुन्छ । तर जे जसरी भए पनि बस्नुपर्दछ ।

भावना बुढा (२२) हुम्ला, मैला

२०७२ सालमा मैले गोठमै बच्चा जन्माएँ । एक महीनासम्म गोठमै बसें । समस्या भएर बच्चा जन्माउन नसके मात्र स्वास्थ्य (केन्द्र) जाने हो । स्वास्थ्य टाढा छ, घरको काम छोडेर कसरी त्यहाँ जानु । हरियो तरकारी, झेल खानेकुरा खाँदा बच्चालाई कुवत (पखाला) लाग्न सक्छ । यसमा होस पु¥याउनुपर्छ । आफैं खाना बनाउनुपर्दछ । छुई नबार्नेलाई देउताले धेरै दुःख दिएको आमाले सुनाउनु हुन्छ । परिवार, बालीनाली र आफ्ना सन्तानलाई राम्रो होला भनेर हामी गोठमा बस्ने गर्छौं ।

रामुदेवी मल्ल, बाजुरा बाँधु , स्वास्थ्य स्वयमसेविका

म स्वास्थ्य स्वयमसेविका हुँ । १० वर्षदेखि यो काम गर्दै आएकी छु । गोठमा बस्नुहुन्न भनेर बुझउन मुश्किल छ । गर्भवती परीक्षण, भिटामिन, जुकाको औषधि, आइरन चक्कीलगायतका औषधि खानुपर्दछ भन्ने कुरामा केही चेतना फैलाउन सकिएको छ तर गोठमा बस्नुहुन्न भनेर बुझउन मुश्किल छ । देउता लाग्दा (लाग्छ) भन्दाउन (भन्दा हुन) अरू के हुनु । केही लाग्या (लागेको) नाइँ (होइन), चेतनाको कमी हो ।

गोठमा बस्नुहुन्न भनेर घरपरिवार सबैलाई एकठाउँमा राखेर भने पनि बुझउन सकिएन । कोल्टी टाढा छ । रेडियो, टेलिभिजन केही छैन । संस्थाका ‘सर’ ‘म्याडम’ आएको बेला उहाँहरूको अगाडि हुन्छ भने पनि बेथा लाग्यो कि गोठमा लगिहाल्छन् । आफ्नै गाउँको भएर हामीले भनेको नसुनेको होला कि ?

घरमा बस्दा केही हुँदैन भनेर मेरो बच्चा जन्मँदा म घरभित्र बसें तर पनि बुझउन सकिनँ । भान्सामा र देउता भएको कोठामा नराखे पनि सफा र घरको अर्को कोठामा राख्नु पर्छ भन्दा मान्दैनन् । सयमा दुई—तीन प्रतिशतले घरमा राख्छन् होला अरूले मान्दैनन् । सुत्केरीलाई घरमा राखेको बेलामा घरमा कोही बिरामी भयो, बस्तुभाउ बिरामी भयो भने छुई भएर हो भन्छन् ।

रुढिवादी हटाउनु गाह्रो काम रहेछ । बुहारीहरूले संस्कार तोड्न सक्दैनन् । सासू ससुराहरूले हाम्रा पालामा गोठमा बस्दा केही भएन अहिलेकालाई के हुन्छ भन्छन् । हाम्रा पालामा १० बच्चा गोठमा जन्माइयो, बसियो केही भएन । अहिलेका स्वास्थ्य (केन्द्र) जानुुपर्छ, गोठमा बस्नुहुन्न भन्छन् । के जमाना आयो भनेर कराउँछन् । यस्तो भएपछि कसैले पनि परम्परा तोड्ने हिम्मत गर्दैन ।

पहिला त गाईको गोठमा पोस्रो (मल, गोबर) पनि सफा नगरी राख्थे अहिले भने चिसो पोस्रो फाले पनि फोहोर चाहिं सफा गर्दैनन् । कसैले सफा गरेर पराल ओछ्याउँछन् । तर धेरैको त फोहोरै हुन्छ । हामीले नियमित परीक्षण गर्नुपर्दछ सफा बस्नुपर्दछ, पोषिलो खानुपर्दछ भनेर सिकाउने मात्रै हो । सबैलाई त्यो कहाँ पुग्छ र ? गाईकै गोठमा राखे पनि लिपपोत गरेर सफा बनाऊ भन्दा छाउ बस्ने गोठ पनि के सफा गर्नु भन्ने जवाफ दिन्छन् । पोहोरसाल मात्र फोहोरमा बसेकी एउटी सुत्केरीको धेरै रगत बगेर कोल्टी लैजाँदा बाटोमै मृत्यु भयो । फोहोरले गर्दा पाठेघरमा संक्रमण भएको रहेछ । बच्चालाई निमोनिया हुने, बिरामी हुने, आमालाई तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरमा संक्रमण हुने कारण गोठमा बसेर हो भन्दा देउता खुशी पा¥यो भने केही हुँदैन भन्छन् । आफ््नै गाउँकालाई बुझउन झ्नै मुश्किल ।

नबहादुर फडेरा, रुगिन स्वास्थ्य चौकीका निमित्त प्रमुख 

सुत्केरी निकै संवेदनशील अवस्था हो । तर पनि यहाँ गाई गोरु राख्ने गोठमा सुत्केरी राख्ने चलन छ । घरमा राखे देवीदेवताले सराप्छ भन्ने मान्यता छ । स्वास्थ्य अवस्था एकदमै नाजुक छ । दुई वर्षदेखि म यहाँ छु । गोठमा बस्दा ज्वरो आउने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने समस्या हुन्छ । अवस्था जटिल भएपछि मात्र स्वास्थ्यमा आउँछन् । कहिलेकाहीं बचाउनै समस्या हुन्छ । सरसफाइ छैन, पानी छैन । गाई गोरु बस्न नसक्ने साँघुरो गोठमा बस्नुपर्छ । कपडा पनि राम्रो हुँदैन । गोठ चिसो हुन्छ, सुक्खा हुँदैन । निमोनियाको डर धेरै छ ।

चेतनाको कार्यक्रम छ तर उनीहरू आफ्नो संस्कार छोड्न चाहँदैनन् । सुत्केरीलाई दूध, दही, घ्यू दिन्नन् । एक महीनासम्म मासु पनि दिंदैनन् । हिजोको भन्दा अवस्था अहिले केही सुधारिएको छ । मेरो घर कालीकोट हो, कर्णालीका पाँचै जिल्ला घुमेको छु । अहिले पनि यस क्षेत्रका ८० प्रतिशतले सुत्केरी राख्ने गोठमै हो । बीए पास गरेका श्रीमान्ले पनि श्रीमती सुत्केरी हुँदा गोठमै राख्छन् । अनि कसरी चेतना अभाव भन्नु ?

गोठमा हुर्कंदैछ एउटा पुस्ता

महिला भएकाले पनि होला ‘छाउ’ का बारेमा अलि बढी नै चासो लाग्छ । छाउ त नेपालभरि नै छ भन्ने मलाई जानकारी छ । तर आफ्नै आँखाले दुर्गम ठाउँको समस्या हेर्न भनेर मैले बाजुरा, हुम्ला र मुगुका दुर्गम गाउँबस्ती जाने निधो गरें ।

६ कात्तिक २०७३ मा काठमाडौंबाट सुदूरपश्चिम निस्किएँ । बसको यात्रा पछि ८ कात्तिकमा बाजुराको मार्तडी पुगें । त्यसपछि १० दिनको पैदल यात्राको तयारी भयो । जिल्लाको अति दुर्गम गाविस बिच्छ्या, रुगिन, छिमेकी हुम्लाका मैला, मदेना र अर्को छिमेकी मुगुको ह्याङ्गलु, श्रीकोट र सेरी पुग्ने योजना तय भयो ।

९ कात्तिक बिहान बाजुराका पत्रकार प्रकाश सिंह र मेरो यात्रा मार्तडीबाट शुरू भयो । पाण्डुसैन जान हिंडेको एक घण्टा नहुँदै जीप हिलोमा फस्यो । आधा घण्टाको प्रयास पछि हिलो बाटोबाट बल्लतल्ल जीप निकालियो । चार घण्टामा हामी पाण्डुसैन पुग्यौं । त्यहाँबाट तीन घण्टा पैदल हिंडेर हामी कोल्टी पुग्यौं । १० कात्तिक बिहान कोल्टीबाट बाँधुतर्फ हाम्रो यात्रा शुरू भयो ।

अब हामी हिंड्ने बाटोमा मालबाहक खच्चरको एकछत्र राज थियो । पत्रकारको यात्राको उद्देश्य के हुन्छ र भेटेसम्म समाचार हुने कुनै पनि विषय नछोड्ने । तर हाम्रो यात्राको अर्को विशेष उद्देश्य थियो– गोठमा बसेका सुत्केरीको अवस्था खोज गर्ने । हामी चार सय ७० घरधुरी भएको बाँधुको धिम गाउँ जाने उकालो बाटोतिर लाग्यौं । धिम बाजुराको उत्तरी क्षेत्रमा पर्ने सबैभन्दा ठूलो बस्ती भएको गाउँ हो । राँघे भीरको उकालो र अप्ठ्यारो बाटो, भोक, प्यासले एकैचोटि गलाइरहेको थियो हामीलाई । पानीको बोत्तल र शरीरको शक्ति सँगसँगै रित्तिंदै थियो । तर पनि धिम पुग्नु थियो ।

नाकै ठोक्किने ठाडो उक्कालोमा सातघण्टा लगाएर ११ कात्तिक दिउँसो १.३० बजे हामी धिम पुग्यौं । सोझ्ै स्वयंसेविका रामुदेवी मल्लको घर गयौं । मल्लको घरमा झेला राखेर अर्की स्वयंसेविका चन्द्रकला बुढालाई खोज्न निस्कियौं । उनले सुत्केरीहरूको घरसम्म पुग्न हामीलाई सहयोग गरिन् ।

गोठको अवस्था हेरेपछि मेरो भोक, तिर्खा र दुखाइ करुणामा बदलियो । यस्तो दुःख शायदै हामीले भोगेका छौं । फोहोर गाईगोठमा सुत्केरी बसेका छन् । साँच्चिकै ढुंगे युग– सानो ढुंगाको चिसो, अँध्यारो, हावा ओहोरदोहोर गर्न नसक्ने गोठ । जहाँ भविष्यका कर्णधारहरू हुर्काइरहेका छन् आमाहरू । ‘सुरक्षित मातृत्व’, ‘नियमित गर्भ परीक्षण’, ‘पोषणयुक्त खाना’ भन्ने नारा मैले काठमाडौंमा पटक–पटक सुनेकी छु । सुदूरपश्चिमको यो दुर्गम पहाडमा आज त्यो सरकारी नारा सम्झ्एिर मेरो मन खिन्न भयो । एकपछि अर्को सुत्केरीसँग कुरा गरें । उनीहरूसँगको संवाद आफैंमा पूर्ण समाचार लाग्यो मलाई । तिनका भनाइमा के छैन ? राज्यको विभेद, समाजको भेदभाव, आर्थिक विपन्नता, अन्धविश्वास र शोषण उत्पीडन । क्यामेरा निकालें, रेकर्डर ‘अन’ गरेर धमाधम अन्तर्वार्ता लिएँ । तीन जिल्लामा एक सातामा भेटिएका सुत्केरीसँग गरिएका ती कुराकानीहरू वास्तवमा अन्तर्वार्ता नभएर उनीहरूले भोगेका दुःख–कष्ट र वेदनाको एकोहोरो प्रस्तुति थियो ।

आखिर किन उनीहरू यतिविघ्न कष्ट भोगिरहेका छन् ? अँध्यारो कोठा, फोहोर गोठमा परालमाथि पुरानो कम्मल, झ्ंिगाको बथान, नजिकै अँगेनो, अँगेनोमाथि बिहानको बासी भात । यो दृश्य देखेपछि काठमाडौंका अस्पतालमा बच्चा जन्माउने सुत्केरीहरूलाई सम्झ्ें । एउटै पुस्ता, एउटै भूगोल, एउटै नागरिकता भएर के गर्नु जीवनशैलीमा आकाश धरतीको फरक छ । हामी सम्मानजनक जीवन बाँच्न पाउनुपर्दछ भनेर महिला अधिकारको कुरा गर्दछौं । आफ्नो शरीर आफ्नो अधिकार भन्छौं । घर शान्ति नै विश्व शान्तिको अधार, लैङ्गिक हिंसारहित समाज भनेर महिला हिंसा विरुद्धको १६ दिने अभियानमा छौं । तर, मैले भेटेका ती महिलाले देउता खुशी बनायो भने परिवार खुशी हुन्छ भनेर गोठमा बसेको हाकाहाकी बताए । उनीहरू दुःख भोगिरहेका थिए, झ्न् दुःखद् पक्ष उनीहरू भगवानको डरले आफ्नो परिवारको हित होस् भनेर गोठमा बच्चा हुर्काइरहेका थिए । अन्धविश्वासको पराकाष्ठा !
गोठमा बसेका तीन सुत्केरीलाई भेटिसकेपछि मलाई खपिनसक्नु भयो । अभाव, कुपोषण सहेर महीना दिनसम्म दुःखका साथ गाई गोठमा बसेका छन् । आफूभन्दा साना र आफ्नै उमेर हाराहारीका महिलाको यो अवस्था देख्दा लाग्थ्यो–  उनीहरूलाई जवानी, जीवन, अधिकार, हिंसा र स्वतन्त्रता के हो भन्ने बुझउनै बाँकी छ । त्योभन्दा पहिला उनीहरू गोठमा बस्नु कति जोखिमपूर्ण कुरा हो भनेर बुझउनु जरूरी छ ।

समाजका गन्यमान्य व्यक्तिलाई भेटेपछि अर्को कुरा थाहा भयो । त्यो भनेको गोठका सुत्केरीलाई घरमा सार्न सहज छैन । ११ गते राति धिममा एउटा घरमा बास बसेका थियौं । लिपपोत गरेको सफा घरमा समेत हामी उडुसले टोकेर रातभर सुत्न सकेनौं । फोहोर गोठमा सुतेका सुत्केरी आमाहरूको हालत के होला ?

१२ गते बिहान हामी धिमबाट रुगिनका लागि हिंड्यौं । साँघुरो बाटो मसिना चिप्लिने ढुङ्गा । बाटो हेर्दै जीउ सिरिङ्ग हुने । तल कर्णाली बगिरहेको थियो । माथि डाँडामा थोरै सिस्नु र सिउडीका रूख बाहेक केही थिएनन् । लठ्ठीको सहारामा साँघुरो बाटो पार गर्दै हामी साढे दुई घण्टामा रुगिनको फैती पुग्यौं ।

फैतीका शिक्षक देवराज पाण्डेसँग कुराकानी भयो । उनले गोठका सुत्केरीको कुरालाई त्यति महत्व दिएनन् । बरु  स्वास्थ्य चौकी टाढा भएको दुःखेसो पोखे । सामान्य अवस्थामा फैतीबाट रुगिन पुग्न चार घण्टा लाग्छ । बच्चा जन्मने अवस्थाकी गर्भवती श्रीमतीलाई चार घण्टाको बाटो हिंडाएर स्वास्थ्य चौकी लैजान नसकेको गुनासो गर्दै पाण्डेले भने “डक्टरले दिएको समयभन्दा तीन दिन ढिलो भइसक्यो बच्चा जन्मिएको छैन, म त तपाईं डाक्टर हो कि भनेर दौडेर भेट्न आएको !”
त्यहाँबाट सात घण्टा लगाएर हामी रुगिन स्वास्थ्यचौकी पुग्यौं । स्वास्थ्यकर्मी भेटिंदैनन् कि भन्ने चिन्ता थियो । काठमाडौंबाट पत्रकार आएका छन् भनेर स्वास्थ्यकर्मी हाम्रो पर्खाइमा बसेका रहेछन् । गोठमा सुत्केरी राखेको बारेमा हामीले चासो मात्रै के राखेका थियौं, रुगिन स्वास्थ्य चौकीका अहेव धनबहादुर फडेराले बेलीबिस्तार लगाइहाले । उनले भने, “यो बाजुराको मात्रै समस्या होइन, मध्य र सुदूरपश्चिमका दुर्गम गाउँमा सुत्केरीलाई गोठमा राख्छन् ।” अब उनलाई सोध्ने अर्को प्रश्नै रहेन । कालीकोटवासी फडेराले आफ्नो गाउँमा पनि यस्तै अवस्था रहेको बताए ।

स्वास्थ्यकर्मीसँगको कुराकानी पछि हामीले गोठमा बसेका सुत्केरीहरूलाई भेट्यौं । बिहान सात बजे कालो चिया र कोदोको रोटी, दिउँसो १२ बजे चिसो कोदोको रोटी र पानी, चार बजे कोदोको रोटी र चाउचाउको तरकारी खाएपछि ‘भोक मीठो कि भोजन ?’ भन्ने नेपाली उखानको याद आयो ।

त्यही दिन हामीले गोठमा बसेकी १२ दिनकी सुत्केरी सरस्वती बुढथापालाई भेट्यौं । उनी ढोकामा बन्चरो झ्ुण्ड्याएर भित्र बसेकी थिइन् । उनले भनिन्, “भूत लाग्छ भनेर बन्चरो झ्ुण्ड्याएको ।” अरू सुत्केरीले जस्तै उनले पनि कम्मरमा हँसिया घुसारेकी थिइन् । यतिसम्म अन्धविश्वास ? रुगिन स्वास्थ्य चौकीकी अनमी प्रेमकला मल्लले भनिन्, “हामीलाई परम्परागत संस्कार तोड्न मुश्किल परिरहेको छ । हँसिया साथमा भयो भने भूत लाग्दैन भन्ने अन्धविश्वास छ ।”

रुगिनबाट हामी बाजुराको कवाडी भन्ने ठाउँतिर लाग्यौं । त्यो मुगु, हुम्ला र बाजुराको केन्द्र थियो । रात पर्न थालिसकेको थियो । डरलाग्दो ओरालो बाटो, लठ्ठीको सहाराले झ्रिरहेका थियौं । बाटामा आठ जना स्थानीयहरू थकाइ मारेर बसिरहेका थिए । हामी पनि त्यहाँ एकछिन बस्यौं । त्यो समूहमा काखमा सानो बच्चा लिएर बसेकी एक जना गर्भवती महिला थिइन् । मैले सोधें, “तपाईंको बच्चा जन्मने कहिले हो ?” उनले मसिनो स्वरमा भनिन् “पुसमा ।” अब पुसको चिसोमा पनि गोठमा बस्नुहुन्छ होला नि ? यसो मात्रै के भनेकी थिएँ त्यहाँका पुरुषले एकैस्वरमा भने “संस्कार मान्नु परिहाल्यो नि !”

बाजुराका दुर्गम गाउँको अवस्था हेरेर दिक्क भएको मन हुम्लाको मैला पुग्दा झ्न् विरक्तियो । गोठमा बस्नुपर्ने अवस्थालाई त्यहाँका महिलाले वास्तै गरेनन् । परिवारलाई राम्रो हुन्छ भने गोठमा किन नबस्ने ? आफू गोठमा जन्मिएको हो, आफूले पनि गोठमा बच्चा जन्माउँदा राम्रै भइरहेको छ भन्ने उनीहरूको बुझइ थियो ।

हुम्लाका गाउँमा अर्को अनौठो मान्यता ‘सुत्केरीलाई हरियो सागसब्जी र पोषिलो खानेकुरा दिनुहुन्न’ भन्ने रहेछ । यसको असर बच्चा जन्मन नपाउँदै आमालाई पोषणको अभाव हुने रहेछ । हामीले एमालेका जिल्ला नेता देउचे सार्कीलाई भेटेका थियौं । उनले भने, “महिला आफैं देउताको डरले गोठमा बस्छन् हामीले कसरी रोक्नु ।” अचम्म छ, समाजमा जो पीडामा छ दोष पनि उसैको थाप्लोमा ।

बाटो हिंड्दा धेरै ठाउँमा दूध, दही र मोही छ भनेर सोध्यौं । कसैले पनि छ भनेन । गाई, भैंसी भएको घरमा पक्कै होला भनेर सोध्यो ‘छैन’ भन्छन् । मुगुको श्रीकोट पुगेपछि मात्रै किन ‘छैन’ भनेका रहेछन् भन्ने थाहा भयो । ती दुर्गम बस्तीहरूमा दूध खानलाई दलित होइन भन्ने प्रमाणित हुनुपर्ने रहेछ । हामीले भन्यौं, ‘हामी दुई जना बाहुन, एक जना क्षेत्री र एक जना ठकुरी छौं ।’ यस बाहेक मैले महीनावारी भएको छैन, भएको भए यसरी पैदल हिंड्न सकिन्थ्यो भनेर थप एउटा स्पष्टीकरण दिनु प¥यो । महिनावारी भएकालाई पनि दुध दिने चलन रहेनछ । त्यो अवस्था बुझ्ेर मैले आफ्नै समूहका साथीसँग पनि आफूलाई महीनावारी भएको बताइनँ । सुदूर दूरदराजका गाउँमा २२ दिन बिताएर राजधानी फर्किंदा पनि बारम्बार मेरो मनमा एउटै प्रश्न आउँछ, ‘आखिर देउता रिझउन महिलाले कहिलेसम्म सहने यस्तो कष्ट ?’

खोज पत्रकारिता केन्द्रका लागि बाजुरा, हुम्ला र मुगुबाट फर्केर मीना शर्मा साथमा प्रकाश सिंह।

Leave a comment

Your email address will not be published.


*