20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

‘पुलिसलाई घर दिएँ, घरबार उडाइदियो’

          |   प्रकाशित मितिः बुधबार, मंसिर २२, २०७३     4:45:50 PM  | 79 पटक पढिएको   |  

नवीन विभास लिवाङ, मंसिर २२

images-cms-image-000009594

‘तपाईं पूर्व लाहुरे हो?’

अरु कसैलाई पो सोधेको हो कि भनी उनले यताउति हेरे। कसलाई नदेखेपछि आफैँतिर हेर्दै भने, ‘यो लुगा देखेर भन्नुभएको हो?’

‘हो।’

कारण थियो, उनले लगाएको कम्ब्याट।

उनको होटलमा महिनौँसम्म खाएर-पैसासमेत लिएर एकजना मान्छे अलप भएछन्। उनी बसेको कोठामा जानीजानी छाडे या भुलेर? एउटा बाकसचाहिँ रहेछ। बाकस खोल्दा उनले लगाएको लुगा भेटे।

डेढ लाख जति ठगेका ती मान्छेको अनुहार र आफूले खुवाएको सम्झँदै यो कम्ब्याट लगाउँछन्।

उनलाई ठग्ने भने उनीमात्र थिएनन्। उनीसित उनलाई ठगेकाहरुको लामै लिष्ट थियो।

लिबाङको मुख्य बजारको अन्तिम भाग पधेरीखोलामा अवस्थित उनको होटलमा उनी पूर्व लाहुरेजस्तै देखिन्थे। पधेरीखोला कटेपछि त सुरु भइहाल्थ्यो, लिबाङको अर्को बजार, पाकिस्तान।

‘टिबीले माया गरेरपछि लाहुरे हुने त हराइगो नि,’ टिबी रोगका कारण भर्ती हुन नपाएको कारण खुलाउँदै भानु बुढा मगर, ५६, ले भने।

भानु माओवादीको मक्का ठानिने थबाङसित जोडिएको मिरुलका हुन्। माओवादीले रोल्पामा जनयुद्ध थाल्नुअघि नै सदरमुकाम लिबाङ पसेका थिए।

त्यसबेला उनको घर भर्खरै ढलान भएको थियो। ३५ दिन नपुगी खोलेको ढलान कामयावी नहुने र भार राख्न हुन्न भन्ने कुरा उनलाई थाहा थियो। यसको कारण थियो, २०३७ सालतिर सूर्खेत राजमार्गमा बाटो बनाउने मिस्त्री काम गर्दा उनले सिकेको कुरा।
घरमा पोष्ट बसाउन भनी आएका पुलिसलाई उनले ‘३५ दिन नपुगेकाले ढलान नखोल्ने र भार पनि नहाल्ने’ बिन्ती बिसाए।

‘ए साले तेरो घर हाम्ले खाइदिने हो’ भन्दै मलाई धम्काए,’ माओवादी विद्रोह सुरु भएको दुई बर्षपछिको त्यो दिउँसोपखको पलमा फर्कंदै उनले भने।

दुई तले उनको घरमा एक थपी तीन तला बनाउन ढलान गरेका थिए। त्यसभन्दा माथि थप्न नौवटा पिलर ठड्याएका थिए।

त्यसबेला पुलिसका ‘सनक’ नै कानुन थिए। ‘चु’ गरे ‘माओवादी’ भनी मार्न बेर थिएन। त्यसपछि पोष्ट राख्न नदिए मार्ने धम्की दिए। तैपनि उनले ‘पोष्ट नराख्न’ पटकपटक बिन्ती बिसाए।

त्यस्तो बेला पुलिसले कसरी सुन्नु उनको पुकार?

त्यसपछि ?
उनको घरमा पुलिस आए। ३५ दिन नपुगेको ढलानमाथि ८०-८५ वटा माटोले भरेको बोरा राखे। बोराको बंकर बनाए। घरमाथि जबर्जस्त पोष्ट बनाए।

यो थियो, २०५४ भदौ १२।

त्यस दिनदेखि उनको घरमा पुलिस पोष्ट बस्यो। त्यसबेला रोल्पाका पुलिस प्रमुख थिए, दुर्जकुमार राई। (राई अहिले सशस्त्र प्रहरी प्रमुख छन्।)

‘पोष्ट राख्ने भए नि कमसेकम यी पिलर नभाँच,’ पोष्ट राख्न रोक्न नसकेपछि उनले अर्को बिन्ती बिसाए।
तर, पुलिसले नौवटै पिलर भाँचे।

घरमा पुलिस पोष्ट बसेपछि के भयो त?
‘सकिएन त कहानी,’ उनले भने।

पोष्टमा बसेका पुलिसलाई उनको परिवारले सेवा गर्नुपर्ने भयो। रहरको सेवा नभई बाध्यताको।

के थिए ती सेवा?
–पानी पुर्याउने,
–रक्सी पुर्याउने।
‘नदिए मार्ने धम्की दिए,’ उनले सम्झन पनि अनिच्छा व्यक्त गर्दै भने।

त्यतिमै सीमित भयो?
भएन।

उनको परिवारमा नहुनु काण्ड भयो।
एक महिना होइन। एक बर्ष होइन।
‘छ बर्षसम्म मेरो घरमा पुलिस पोष्ट बस्दा तिनका ज्यादती कसरी सहेँ हुँला,’ ती दिन सम्झेर आफैँ हलाक् पर्दै उनले भने।


पोष्टमा ड्युटी गर्दागर्दै एउटा पुलिस हवलदारले उनकी पत्नीलाई धर्म दिदी बनाए। सुरक्षित महसुस गरे। धरम भाइलाई बस्ने डेरा पनि दिए।

तर, एक दिन?
के भयो त्यस दिन?

उनको होटलभन्दा तल्लो घरमा थमे सुनार बस्थे। उनले बिहान खसीको मासु ल्याएको भन्दै खान बोलाए।
होटले भानु छिमेकी सुनारकहाँ गए।

उनी निक्लँदा भानुपत्नी एक गिलास रक्सी लिएर धरम भाइको कोठामा पसिन्।

पत्नी त धरम भाइको कोठामा छिर्नेबित्तिकै बत्ती निभ्यो। के भयो कुन्नि? उनको दिमागले उल्टो सोच्यो।
उनी फरक्क फर्केर गए।
‘भित्र पस्दा त कात्तिके कुकुर देखेँ,’ त्यस दिनको घटना सम्झदै उनले भने।
त्यसपछि?
उनका हातमुख दुबै एकसाथ चले। त्यसपछि उनले पत्नी र पत्नीको धरम भाइ दुबैलाई कुटे।
यो घटनाबारे पुलिसलाई रिपोर्ट गरे।

सई आए।

‘हाम्रो हवलदारलाई कुटिस्,’ यति भनेर आउनेबित्तिकै सईले उनलाई कुटे।

कुटाइ खाँदाखाँदै पनि उनले आफूले कुट्नुको कारण बेलीबिस्तार लगाए।

‘तँ मुलाले फोटो खिच्या छस्? प्रमाण देखा,’ यसो भन्दै सइले उनलाई कुटेको कुट्यै गरे।

कसरी खिच्नु फोटो?
सईले प्रमाण मागे। उनीसित त प्रमाण कहाँबाट हुनु?

उनले प्रमाण ‘छैन’ भने।

‘त्यसो भए तँ माओवादी होस्। तँलाई अहिल्यै उडाइदिन्छु,’ उनको निधारमा पेस्तोल सोझ्याउँदै सईले भने।

त्यसबेला त उनलाई मरिएला भनी डर पनि लागेन। जंगिदै भने, ‘कसरी माओवादी भएँ म? के छ प्रमाण?’

कुटाइ खाँदाखाँदै उनले पुलिस हवलदार र उनकी पत्नीलाई ‘कुकुर÷कुकुर्नी’ भने। त्यसलत्तै सईले किन पुलिसलाई कुकुर किन भनिस् भन्दै ‘थप’ कुटे।

‘के भनिस् मा… भन्दै जाकेट समायो। ३५०० मा किनेको जाकेटबाट मलाई उचाल्दै पछा¥यो,’ उनले भने।

त्यो घटनाको छेउछाउमा एकजना पुलिसले उनको छोरी भगाए। त्यसबेला १४ बर्षीया उनकी छोरी ९ कक्षामा पढ्थिन्।

त्यो थियो, २०६२ को कुरा।
‘मैले त आमाछोरी नै पुिलससित लागेको कुरा थाहा पाइनँ,’ उनले ती घटना सम्झँदा पनि अप्ठेरो अनुभूत गर्दै भने।

उनले पटकपटक छोरी खोजिदिन पुलिसकहाँ निवेदन दिए। उल्टै उनलाई पुलिसले कुटे।

‘तँ पुलिस कुट्ने मु.. भन्दै कुटे। मेरो करङ भाँचिदिए,’ छोरी कहाँ भगाएको भनी खोज्न निवेदन दिँदा आफूले यातना पाएको स्मरण गर्दै उनले भने।

‘पुलिस ज्वाइँले आठ नौ लाख खाएर अहिलेसम्म बेपत्ता छन्। ९ बर्षको बच्चा छ,’ उनले भने।

उनको परिवारमा यस्ता घटना हुँदा घरमा पोष्ट बसेको ६ बर्ष भइसकेको थियो।

‘मैले मेरो घरमा पोष्ट राख्न दिन्नँ,’ उनले प्रशासन समक्ष भने।

सईले ती हवलदारलाई ‘अबदेखि यो घरमा नबसेस्’ भने। तिर्न बाँकी चौबीस हजार पनि तिर्न लगाए। लगत्तै पुलिस हवलदार गोविन्द बोहरा सरुवा भए। तर, सरुवा भएको केही समयमै उनकी पत्नीले पोष्ट बसेको छतमै झुण्डेर आत्महत्या गरिन्।
छ बर्षपछि पुलिस पोष्ट घरको छतबाट बाटोमा झर्यो।

त्यसबेला माओवादी लिबाङछेउका गाउँ कहिले काभ्रेखर्क त कहिले तितृकोट अनि कहिले गर्पामा मशाल जुलुस गर्थे। बन्दुक पड्काउँथे।
बजारबाट सेना र पुलिसले जबाफी फायर गर्थे।

साँझ परेपछि र बिहान उज्यालो नहुँदासम्म सदरमुकाम बन्द हुन्थ्यो। लिबाङ पस्ने आठवटा ढोका थिए। तिनमा ताल्चा लाग्थ्यो।

लिबाङ पस्ने र निस्कने ढोका बन्द नहुँदै सदरमुकामबाहिरका मान्छे निक्लन हतारिन्थे भने काम लिएर सदरमुकाम पस्नेहरु बन्द नहुँदै बजार पस्न।

बिहान पुलिस ढोका खोल्न पुग्दा दुध बेच्नेदेखि रोजीरोटीका लागि लिबाङ पस्ने सर्बसाधारणका लाइन हुन्थ्यो। बेलुकीपख काम सकाएर निक्लनेका भिड।

माओवादीसित गोरु बेचेको साइनो पनि नभएका रोल्पाली सर्बसाधारणले पनि कस्तो पीडा भोगे? उनको घरमा कहाँनेर थियो पोष्ट? यी जम्मै कुरा देखाउने उनीसित न फोटो छ न त देखाउने कुनै प्रमाण नै।
त्यसबेला त प्रशासनले क्यामेरा देख्न नै दिन्नथ्यो।

त्यस्तो बेला कसरी फोटो खिचेर राख्नु?
जे छ उनको मनमा मात्र छ। छिमेकीका आँखामा मात्र छ।

‘पीडित भएर बसियो सदरमुकाममा,’ सदरमुकाममा बसे पनि बेलाबेलामा गाउँ गएको सम्झदै उनले भने, ‘माओवादीले सहयोग त लिए। तर मलाई दुःख दिएनन्। बेलाबेलामा गाउँमा पनि गएँ।’


दोस्रो बिहे गरे।

पूर्वपत्नीको माइत होमाबाट नै दोस्रो बिहे गरे।

पति दुबईको पचास तले घरबाट खसी मरेका थिए। राहतको लागि ती महिला लिबाङ प्रशासनमा आइन्। तिनका जम्मै कागतपत्र मिलाउन उनैले सहयोग गरे।
त्यसपछि?
ती महिलाको माइती गाउँ र घर भएको गाउँमा ‘दुईबीच चक्कर चलेको’ चर्चा चल्यो।

‘फलाना राँरा र फलानी राँरीसित हरे गरे भन्ने गाउँको झिजो सहन सक्तैनँ भनिन्। मनमा दुःखै छ त, सँगै सुखदुःख काटम्ला भनिम्,’ उनको छेउमै बसेका २५ बर्ष कान्छी पत्नीतिर हेर्दै उनले भने।
दुबैका पूर्व पति र पत्नीबाट तीन-तीन छोराछोरी छन्।

भानुका पूर्वपत्नीबाट २३ बर्षीय जेठा छोरा दुबईमा छन् भने २० बर्षका कान्छा जुनियर इन्जीनियर।
पुलिसले भगाएकी छोरी जर्मनमा छिन्।


द्वन्दको बेला उनले खपेका यस्ता अनन्त पीडाको क्षतिपूर्ति के होला?

जबर्जस्त पुलिसले पोष्ट बसाएको र उनले खेपेको दुखको अहिलेसम्म कुनै राहत पाएका छैनन्।

बन्न त बनेको छ, सत्य निरुपण तथा मेलमिलाप आयोग। तर, यसले साँच्ची न्याय दिलाउला त भानुलाई?

‘हाल्न त हालेको छु, सत्य निरुपणमा। के होला र खै,’ उनले होला न होलाको बीचमा अल्झिएर भने।

साभारः नेपाल खबर

Leave a comment

Your email address will not be published.


*