21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

अपराधीको माध्यम फेसबुक !

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     2:18:49 AM  | 144 पटक पढिएको   |  

‘लोभले लाभ अनि लाभले विलाप ।’ आधनुनिक सञ्चार प्रविधि संसारकै लागि सुविधामात्र हैन चुनौती पनि बन्दै गएको छ । संसारकै शक्तिशाली मानिने संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनका सूचना ह्याक गरिएको विवादमा रुसका शक्तिशाली राष्ट्रपति भ्लादिमिर पुटिनको नाम पनि जोडिएको छ । पुटिनमात्र हैन प्रतिद्वन्दीभन्दा ३० लाख बढी मत ल्याएर पनि पराजित घोषित हिलारी क्लिन्टनको पराजयमा कतिका आँखामा सूचना स्वतन्त्रताका योद्धा र कतिले दुदर्म्य ह्याकर ठानेका जुलियन असान्जको पनि हात रहेका मानिएको छ । जेसुकै होस्, यो सूचना प्रविधिको विकाससँगै त्यसको सुरक्षामा पर्याप्त ध्यान नदिएका कारण नै यस्तो घटना भएका हुन् । संसारकै शक्तिशाली भनिएको सरकार त ह्याकरको जालोमा परेका अवस्थामा नेपालमा सामाजिक सञ्जाल फेसबुकमार्फत विशेषगरी महिलाहरू ठगिनुमा खासै आश्चर्य मान्नु जरुरी छैन ।

केही समय यता नेपाल प्रहरीमा साइबर अपराध विशेषगरी ठगीका उजुरी बढेको जनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर विवाहको सपना देखाउने, महँगो उपहार दिने लोभ देखाएर पैसा असुल गर्नेजस्ता जालसाझी गरेर ठग्ने धन्दा संगिठत गिरोहले चलाएको शंका प्रहरीले गरेको छ । यसरी ठगिनेमा धनी परिवार महिलामा जागिरे र विभिन्न व्यवसायमा संलग्नहरू परेका रहेछन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा परेका उजुरीमा ठगिने जति सबै महिला रहेका छन् । प्रहरीले त यस्तो ठगीमा पर्नेहरूको संख्या निकै बढी रहेको अनुमान गरेको छ । प्रहरी अपराधी गिरोहको नजिक पुगेको हो कि जस्तो देखिएको छ । थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले विदेशी मुलुकका प्रहरीका साथै  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को पनि सहयोग लिने बताएको छ । नेपाल प्रहरीको कार्य दक्षता हेर्दा अपराधीहरू उम्कन पाउने छैनन् भन्ने अपेक्षा सहजै गर्न सकिन्छ ।

कुनै अपराधी समातिँदैमा अपराध कम हुँदैन । अर्को व्यक्ति वा गिरोहले थप आधुनिक प्रविधि र शैली अपनाएर अपराध गर्छन् । त्यसैले भर्खरभर्खर आधुनिक सूचना प्रविधिसँग परिचित नेपाली समाजमा यस्ता अपराधविरुद्ध चेतना फैलाउनु जरुरी देखिन्छ । फेसबुकजस्ता सञ्जालले पनि अपराध अनुसन्धानका लागि प्रहरीलाई आवश्यक र उपयुक्त जानकारी दिन गोपनीयताका नाममा हिचकिचाउनु हुँदैन । प्रहरीले प्रविधिको प्रयोग गैरकानुनीरूपमा नागरिकको गोपनीयतामा अतिक्रमण गर्न प्रयोग गर्नु हुँदैन । स्वतन्त्रता, गोपनीयता र व्यक्तिको अधिकारबीच प्रहरी र सेवा प्रदायकले सन्तुलन कायम गर्ने प्रयास गर्नु आवश्यक छ । नेपालमा सीआईबीले थालेको अनुसन्धानलाई फेसबुकले पनि सघाउनुपर्छ । नत्र नेपाली फेसबुक प्रयोग कर्ताले यसको प्रयोगमा पुनर्विचार गर्नुपर्छ । यसरी ठगिनेहरूको इन्टरनेटको प्रयोग सायद फेसबुक मेसेन्जरमा कुराकानीमै सीमित होला । अपेक्षाकृत लाभहानीको विचार नगर्नेहरू रहरैरहरमा बढी ठगिएका देखिएका छन् । यसैले प्रहरीले संयोजन गरेर साइबर अपराधका बारेमा जनचेतना जगाउनु जरुरी देखियो । इन्टरनेट सेवा प्रदायकहरू विशेगरी नेपाल टेलिकम र एनसेलले यस अभियानलाई सघाउने उचित हुनेछ । अपराधी त समाउनै पर्छ तर अपराधविरुद्ध चेतना फैलाउन पनि उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ ।

साभारः बाह्रखरी डटकम

Leave a comment

Your email address will not be published.


*