18 October 2017|   बुधबार, कार्तिक १, २०७४

भैरहवा गोलीकाण्डका दोषीलाई कारबाहीको माग

          |   प्रकाशित मितिः बुधबार, मंसिर २२, २०७३     5:47:54 PM  | 70 पटक पढिएको   |  

1905515494goli-kandभैरहवा । उद्योगीको हत्या प्रयासको विरोधमा बुधबार भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघले विरोधपूर्ण दबाव र्याली निकालेको छ ।
संघ उपाध्यक्ष एवम् भैरहवा गल्लामण्डीस्थित मूक्तिनाथ खाद्य उद्योगका संचालक कुलप्रसाद न्यौपानेमाथि मंगलबार साँझ उनकै निवासमा उनीमाथि लक्षित गरी गोली प्रहार भएको थियो ।
गोलीबाट छलिएका उनी हाल सकुशल छन् । हत्याको प्रयासमा रुपन्देही सिपवा–५ का वीरेन्द्र यादवलाई पेस्तोलसहित पक्राउ गरिए पनि थप अनुसन्धान जारी रहेको भन्दै प्रहरीले विस्तृत खुलाएको छैन ।
संघले दोषीहरू पत्ता लगाई कडा कार्बाहीको माग गर्दै र्याली निकालेको थियो । र्यालीमा उद्योगी, व्यावसायी, स्थानीयको सहभागीता रहेको थियो ।
र्यालीपश्चात् प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई अपराधी सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाइएको छ । यो घटना एक उद्योगीमाथि लक्षित गरिएको भएता पनि सम्पूर्ण उद्योगी, व्यावसायी एवम् आमनागरिकमाथि भएको घटना हो भन्ने महसुस गरेको संघका अध्यक्ष रामकुमार शर्माले बताए ।
जुनसुकै मनसाय राखेर गोली प्रहार भएको भए पनि दोषीलाई कारबाही हुनुपर्ने र आफूहरूले स्वतन्त्र र निर्वाध रुपमा ब्यापार व्यावसाय, उद्योग कलकारखाना चलाउने वातावरण सिर्जना गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको उनले जनाए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले भैरहवामा भएको गोली काण्डसँग कुनै सम्बन्ध नरहेको प्रस्टाएको छ । मोर्चाले पत्रकार सम्मेलन गरी घटना निकै दुःखद भएको भन्दै न्यायिक छानबिन गरी दोषी उपर कडा कारबाही गर्न माग पनि गरेको छ । अपराधी जो सुकै भए पनि संरक्षण नगर्ने र त्यस्ता व्यक्तिउपर कडा कारबाही होस् भन्ने माग रहेको सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले बताए ।
घटनासँग जोडेर मधेसी मोर्चाविरुद्ध लगातार प्रचार गरिएको भन्दै उनले भने, ‘यो निकै आपत्तिजनक हो, मोर्चाले यसको खण्डन गर्छ र दोषीउपर कडा कारबाही हुनुपर्छ ।’
तराई मधेस लोकतान्त्रिक पार्टीका रुपन्देही अध्यक्ष अजय बर्माले अराजक तत्वले भैरहवामा साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए ।
यसैबीच सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले घटनालाई लिएर सद्भाव जुलुसको आयोजना गरी घटनाको दोषीउपर कडा कारबाही गर्न माग गर्दै रुपन्देही प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहसमक्ष ज्ञापनपत्र बुझाइएको छ ।

Leave a comment

Your email address will not be published.


*