20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

नेपालमै फल्छ, सुन !

        निराजन शर्मा   |   प्रकाशित मितिः बुधबार, मंसिर २९, २०७३     1:37:51 PM  | 440 पटक पढिएको   |  

काठमाण्डौंमा मास्टर्स डिग्रि पढ्दा देखि नै मेरो मिल्ने साथीसँग सधैं एउटै विषयमा विवाद हुन्थ्यो, त्यो हो– “देशमै केही गर्ने कि विदेश जाने ? अनि मैले लोक सेवा आयोगको तयारी शुरु गरे भने उसले कोरीयन भाषा परिक्षाको तयारी शुरु गर्यो । ऊ अहिले कोरियामा एउटा उद्योगमा काम गर्छ, पैसा राम्रै कमाईरहेको छ तर सन्तुष्ट देखिदैन । अस्ति च्याटमा भन्दै थियो– “साथी के गर्नु कस्तो मेहनत गरी पढियो अनि भाषा परिक्षा पास गरी यहाँ आईयो तर मैले सोचेजस्तो रहेनछ, वढो दुःख छ पैसोले मात्रै सन्तुष्टी दिदैन रहेछ, म त अब केही महिनामा फर्किन्छु अनि केहि गर्नुपर्ला देशमै, त्यही सुन फल्छ यार ! दाङमा अष्ट्रिच फार्म, गोरखामा गाई फार्म, झापामा सर्पपालन आदि गरेर कति राम्रो कमाईरहेका छन, म पनि मेरो गाँउमा के राम्रो हुन्छ त्यही व्यवसाय शुरु गर्छु ।”
एकदिन काम विशेषले नेपालगञ्जपारी रुपैडिहा जादै थिए, अटोरिक्सा चढेर । चौधरी भाई थिए रिक्साचालक । मैले सोधें– “भाई, यो रिक्सा तपाइको आफ्नै हो कि भाडामा ? उनले भने– “आफ्नै हो दाई विदेशवाट कमाएर ल्याएको पैसाले किनेको ।” मलाई विदेश भन्न वित्तिकै कौतुहलता भयो र सोधे– “भाइ, विदेशमा त कमाई राम्रो थियो होला ?” मैले मेरो कुरा टुङ्याउन नपाउदै उसले बोल्यो– “दाई त्यो मरुभुमिको कुरा नगर्नुहोस मलाई त एलर्जी भएर आउछ, दिनभरि टन्टलापुर घाममा मरिमरि काम गर्यो, बेलुकि आउँदा मालिकको गालि खानुपर्ने ।
कहिल्यै चैनले सुत्न पाईएन, अहिले आनन्द छ, घरमा परिवारसँग वसेको छु, रमाएको छु, न कसैको गालि खानुपर्छ न त मरिमरि काम गर्नुपर्ने, दिनमा रु १५००।– कहिल्यै मरेको छैन ।
यो हेर्दा मासिक आम्दानि पनि दोब्बर छ, यहि सुन फल्छ दाई । तपाई पनि विदेश जाने विचार गर्दै हुनुहुन्छ भने भुलेर पनि नजानुहोला ।”
यी माथी उल्लेखित दुई व्यक्तिले प्रयोग गरेको एउटा वाक्यले मलाई सधै घोचिरह्यो– नेपालमै सुन फल्छ ।’ अनि मैले पनि यसो विचार गरे के नेपालमा सम्भावना नै छैन त ? यसो घोत्लिएको त प्रकृतिको अनुपम वरदान नेपाल सम्भावनै सम्भावनाको खानी देखें ।
कृषी, पर्यटन, व्यापार आदि आदि । नेपाल कृषीप्रधान देश भएको र यहाँका जनताको जिवनयापनको मुख्य आधार कृषी नै भएकोले यसलाई व्यवसायिकरण गरि आधुनिक कृषि प्रणाली अवलम्वन गर्न सक्ने हो भने विदेशीको मुख ताकिरहनुपर्ने व्यथावाट मुक्ति पाउने पक्का छ ।
तसर्थ, कृषीको आधुनिकिकरणका लागि किन अगाडि नबढ्ने? युवाहरुलाई किन कृषी पेशा प्रति आकर्षित नगर्ने ? हेर्नुस् त काभ्रेमा फल्ने एकपाथी बुद्धचित्तको बजार भाउ २५ लाख रुपैयाँ छ । जुम्लामा फल्ने एक किलो स्याउको वजार मुल्य दुई सय पचास छ । सुनसरि डुम्राहाका एक किसानले दुई विगाहा जमिनमा कागती खेति गरेर वार्षिक रु ४० लाख आम्दानी गरिरहेको हामि मिडियामार्फत सुन्न पाउछौ ।
नेपालगञ्जमै हालको अवस्थामा कुरा गर्ने हो भने माछा मासु प्रतिकिलो ६ सय ५० छ । तरकारी ६० रुपैया किलो छ । दुध प्रतिलिटर ७० रुपैयाँ, घ्यु ८ सयमा विक्रि वितरण भैरहेको छ । धेरै ठुलो व्यवसायको कुरा छोडौ, एउटा गाईमात्र पालेर दिनको १० लिटर दुध मात्र बेच्ने हो भने वार्षिक रु २ लाख ५५ हजार ५ सय रुपैया सम्म आम्दानी गर्न सकिन्छ ।
त्यसैले पैसा आफै फल्दैन । फल्ने त नेपाली मलिलो माटोमा अन्न, सागसब्जी, घाँसपात हो । कतिपय आँटिला नेपालिहरु यी वस्तु फलाएर पैसा कमाउदै छन । नेपालभित्रै सुन फलाउदै छन । अव हामीले किन दलालको पछि लाग्ने, किन विदेश जाने ? यहि सुन फलाउँ, देशलाई हराभरा बनाउँ । आफ्नो जीवनलाइ सुखद र सफल वनाउ ।
झापामा सुपारी, ईलाममा अलैची खेती, कास्कीमा आलु, गुल्मीमा कफि खेती, नवलपरासीमा उखु, प्युठानमा रातो मुला, सल्यानमा अदुवा, जुम्लामा स्याउको व्यवसायिक उत्पादन गर्न सके सम्वृद्ध नेपाल वनाउन कुनै गार्हो छैन ।
नेपालमा पछिल्लो समयमा बैंकहरू सञ्चालन गर्दा ग्रामीण क्षेत्रमा लगानी गरी उपत्यकामा भित्रिन पाउने निर्णयले गर्दा पनि बाध्यतापूर्वक यस क्षेत्रमा बैंकहरूले ग्रामीण क्षेत्रमा लगानी गरिरहेकै छन्, ग्रामीण क्षेत्रमा गरिने लगानि भनेकै कृषी पेशामा हो । कृषि विकास बैंक, विभिन्न सहकारी संस्थाहरू, गरिबी निवारण कोषलगायतका सङ्घसंस्थाहरूले पनि पछिल्लो समयमा ग्रामीणस्तरका किसानलाई विविध सहयोगहरू गरिरहेका छन् ।
घरेलु तथा साना उद्योग विकास समिति मातहतका विभिन्न निकायले यस क्षेत्रमा केही मानिसलाई समय–समयमा आवश्यक तालिमहरू प्रदान गर्ने, छलफल र अन्तरक्रियात्मक कार्यहरू पनि गर्दै आएका छन् । यी र यस्तै कृषिसँग सम्वन्धित व्यवसाय सञ्चालनका लागि नेपाल सरकारले सहुलियत पुर्ण ऋणको व्यवस्था पनि गरेको छ । त्यसैले अव विदेश जानलाई दलालसँग चर्को व्याजमा ऋण होईन, सरकार सँगवाट सहुलियत दरको व्यवसाय सञ्चालनका लागि ऋण लिएर स्वदेशमै वसौं र देशको सेवा गरौं ।
सरकारको मुख ताकेर वस्नु भन्दा हाम्रो पहल पहिलो कदम हो । त्यसमा सरकारको पनि साथ त चाहिन्छ नै । कृषिक्षेत्रको विकासका लागि सरकारीस्तरबाटै गरिब जनताको लगानी सुरक्षित हुने किसिमले बिमा योजनाहरू जस्तै पशुधन बिमा, अग्नि बिमा, दुर्घटना बिमालगायतमा पहल गरी कम जोखिममै धेरै फाइदा लिन सक्ने अवस्थाको यहाँ सिर्जना हुन आवश्यक छ र यसतर्फ पहल कदमी पनि अगाडी बढाई सकिएको छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराईसम्म एकै किसिमको भू–बनोट, हावापानी, तापक्रम आदिको अन्तर रहेको यस देशमा एक ठाउँमा राम्रोसँग सप्रने बाली अर्को ठाउँमा सप्रन सक्दैन ।
कुन ठाउँमा कस्तो बाली फस्टाउन सक्छ भन्ने कुरा सर्वप्रथम बालीविज्ञहरूले परीक्षण गरी लागू गराउने हो भने र ठाउँठाउँमा सरकारी पहलबाटै विशेषज्ञहरू नियुक्त गरी माटोको चेकजाँच, रोगव्याधि तथा समग्र बालीको अवस्थाबारे निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने हो भने यसले नेपालको अहिलेको यस अवस्थामा देखिएका समस्यालाई कम गराउन ठूलो सहयोग गर्नेछ र यसले कृषिमा व्यवसायीकरण, विविधीरकण र सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुनेछ ।
तसर्थ, नेपालजस्तो प्राकृतिक र मानवीय दुवै हिसाबले सम्पन्न देशमा नै यहाँका लाखौं बेरोजगार जनतालाई उनीहरूको योग्यताअनुसारका कार्यमा हौसला हुने किसिमका उपयुक्त प्रशिक्षण प्रदान गरी विदेश पलायन हुने ठूलो सङ्ख्याका उत्साही युवा वर्गलाई यस देशमा नै कृषि, वन, पर्यटन, निर्माण, प्राविधिक लगायतका क्षेत्रमा लगाउने र त्यसमा आइपरेका समस्याको सामना गरेर अगाडि बढी भावी दिनमा नेपालमा नै सम्पूर्ण जनतालाई र स्थानीयस्तरमै आत्मनिर्भर र स्वावलम्बन बनाई नेपालमा बढ्दै गएको व्यापार घाटा यथाशक्य कम गराउन सकिन्छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।

Leave a comment

Your email address will not be published.


*