18 October 2017|   बुधबार, कार्तिक १, २०७४

कृतिचोर नै उपकुलपति!

        कनकमणि दीक्षित   |   प्रकाशित मितिः बुधबार, मंसिर २२, २०७३     5:38:52 PM  | 99 पटक पढिएको   |  
कनकमणि दीक्षित

                   कनकमणि दीक्षित

नेपालका ‘राजनेता’ ले जनतालाई पासोमा पार्ने गरी महत्वपूर्ण पदहरूमा नियुक्ति गर्दै मुलुकमा बेथिति र जथाभावीपन भित्र्याएको कसैबाट छिपेको छैन। कतै दलीय भागबन्डा, कतै भ्रष्टाचार, कतै आसेपासेको पालनपोषण त कतै विदेशी दबाब समेतका कारण सरासर अनुपयुक्त व्यक्तिहरूलाई देश बनाउन–बिगार्न सक्ने पदमा स्थापना गर्दै समाजमा लादेका छन्, नेताहरूले। यस्तै प्रक्रियाद्वारा दबाब र द्रव्यको भरमा लोकमानसिंह कार्कीलाई ‘अख्तियार’ प्रमुखमा विराजमान गराइयो भने तीर्थराज खनियालाई नेपालको पहिलो र सबभन्दा ठूलो विश्वविद्यालयमा उपकुलपति बनाइयो।

भागबन्डामा कुनै पनि दल (या दलको गुट–उपगुट) ले आफ्नो मान्छेलाई पद दिलाउन राम्रो–नराम्रो, ठीक–बेठीक हेर्दैनन्। आफ्नोतर्फको व्यक्तिलाई संस्थान, विभाग, संयन्त्र या विश्वविद्यालयको हाकिम बनाउन पाए अभद्र–नालायक किन नहोस्, जोकोहीलाई पदस्थापन गरिन्छ। सहमतीय अर्थात् सिन्डिकेट राजनीतिले दलीय भागबन्डालाई जरा गाड्न सघाएको छ। र, सत्तापक्ष तथा प्रतिपक्ष दुवै तैं चुप मै चुप मुद्रामा बस्ने गर्छन्। यस्तो अवस्थामा जनतामाराहरू पदस्थापन हुन्छन्।

डा. गोविन्द केसीको बेथितिविरुद्ध अभियानको तारो लोकमानसिंह कार्की र तीर्थराज खनिया दुवै यसै बन्न पुगेका होइनन्। कांग्रेस, एमाले तथा माओवादीको सहमतीय सिन्डिकेट राजनीतिले नै यी दुई व्यक्ति कार्की र खनियालाई दुई अतिमहत्वपूर्ण संस्थाका प्रमुख बनाइदियो।

खनियाको खतरा
कार्कीको चर्चा आज गरिरहनु परेन, तर खनियाको नियुक्तिबारे कडा आपत्ति जनाउनुपरेको छ। उनी अरूको लेखन, अनुसन्धान तथा कृति आफ्नो भन्दै बिकाउने व्यक्ति हुन्। अंग्रेजीमा उनले गरेको प्रमाणित चोरीलाई ‘प्लेजरिजम्’ भनिन्छ, र लेखक केदार शर्माको शब्दमा प्लेजरिस्टलाई ‘कृतिचोर’ भन्नु उपयुक्त हुन्छ।

कृतिचोरलाई नेपालको सबैभन्दा पुरानो र प्रमुख विश्वविद्यालयको उपकुलपति बनाइएको छ। जुन संस्थाको काम निष्ठावान, सक्षम बौद्धिक जगत र शिक्षित ‘वर्कफोर्स’ उत्पादन गर्ने हो, त्यसकै प्रमुख सञ्चालक यस्ता व्यक्ति बनाइए जसले अर्काको अनुसन्धान तथा सामग्री आफ्नो भनेर छपाएको प्रमाणित भएको छ। कृतिचोरीको आरोप र प्रमाण बाहिर आएपछि नैतिकता भएको व्यक्तिले आत्मग्लानिका कारण यस्तो गरिमामय पद लिँदै लिँदैनथे, र थोरै पनि लाज भएको व्यक्तिले स्वस्फूर्त राजीनामा गर्थे। तर यहाँ त खनियाकै स्वर पो ठूलो सुनिन्छ!

जानकारहरूका भनाइमा, सुशील कोइरालाले त्रिवि उपकुलपतिको पदमा तीर्थराज खनियालाई मनोनीत गरेपछि उनलाई खनियाको विगतबारे सुनाइएको थियो। उतिबेलाका प्रम कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधान भन्छन्, ‘सुशीलजीलाई प्लेजरिजमको राम्रो ज्ञान भएको भए खनियालाई नियुक्त गर्नु हुँदैनथ्यो।’

कोइरालालाई जस्तै नेपालको बौद्धिक वृत्तलाई समेत खनिया महोदयलाई त्रिविको उपकुलपति बनाइनुमा त्यति आपत्ति नभएको भान हुन्छ। देशव्यापी बौद्धिकहरूमाझ आवाज उठेको भए खनिया आफ्नो पदमा यसरी निर्लज्ज टिकिरहने थिएनन्, यो पक्का हो। यसबाट यो शंका पनि उब्जन्छ, नेपालको राजनीतिकर्मी मात्र होइन, बौद्धिक वर्गमाझ पनि कृतिचोरीबारे पर्याप्त ज्ञान र संवेदनशीलता छैन।

जब कसैले अर्काको अनुसन्धान, विचार र लेखनलाई आफ्नो भनी पेस गर्दछ, त्यो व्यक्तिको नैतिकता शून्य रहेछ भन्ने मान्नै पर्छ। फेरि अर्काको कृतिचोरीको भरमा आफ्नो प्रगति गर्नु भनेको जालसाजी हो, भ्रष्टाचारको पराकाष्ठा पनि। यो मूर्खले गर्ने काम पनि हो, किनकि ढिलोचाँडो चोरीको मामला उजागर त भइहाल्छ। जताबाट जसरी हेर्दा पनि यस्तो व्यक्तिलाई विश्वविद्यालयको उपकुलपति बनाइनु हुँदैन।

अक्सर कृतिचोरहरू सक्षम बौद्धिक हुँदैनन् र यसै कारण उच्च पद हासिल गर्ने मौकै पाउँदैनन्, नेपालमा बाहेक। यहाँ भने राष्ट्रिय, केन्द्रीय विश्वविद्यालयको प्रमुख बनाइन्छन्। त्यति मात्र होइन, जब खनिया ‘प्लेजरिस्ट’ भएको सार्वजनिक छ, तैपनि उनको राजीनामाको माग न राजनीतिक वृत्तबाट आउँछ न त बौद्धिक क्षेत्र, नागरिक समाज वा विश्वविद्यालय स्वयंका प्राध्यापक, फ्याकल्टी र प्रशासनबाट। यस्तो अवस्थामा जनता स्वयंले खनियाको खतराबारे सचेत हुनुपर्ने हुन्छ।

बौद्धिक तथा भौतिक कृतिचोरी भनेको भ्रष्टाचार हो, जहाँ एउटाले अर्काको काम आफ्नो भन्दै लाभ लिन्छ– नाम, दाम र प्रतिष्ठाका लागि। जुन पदमा बसेर त्रिवि प्रमुखले बर्सेनि हजारौं डिग्री प्रदान गर्नुपर्ने हुन्छ, त्यो व्यक्ति नै कृतिचोर हुन् भने उनले कस्तो रोलमोडल पेस गर्दा हुन्? अनि त्यस्तो मानिसले कुन हैसियतले त्रिविका विद्यार्थीलाई कृतिचोरी नगर्नु भन्न मिल्छ? चोरी गर्न चाहना राख्नेलाई कुन नैतिक आधारमा नगर भन्न सक्छ? फेरि यसै पनि कृतिचोरीको त महामारी नै छ भनिन्छ, त्रिविमा।

त्रिभुवन विश्वविद्यालय नेपालको बौद्धिक नेतृत्व उत्पादन गर्नुपर्ने प्रमुख थलो हो। यसलाई आज आएर हाम्रा दलहरूले आफ्नो वफादारी गर्ने व्यक्तिलाई दिने उपहार/दाइजोका रूपमा मात्र लिएका छन्। त्यही सोचअनुरुप खनिया नेपाली कांग्रेसको भागबन्डाअन्तर्गत त्रिविमा अवतरण गरेका हुन्।

त्रिवि उपकुलपतिको छनोट कार्यदक्षता र वरिष्ठता होइन, भागबन्डामा आधारित हुन्छ। त्यसमा पनि खनियाजस्तो समस्याग्रस्त व्यक्ति नियुक्ति हुँदा त्रिविलाई मात्र होइन, नेपालको समग्र बौद्धिक जगतलाई क्षति पुगेको छ। उनको नियुक्तिले त्रिविको अग्रगमनमा तगारो लागेको छ र अन्ततोगत्वा यो नियुक्तिले पूरै राज्यको सामाजिक, आर्थिक तथा सांस्कृतिक अग्रगमनलाई पनि असर पारेकै छ। यो कुरा बुझ्न थोरै कल्पनाशीलताले पुग्छ, खनियाको नियुक्ति तथा पदको निरन्तरता शैक्षिक क्षेत्रको बर्बादी नै हो।

नेपालमा हुने गरेको प्लेजरिजमबारे इतिहासकार प्रत्यूष वन्तले सेतोपाटीमा अगस्ट २०१५ मा लेखेका छन्। उनी भन्छन्, ‘नेपालमा पिएचडी र मास्टर्स तहमा थेसिस या पेपर प्रस्तुतिमा व्यापक कृतिचोरी हुने गर्छ। कृतिचोरमाथि सजाय हुनु जरूरी छ, विश्वविद्यालयमा शैक्षिक तथा बौद्धिक स्तर कायम राख्न।’ अफसोच यस्तो उपकुलपति त्रिविले पायो, जो आफैं प्रमाणित कृतिचोर हुन्।

Leave a comment

Your email address will not be published.


*