18 October 2017|   बुधबार, कार्तिक १, २०७४

रुकुमेली पर्यटनको एक गहना कमलताल

        मेगराज खड्का   |   प्रकाशित मितिः आइतवार, मंसिर २६, २०७३     2:01:48 AM  | 128 पटक पढिएको   |  

बाक्लो जंगल, जंगलकै बिचमा ताल । त्यहीँबाट आँखैअघि देखिने धौलागिरी र काञ्जिरवा हिमसृङ्लाका हिमालहरु । पहिलोपल्ट जाने जो कोहीलाई पनि लाग्दो हो, दिनभर तालको सौन्दर्यसंगै रमाईरहुँ । त्यति मात्र होईन तालको निलो दृष्य सगै कमल फुलको सौन्दर्य । त्यसैले त दैनिक जसो तालमा घुमघामको लागि एक दर्जनबढि आन्तरिक पर्यटकहरु आउने गर्छन ।
रुकुम जिल्लाको रुकुमकोट गाविसमा पर्ने कमलताललाई नेपाल पर्यटन वोर्डले गन्तव्यको सुचिमा समेत राखेको छ । दुर्लभ जडिबुटि कमल पाईने राप्तीको एकमात्र कमलताल पर्यटकीय महत्वका हिसाबले पनि निकै महत्वपूर्ण छ । यो तालसंगै रुकुमको सबैभन्दा ठूलो देउराली गुफा रहेकाले र वरपर आधादर्जन मठमन्दिर समेत रहेकाले पनि पर्यटकहरुको रोजाईमा छ । धार्मिक तथा पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण मानिएको कमलतालमा करिब १५ जातका जलपन्छिहरुले डुबुल्कि मारिरहेको हेर्दा पर्यटहरुलाई मन्त्रमुग्ध पार्छ । वरीपरीका दर्जनबढि गाउँको मनमोहकता पनि पर्यटकहरुको रोजाईमा छ ।

२ किलोमिटर क्षेत्रफलमा फैलिएको कमलदह पुग्न रुकुम सदरमुकाम हुँदै तिन घन्टाको जीप यात्रापछि पुग्न सकिन्छ । सदरमुकामसम्म पुग्न भने काठमान्डौँ र नेपालगञ्जबाट हवाई उडानहरु उपलव्ध छन । सडकमार्गबाट आउनका लागि काठमान्डौ र दाङबाट आधा दर्जन गाडिहरु संचालनमा छन । जिल्लामा यो तालमा मात्र पाईने कमल लगायत तालको छेउछाउमा पाईने पाँचऔले, चुर्थाे, सिलपारो लगाएतका मुल्यवान जडिवुटिहरु तथा यस क्षेत्रमा बस्दै आएका विभिन्न वन्यजन्तुहरुले पनि ताललाई अझ महत्वपूर्ण बनाएका छन । तालकै बिचमा रहेको विष्णुको मन्दिरले पनि पर्यटकहरुको आकर्षन बढाएको छ । तालवरपर बर्षेनी शिवरात्रि, चैते दशै, हतिालिका तिज, वडादशैमा रमाईला कार्यक्रमहरु आयोजना हुने गरेका छ । यो तालमा कमल पाईने भएकाले तालमा नुहाएमा विभिन्न रोग निको हुने विश्वास समेत गरिन्छ । जाडो समयमा आर्कषक प्रकृतिका तालमा घुमन्ते चराहरु आउने गरेको स्थानियबासिन्दाहरुले बताएका छन ।

आन्तरिक पर्यटकहरु सगै कहिलेकाँही जिल्लामा आउने बाह्य पर्यटकहरु समेत कमलदहको सौन्दर्य हेरेर फर्कन्छन् । स्थानीय भावना खड्का अनुसार पर्यटकहरुका लागि तालछेउ रहेका घरहरु र स्थानिय होटेलहरुमा बास र खाना खाने ब्यवस्था हो । उनका अनुसार कहिले काँहि आउने बिदेशी पर्यटकहरु तालनजिकै क्याम्पिङ गरेर बस्ने गरेका छन । पर्यटकहरुका लागि स्थानीयहरुले सांस्कृतिक कार्यक्रमहरु पनि देखाउने गरेका छन । यहाँबाट फर्कदा कमलको चाना, मगर समुदायले बुनेका राडिपाखीहरु उपहारको रुपमा ल्याउन सकिन्छ । स्थानीयहरुले आगन्तुकहरुलाई मकैको ढिडो र स्थानीय आलुको स्वाद खुवाउने गरिन्छ । स्थानीयहरुका अनुसार तालमा पौडि खेल्न समेत सकिन्छ ।

शब्द/तस्बिरः मेगराज खड्का

Leave a comment

Your email address will not be published.


*