18 October 2017|   बुधबार, कार्तिक १, २०७४

संघियतामा नाम ‘कर्णाली’ अझैँ पछाडी ?

        रमेश रावल   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     2:59:43 PM  | 502 पटक पढिएको   |  

कर्णाली अहिले ट्रेडमार्क रुपमा विकास हुदैँ गएको छ । पहिले कर्णालीको नाम सुन्न पनि नचाहनेहरु अहिले कर्णाली बिषय यति गहन बनाइदिएका छन् कि कर्णाली भाग्य र भबिष्य दुबै हो । हिजोका दिनमा ‘हटारु’ ‘जुम्ली’ शब्दले कर्णालीलाई हेप्ने गरिन्थ्यो ।

आज कर्णाली विकासको बाटोमा अगाडी बढेको छ । कर्णालीको बस्तुले देश बिदेशमा बजार पाउन थालेको छन् । तिनै कर्णालीका ‘हटारु’ ‘जुम्ली’हरुले उत्पादन गरेको बस्तु निकै महङ्गो छ । सिमी, फापर, कोदो, स्याउ र आलुको सबैभन्दा अर्गानिक तथा स्वादिलो स्वाद पाएका छन् । यिनै स्वाद चाख्न पाएकाहरु अहिले जताततै ‘कर्णाली ट्रेडमार्क’ निर्माण गरेर बेचिरहेका छन् ।

बिश्वमा सबैभन्दा महङ्गो मुल्यमा बिक्रि हुने जडिबुटी यार्सागुन्बु लगाएतका अन्य जडिबुटीको भण्डार कर्णालीमा नै छ । पर्यटन, जलबिद्युत, चीन र भारतलाई जोड्ने कर्णाली करिडोर बन्दै गरेको छ । त्यसैले हिजोका दिनमा ‘हटारु’ ‘जुम्ली’ भन्नेहरु अहिले जताततै कर्णालीलाई ट्रेडमार्कका रुपमा विकास गरिरहेका छन् ।
संघिय संरचना बनाउँदा कर्णालीको माग संम्बोधन नगरेको भन्दै चर्को आन्दोलन कर्णालीमा भयो । यो आन्दोलनमा सहिद हुनेहरुलाई बिर्सन सकिदैँन् । कर्णाली छुट्टै संघियता चाहिने भन्दै आन्दोलनमा देशभरका सबैको एउटै श्वर थियो ‘कर्णाली बिकट र पिछडिएको क्षेत्र हो यसलाई छुट्टै संघियता दिनुपर्छ ।’
सबैको दवाबले कर्णाली अंचलका ५ जिल्ला भेरी अंचलमा ३ जिल्ला जोडेर प्रदेश नम्बर ६ बनाइयो । प्रदेश नं. ६ बनाएपछि खुसियाली छायो । त्यसपछि यसको राजधानी कता बनाउने बिषयमा कुरा उठ्यो । राजधानी बनाउने बिषयमा पहिले माओवादीले आफ्नो प्रदेशको कार्यक्रता भेला गर्दै प्रदेशको नाम कर्णाली राख्ने राजधानी सुर्खेत राख्ने निर्णय गर्यो ।

त्यसपछि भर्खरै नेकपा एमाले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत हुने औपचारिक निर्णय गरिसकेका छन् भने नेपाली कांग्रेस मात्र औपचारिक निर्णय गर्न बाँकी छ ।

पहिलो त संघियतामा ६ नम्बर प्रदेश बनाउँदा कर्णाली ५ जिल्ला, सेती अंचलको बाजुरा जिल्ला र भेरी अंचलको जाजरकोट र दैलेख जिल्ला समेटेर बनाइपथ्र्यो । यो भूगोल मिलाएर संघियता बनाएको भए यहाँको भाषा, संस्कृति, रितीरिवाज, चालचलन, भौगोलिक बिकटता, मानव बिकासको सुचाङ्क, यहाँको अभाव, गरिबी र विकास सबै कुरा मिल्थ्यो । यहाँका धेरै कुरा मिल्न सक्थे । यो नै उपयुक्त हुन्थ्यो ।

तर, सर्खुेतलाई पनि कर्णाली प्रदेशमा जाडियो । सुर्खेतलाई कर्णाली प्रदेशमा जोडिएपछि यस प्रदेशका पहाडी जिल्लामा काम गर्ने अपवाद बाहेक सबै शिक्षक, कर्मचारी, राजनीतिक दलका नेताहरु, पत्रकार, गाउँका धनीमानीहरुले घर र घडेरी सुर्खेतमा सुगमता आधारमा खरिद गरेका छन् । उनीहरुका लागि सुगमता र कर्णालीमा कमाएको रुपैयाँ सुर्खेतमा राखिएको छ । यसै आधारमा कर्णालीको राजधानी सुर्खेत हुुनुपर्छ भनिरहेका छन् ।
हाम्रो एउटा प्रश्न छ । संघियता भनेको सबै क्षेत्र लिङ्ग, जाती, क्षेत्रमा समान अधिकार र पहुँच पुर्याउनका लागि हो ? अनि कर्णालीको राजधानी कसरी सुर्खेत हुनसक्छ ? तर, अहिले एउटा बहस नै नगरी आफ्नो फाईदाका लागि कर्णालीलाई उपेक्षा गर्न खोजिदैँछ ।

नाम सबै कर्णालीको कर्णाली, अझैँ उही पुरानै शैलीमा फर्काउने र बन्ने स्थिति यहाँ देखिन्छ । अहिले प्रादेशिक राजधानी रुपमा जुन भनिएको छ । सेवा सुबिधाका हिसाबले सुर्खेतमा सबै कुरा छ । उच्च शिक्षा पढ्नका नजिकै बिश्वबिद्यालय, स्वास्थ्य उपचार सुबिधा सम्पन्न सरकारी अस्पताल लगाएतका छन् ।

बिगत शासन ब्यवस्थामा सबैकुरा एकै ठाउँ केन्द्रीत भए त्यसलाई बिभाजन गर्न संघियता चाहिएको हो । संघियतामा बाजुराका रुगिन, बिच्छाया गाउँ, जाजरकोटका जुर्क र निपाने, मुगु हयाङ्ल्लु गाउँका मानिसलाई स्वास्थ्य शिक्षा पहुँच पुग्छ कि पुग्दैन ? बहस यहाँबाट गरिनु पर्दछ ।

यसरी बहस गरिएमा साँच्चै पछाडी परेको कर्णालीको विकास, स्वास्थ्य, शिक्षा र अन्य अधिकार पुग्ने देखिन्छ । नत्र भने, संघियता फेरी पनि टाठाबाठाका कै लागि हो र संघियताका नाममा अरुलाई भ्रम नपारियोस् । त्यसैले ‘हटारु’ ‘जुम्ली’ शब्दलाई बद्लेर कर्णालीले केही पाउँदैन् ।

सरकारले कर्णाली विकास अबधारणा नै गलत तरिकाले अपनाएको छ । सरकारले कर्णाली विकास लागि भनेर छुटाएको बजेट, स्वास्थ्य सेवा र शिक्षा लगाएतका विकासे योजना दिर्घकालिन विकास अबधारणा कर्णाली मैत्री छैनन् । कर्णालीमा जडिबुटी प्रसोधन केन्द्र अन्तै खोल्ने तयारी गरिएको छ । कर्णालीका नाममा खोलिएको बिश्वबिद्यालय अन्तै छ । कर्णाली नाममा स्वास्थ्य संस्था खोलिएका छन् ती सबै अन्तै छन् । अनि कर्णालीका लागि सरकारले गरेको काम के हो त ?

कर्णालीमा अहिले केहीले राम्रो संम्भावना देखेका छन् । पर्यटनको राम्रो संम्भावना रहेको छ । साना लगानीमा ठुला ठुला जलबिद्युत आयोजना सम्पन्न गर्न सकिनेछ । जडिबुटी खेतीको राम्रो संम्भवना रहेको छ । गेडागुडी खेती, पशुपालनको राम्रो संम्भवना रहेको छ । यी कर्णालीका राम्रा संम्भावना देखेर नै अहिले जताततै कर्णालीको ट्रेडमार्क बिक्रि गरिरहेका छन् । सबैलाई चेतना भया कर्णालीको ट्रेडमार्क बेचेर कर्णालीको विकास अवश्य हुदैँन् ।

कर्णालीको विकासका लागि कर्णालीमा नै लगानी मैत्री बातावरण सिर्जना गरौं । कर्णालीमा विकास मुल फुटाऔं अनि मात्र कर्णालीको विकास हुनसक्छ । त्यसैले सबैले कर्णालीको नाम लिएर वा एउटा ट्रेडमार्कको विकास गरेर कर्णालीलाई हिजोआजको झन कंगाल नबनाऔं ।

त्यसैले, सरकारले, राजनीतिक दलहरुले, दातृ निकाय, एनजिओ, आएनजिओ लगाएतका सबैले कर्णालीको ट्रेडमार्क बेचेर संघियतामा नाम ‘कर्णाली’ अझैँ पछाडी पार्ने खेल नगरौं । कर्णालीलाई हिजोको ‘हटारु र जुम्ली’ भनेर अपमानित शब्दलाई साच्चै कर्णालीका रुपमा विकास गर्ने हो सबै कर्णाली केन्द्रीत भए लागौं ।