22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

जूनतारा रोएको अनिदों रात

        डिल्ली मल्ल   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     1:53:21 PM  | 151 पटक पढिएको   |  
हिउँदयामको ठिहिर्या‍इ, बुँरासेको लेक ! नाङ्गा खुट्टाले तुषारो छिचोल्दै सेन्ट्री पोष्टकै छेऊमा छोटो भलाकुसारी गरेको त्यो बिहान नै उनीसँगको अन्तिम भेट भयो ।
थाहा त थियो मलाई– हामी सबैलाई । एक न एकदिन जरुर छुट्टिनुपर्नेछ । पृथ्वीको भार भएपनि, प्रकृतिको उपहार भए नि, जसले जे भने पनि यो धर्तीमा पाइला टेकिसकेपछि एक न एकदिन जरुर जानुपर्छ नै– सांसारिक झमेलाबाट मुक्त भएर । तर, यति छिट्टै, यति सजिलै र यति आकस्मिक छुट्टिनुपर्ला भन्ने मैले सोचेकै थिइँन ।
आखिर किन त्यसैदिन उनले थोरै भएपनि मसँग सुखदुःखका कुराकानी गरे होलान् ? किन काँधमा धाप मार्दै उज्वल भविष्य र सफलताको कामना गरे होलान् ? साँच्ची ! भोलिको बिहान नउदाउँदै उनी सांसारिक झमेलाबाट दूर भैसक्नेछन् भन्ने थाहा भैदिएको भए………. ?
खैर, यो त फगत कल्पना मात्र हो ।
२०६२ मंसिर १४ को त्यो बिहान ! अस्थायी सेन्ट्री पोष्टकै छेऊ बाँझको बोटमुनि ओभानो ठाउँ खोजेर गफिएका थियौं हामी– झक्कुप्रसाद पुन ‘निर्मम’ र म ।
थोरै गाउँघरका बारेमा, अलिकति साहित्य र साँस्कृतिक आन्दोलनका बारेमा अनि केही सैन्य जीवनका दिनचर्या र प्रत्याक्रमणको दोस्रो योजनाका बारेमा । घाम उदाउनुपूर्व नै भएको त्यो भेटमा उनले मलाई धेरै हौस्याएका थिए, कलम चलाइरहन प्रेरणा दिएका थिए, केही सल्लाह सुझाव र निरन्तर क्रियाशीलताको आग्रह पनि ।
भेटमा उनले आफ्नो भर्खरै प्रकाशित कथा संग्रह ‘अभ्यस्त सिपाही’ मलाई दिने वाचा पनि गरेका थिए । तर, उनीसँगको त्यो भलाकुसारीपछि अर्को बिहान नउदाउँदै उनको सहादत भयो।
र, सहादतसँगै उनको कृति पनि गुमनामजस्तै बनेको छ अहिलेसम्म।
३/४ दिनदेखि हामी बुँरासेमै थियौं– सल्यान दमाचौरको बुँरासेगाउँमा । सयौंको जमघट थियो– माओवादी नेताकार्यकर्ता, जनसेना र साँस्कृतिककर्मीहरुको– सायद ४ हजार बढी ।
कार्यक्रम थियो, केन्द्रीय आधार इलाकामा कार्यरत जनमुक्ति सेना नेपाल पाँचौं डिभिजनको घोषणा तथा रणनैतिक प्रत्याक्रमणको दोस्रो चरणको योजना सम्प्रेषण ।
ठाउँ–ठाउँमा त्रिपाल टाँगेर मेश चलाइएको थियो भने गाउँकै छेऊमा रहेको खुल्ला चौरमा ठूलो हल बनाइएको थियो– कार्यक्रमका लागि । त्रिपालले ढाकेर बनाइएको उक्त हलको माथिबाट खर्सु, बाँझ र अरु स्याउलाले छोपिएको थियो– कार्यक्रम एक्सपोज हुनबाट जोगाउन र दुश्मन सेनाको सम्भावित आक्रमणबाट बच्न ।
चिसो निकै बढेको थियो । एकातिर शाहीकालको संकटकाल– कुइरे सरकारको सहयोगप्राप्त विशेष जासुसी विमानको दिनदिनैको निगरानी, हेलिकोप्टरको हवाइ गस्ती, अर्कोतिर पहाडको टाकुरो, हिउँदयामको ठिहिर्या‍इमा लत्ता कपडाको अभाव ।
जेनतेन गाउँलेहरुको सहयोग, माया ममता र स्नेह, आफैले बोकेका केही कम्बल र स्लीपिङ ब्याक अनि खर्सु र बाँझका पातको ओछ्यानले २/४ रात सन्तोषपूर्वक नै बिताइयो बुँरासेमा ।
तर, विडम्बना ! जुन दिन हामी हिड्नु थियो त्यहाँबाट, त्यही दिन अर्थात् २०६२ मंसिर १४ को त्यो साँझ ! बडो दुर्भाग्यपूर्ण, बडो दुर्दशापूर्ण र अत्यन्तै पीडादायक बन्न पुग्यो ।
भन्छन्– ‘दिनको संकेत बिहानीले गर्छ ।’ त्यसदिन बिहानैदेखि निको चाला त देखिएको थिएन । अघिल्लो दिन साँझ एकैछिन बुँरासेको आकाशमा उडेको जासुसी विमान त्यसदिन बिहानै दुइटा हेलिकोप्टरसहित हामीलाई ओछ्यानमै भेट्ने गरी आइपुगेको थियो ।
बिहान दश नबज्दै जासुसी विमान र दुईवटा हेलिकोप्टरले डल्सिङ्गेदेखि पाथीहाल्ना, बुँरासे, जथाक एवं झिम्पे लेकको जंगल क्षेत्र र आसपासको आकाशमा दसौंपटक हवाई गस्ती गरिसकेका थिए ।
यता बुँरासे गाउँमा भने हलभित्रको कार्यक्रम सकिइसकेको थियो र खुल्लासभामा जनमुक्ति सेनाको डिभिजन घोषणा गर्ने कार्यक्रम बाँकी थियो । आधिकारिक रुपमा ब्रिगेडस्तरको सैन्य संरचनामा रहेको माओवादीले आजैदेखि देशभर पाँच वटा डिभिजनको घोषणा गर्ने कार्यक्रम थियो । जसले गर्दा शाही सरकारलाई ठूलो चुनौती र आतंक आइलागेको थियो ।
बिहान दश बजेतिर खाना खाइवरी खुलासभाका लागि कार्यक्रम स्थल सल्यान र रोल्पाको सीमाना मनिमारेतर्फ लागियो । जनसेना, कार्यकर्ता र स्थानीय सर्वसाधारणको ठूलो फौज मनिमारेतिर लागिरहँदा आकाशमा जासुसी विमान र हेलिकोप्टरको हवाई गस्ती जारी थियो ।
स–साना खर्सु, गुराँस र बाँझका बुट्यानहरुको पातलो जंगलमा त्यति धेरै मान्छेहरु चाहेर पनि छिप्न सक्ने अवस्था थिएन । हामी जति मनिमारेको नजिक पुग्दै थियौं, हेलिकोप्टर र विमान हाम्रो थाप्लै माथि–माथि पो उड्न थाले ।
हुँदाहुँदा कार्यक्रमस्थल नजिकको टाकुरामै हेलिकोप्टर ल्याण्ड गर्न खोजेपछि जनसेनाले आक्रमण गरिहाल्यो । जनसेनाको आक्रमणबाट क्षतिग्रस्त हेलिकोप्टर हतार–हतारमा सल्यान खलंगातिर हुँइकियो । बाँकी लडाकु हेलि र जासुस विमान पनि एकैपटक पत्तासाफ भए ।
दुश्मन सेनाको हवाई गस्ती र जनसेनाको जवाफी आक्रमणपछिको स्थितिको मूल्याङ्कन गर्दै कमाण्डर र नेतृत्वले तत्कालै दिउँसो ११ बजे गर्ने भनिएको कार्यक्रम साँझ ३ बजे गर्ने निर्णय गरी सबैलाई उच्च सतर्कताका साथ जंगल, टाकुरा र घरभित्र बस्न निर्देशन जारी गरे ।
दिउँसो ३ बजेतिर चारैतिरबाट मनिमारेको फिल्डमा जनसेनाहरुको ओइरो लाग्ने क्रम शुरु भइसकेको थियो । कमिलाको ताँतीजस्तै निस्किएको जनसेनाहरुको लहरले एकैछिनमा मनिमारेको चौर पूरै भरियो । र, कार्यक्रम शुरु भयो ।
जनसेनाहरुलाई रोलकल गराउँदै डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’ले पाँचौं डिभिजनको विधिवत् घोषणा गर्नुभयो । कार्यक्रममा तत्कालिन केन्द्रीय आधारइलाका (राप्ती क्षेत्र)का ईन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’, जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’, तत्कालिन पाँचौं डिभिजनका राजनैतिक कमिस्नर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम अबेर शुरु भएकोले चिसो बढिसकेको थियो । तैपनि पहिलोपटक डिभिजनस्तरको फर्मेशन घोषणा गर्न पाउँदाको गर्व, जोश, जाँगर र उत्साहले चिसोको पर्वाह नै नगरेको जस्तो भान हुन्थ्यो । आधारइलाकामा कार्यरत प्रतिरोध साँस्कृतिक परिवारका कलाकारहरुको क्रान्तिकारी र विद्रोही भावका गीतसंगीत एवं डिभिजन कमाण्डर सुनिलको जोडदार कासन अनि युवा नेता विप्लवको सान्दार भाषणले सायद जनसेनाका प्रत्येक सदस्यहरुको नसा–नसामा रक्तप्रवाह तीव्र भइरहेको थियो ।
बिस्तारै सूर्य हराउन खोज्दै थिए– पश्चिमी क्षितिजमा । सम्मुखमै उभिएको जथाक र पारि–पारि क्षितिजमा आकाशै छोएझैं देखिने सिस्ने, च्याखुरे, रमका र बल्लजुरे हिमालमा थोरै मात्र रातो घाम बाँकी थियो ।
नीलो आकाशमा अब त घामका राता किरणहरु प्रष्टै देखिन थालिसकेका थिए । गोधूली साँझको पश्चिमी क्षितिज झन् रातो देखिन्थ्यो । पश्चिमतिर चार-पाँचवटा घर र गोठहरुबाहेक सबैतिर जंगलले घेरिएको मनिमारेको फिल्ड खचाखच भरिएको थियो– जनसेना र जनसमुदायको फौजले ।
सायद घडिमा त्यस्तै ५ बजेको हुनुपर्छ । यता कार्यक्रम चलिरहेको थियो– मञ्चमा जनसेनाका डेपुटी कमाण्डर पासाङ बोलिरहनुभएको थियो । एक्कासी मनिमारेको आकाशमा जासुसी विमान देखियो, सँगसँगै फाइटर हेलि पनि । बिहान जनसेनाको आक्रमणपछि नदेखिएको विमान एकैपटक साँझ पो देखियो ।
आकाशमा विमान र हेलिले चक्कर काट्न थालेपछि आक्रमण गर्ने करिब–करिब निश्चितजस्तै भइसकेको थियो । दुश्मनले विमान र हेलिबीच एकआपसमा कुरा गरेको हामीले रेडियो सेटमा स्पष्टसँग सुनिरहेका थियौं ।
विमानबाट हेलिलाई बारम्बार ‘छिटो आक्रमण गर’ भनेर निर्देशन दिइरहेको थियो भने हेलिबाट ‘ख्वैं कहाँ छन्, त्यहाँ चौरमा त रातो झण्डाबाहेक केही छैन’ भनिरहेको थियो ।
दुश्मन सेनाको योजना खुलिसकेपछि डिभिजन कमाण्डर सुनिलले सबैलाई आ–आफ्नो आर्क र जंगलतिर जान निर्देशन दिनुभयो र जनसेनाहरु निर्देशनबमोजिम आ–आफ्नो आर्क र जंगलतिर दौडिए ।
मञ्चमा केही साथीहरु सामान राख्दै हुनुहुन्थ्यो, त्यत्तिखेरै हेलिले एचएमजी, जीपीएमजी, मोर्टारलगायतका अत्याधुनिक हतियारबाट अन्धाधुन्ध हमला गरिहाल्यो ।
एकैछिन अघिसम्म शान्त मनिमारे, बुँरासे, जथाक र आसपासको क्षेत्र बमगोलाको गर्जनले थर्किन थाल्यो । यता जनसेनाहरु बाँझ, ओखर, खर्सु र गुराँसका बोटहरुको कभर लिदै जंगलैभरि छ्याप्छ्याप्ती भरिए ।
त्यसपछिको स्थिति, ख्वैं ? मैले कुन शब्दमा लेखुँ युद्धमैदानको सघन अनुभूति ? खुट्टामुनिको जमीन जोत्दै पड्किने मोर्टार र कानैनिरबाट सुइकिने गोलीका पर्राहरुको बीचमा बाँचिरहदाको असीमित आतंक र आक्रोश ।
गोलीका पर्राहरुले भाँचिएका रुखका हाँगाहरु टाउकैमाथि खस्दा लाग्थ्यो, हामी पनि पालो पर्खिरहेका छौं ।
अरु कता–कता दौडिए ? के–के सामान लिएर गए ? थाहा नै भएन । आफू त झोला र मेण्डुलियन बोकेर व्यानर तान्दै थिए, छेऊमै गोलीले धूलो उडाउन थाल्यो, त्यसपछि जंगलतिर टाप कसें ।
विडम्बना त यो भयो कि साथमा भिडियो क्यामेरा हुँदाहुँदै हवाई हमलाको दृश्य लिन सकिएन । कारण– ब्याट्रीको चार्ज सकिएको थियो । हुन त ब्याट्री चार्ज गर्नलाई हामी विद्युत् सुविधा भएको ठाउँमा कहिल्यै जान पाएनौं, जाने अवस्था थिएन ।
एउटा मात्रै ब्याट्री, सधैं सोलार ब्याट्रीबाट चार्ज गर्ने हो त्यो पनि जहाँतहीं आजभोलिको जस्तो सम्भव थिएन । त्यसदिन झनै चार्ज गर्न नै पाइएको थिएन ।
एकतर्फी हवाई हमला जारी थियो । केही जनसेनाहरु र हामी चौरदेखि त्यस्तै डेढ सय मिटर तल स–साना बुट्यान र झाडीमुनि घुस्रिएर बसेका थियौं । बाँझ र खर्सुका पातले गोली त छल्दैनथे ।
तर, हामी कस्ता हुस्सु ! त्यही दृष्टिकभरमा लुकेर सुरक्षित ठानिरहेका थियौं । र, अरुलाई के भयो ? भनेर चिन्ता गरिरहेका थियौं ।
करिब २० मिनेटजतिको लगातार हमलापछि विमान र हेलि दुवै फर्किए । उनीहरुको फर्काईसँगै एकमनले ढुक्क हुँदै झाडीबाट त बाहिर निस्कियौं तर कसलाई के भयो ? भन्ने भयानक सन्त्रास, आशंका र चिन्ताले छट्पटाउँदै हतार–हतार पहिलेकै फिल्डमा आइयो ।
त्यसपछि…..
हामी चौरमा निस्किदै गर्दा कोही रोएको आवाज सुनियो । चौरको डिलबाट देख्यौं– चार/पाँच जना साथीहरुले कसैलाई उचालेर जंगलतिर लिदै थिए ।
पछि कसैले यतिमात्र भन्यो– ‘डिभिजन कमाण्डर कमरेडलाई टाउकोमा गोली लागेको छ ।’ उसको बोलीमा धर्मराहट थियो, त्यो भन्दा बढी सन्त्रस्त थिए उसका आँखाहरु ।
लाग्थ्यो– ‘कमाण्डर कमरेड सायद अब बाँच्नुहुने छैन ।’ उसका आँखाहरु यस्तै बोलिरहेका थिए ।
हामी जति थियौं चौरमा– त्यस्तै ४/५ जना । सन्त्रस्त, भयभीत र आतंकित आँखाले एक अर्कालाई हेर्नुसिवाय अरु केही बोल्न नै सकेनौं । एउटा भयानक सन्त्रास, कमाण्डर कमरेडको सम्भावित सहादतको आतंकले आधा चेत नै गुमेजस्तो भयो ।
अब त अँध्यारो भइसकेको थियो– गोधूली साँझको पश्चिमी क्षितिजबाहेक । नजिककै साथीको अनुहार ठम्याउन पनि नसकिने बेला भइसकेको थियो । अलि–अलि गर्दै तितरवितर भएको टोली चौरमा जम्मा हुन थाल्यो ।
अस्पष्ट, अपुष्ट खबरले सबैतिर आतंकित बनाइरहेको थियो, खासखुस चलिरह्यो– करिब १५/२० मिनेटजति ।
केही समयपछि तल जंगलको छेऊबाट आएको चर्को रुवाई र कोलाहलले मुटु नै छेडेर गयो । त्यतिञ्जेलसम्मको सन्त्रास, भय र आतंक यथार्थमा पुष्टि भइसकेको थियो । डिभिजन घोषणा भएकै दिन पाँचौं डिभिजनले कमाण्डर गुमाएर टुहुरो भइसकेछ । कमाण्डर कमरेड सुनिलको सहादत भइसकेछ ।
त्यतिखेरै अर्को सनसनी फैलियो चौरमा– बटालियन सहायक कमाण्डर कमरेड झक्कुप्रसाद पुन ‘निर्मम’को पनि सहादत भयो । कसैले सुनाउँदै थियो– तल खोलामा पछाडिबाट लागेको गोलीले उत्तिबेलै निर्ममजीको पनि सहादत भयो… ।
मैले शब्दमा लेख्न सक्तिनँ, शोकाकूल परिवेशको त्यो सघन अनुभूति । युद्धमैदानमा आफ्नै आँखाअगाडि जीवनसंगी गुमाउनुपर्दाको पीडा बाग्मती थापाले कसरी सहनुभयो ? युद्धमैदानमा ढलेका बाबाको शवलाई छोरा विजय र छोरी दिव्यज्योतीले कसरी हेर्न सके होलान ? उनीहरु पनि त्यही थिए ।
दुई/दुई जना होनहार प्रतिभा, बहादुर, क्षमतावान् कमाण्डर र सहयोेद्धाको अप्रत्याशित क्षति, खै ? कुन शब्दमा लेख्ने पूरै स्तब्धता र शोकमा डुबेको त्यो विशाल फौजको असीमित पीडा ?
जनमुक्ति अभियानका राता सिपाहीको त्यो विशाल फौज फेरि पनि मनिमारेको त्यही चौरमा जम्मा भएको छ– बिल्कुलै फरक परिवेशमा । दिउँसोको त्यो उत्साह, खुसीयाली र हर्षोल्लास पूरै फेरिएको छ– स्तब्धता, भयानक सन्त्रास र वर्गवैरीप्रतिको तीव्र घृणा र आक्रोशमा ।
हिउँदयामको ठिहिर्या‍इ, चिसो–चिसो सिरेटो र शरीरै भिजाउने शीतलहर पनि निष्प्रभावी भइरहेछ– वियोगको यो सघन पीडाबीच । जून पनि रोएको यो जूनेली रातमा काला–काला देखिने सयौं मानवाकृतिले मनिमारे पूरै ढाकिएको छ ।
झुण्ड–झुण्डबाट सुक्क–सुक्कसँगै निस्किएको हृदय विदारक चित्कार र टाढा कतै भुकिरहेका कुकुरको मधुरो भुकाईबाहेक सुनसान– पूरै सुनसान छ चारैतिर । पूरै निस्तब्ध, पूरै शोकाकूल छ परिवेश । लाग्छ, पीडाको यस घडिबीच हावा पनि शोकमग्न भई मन्द–मन्द बहिरहेछ ।
उनीहरु– क्रान्तियात्राका बहादुर सिपाहीहरु सुनिल र निर्मम हँसिया हथौडाअंकित रातो झण्डा ओढेर चुपचाप सुतिरहेछन्– चीर निन्द्रामा । दिनभर सुदूर भविष्यको लक्ष्य देखाउँदै हेरिरहेका आँखाहरु अहिले पूरै एकोहोरिएका छन्, टोलाइरहेका छन्, अहँ कहिल्यै नचिम्लिने गरी ।
हाँस्दै, रमाउँदै चल्मलाउने ओठहरु मौन छन्, स्थीर छन्– पूरै मौन, पूरै अविचल ।
मान्छे भएर जन्म लिइसकेपछि मन, मुटु र मानवता बोक्नै पर्दोरहेछ– नचाहेर पनि । अनि विछोडमा रुँदोरहेछ मन, घोच्दोरहेछ मुटु र दुख्दोरहेछ मानवता ।
तर, खै के गर्नु र, निष्ठूर समयको नियतिसँग ? जतिसुकै पीडाको पहाडले थिचे पनि । युद्धको यो अपरिहार्यता, बाध्यता र निर्ममता सहनै पर्दोरहेछ– आशावादले बाँधेर मन । ………..जबर्जस्त सह्यौं त्यसैगरि ।
र, त्यसपछि…….
जूनको त्यो धिमा प्रकाशमा ती ओजस्वी वीरहरुका अविचल शरीरलाई आफ्नै हातले मनिमारेकै माटोमुनि पुर्यौं‍ । र, चिहानमाथि रातो झण्डा गाडेर अन्तिम सलामीसहित गन्तव्यका लागि बाटो लाग्यौं– असह्य पीडा, गह्रौं जिम्मेवारी र वर्गवैरीप्रतिको तीव्र घृणा अनि आक्रोश बोकेर ।
अन्तिम गन्तव्यका निम्ति थालिएको त्यो महान् यात्रा अझैं जारी छ ।

Leave a comment

Your email address will not be published.


*