23 October 2017|   सोमवार, कार्तिक ६, २०७४

व्यापारिक हिन्दी चलचित्र मन नपराउने बिपीसँगको अन्तर्वार्ता

          |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     10:29:15 AM  | 201 पटक पढिएको   |  

सङ्गीतका बारेमा केही भन्नुहुन्थ्यो कि?
बीएमा नपुगन्जेल सङ्गीतप्रति निस्पट्ट नै थिएँ। म बनारसमा हुँदा एक जना महाराष्ट्रका मेरा सहपाठी सङ्गीतप्रति खुबै रुचि राख्तथे। उनी आफै राम्रा गायक र तबलावादक पनि थिए। पुणेबाट आएका एक ठूला सङ्गीतकारको निम्ति एक पटक उनले कार्यक्रमको आयोजना गरे। उनले यसनिम्ति टिकटहरु बेचे र मलाई पनि एउटा टिकटका लागि आठ आना (दश पैसा) खर्च गर्न उक्साए। मन नलागीनलागी मैले एउटा टिकट किनेँ र कार्यक्रममा गएँ। ती सङ्गीतकारको नाम नारायण राव व्यास थियो। उनले चार–पाँचवटा गीत गाए। तीमध्ये एउटा भजन र दुईवटा शास्त्रीय सङ्गीत थिए। त्यसबाट शास्त्रीय सङ्गीतप्रति ममा नयाँ सोचाइ आयो। त्यस उप्रान्त भारतीय शास्त्रीय सङ्गीत मलाई मन पर्न थाल्यो। फिल्मी सङ्गीत मलाई मन पर्दैन। मलाई यदाकदा रवीन्द्र सङ्गीत पनि मन पर्छ तर त्यो निकै सुरिलो जस्तो लाग्छ र उत्ति जोशिलो पनि हुन्न। रवीन्द्र सङ्गीत नाटकमा पनि राम्ररी मिल्न सक्छ जस्तो लाग्छ। सङ्गीतकारहरुले समूहमा वा नृत्यनाटिकामा गाएको सुनेमा यसको राम्रो पारख गर्न सकिन्छ किनकि यसमा दृश्य प्रदर्शन हुनै पर्दछ। म भारतीय शास्त्रीय सङ्गीत रुचाउँछु। म गजलहरु पनि सङ्गीतका लागि मात्र होइन, तिनको पद र तिनले दिने अर्थका लागि समेत मन पराउँछु।

सङ्गीतशास्त्रसम्बन्धी आफ्नो अनभिज्ञताबारे तपाईंले केही कुरा भन्नुभयो। यसलाई दोहोर्‍याउनुहुन्छ कि? तपाईंलाई सङ्गीत मन पर्नुको कारण यसले उपयुक्त मानसिकता सृजना गरिदिने भएर हो कि?
दुई–तीनवटा रचनाकारलाई छाडी सङ्गीतप्रति मेरो खास लगाव छैन। उदाहरणका लागि चोपिन। मैले उहाँप्रति रुचि राखेँ किनकि उहाँको जीवनी पढें, सिनेमा हेरेँ जसमा उहाँले सङ्गीत सृजना गरेको, रचना गरेको, पोल्यान्डको स्वतन्त्रता–आन्दोलनमा सहभागी भएको, आफ्नो मित्रहरुलाई त्यागी आफ्नी प्रेमिकासँग पेरिसमा बस्न थालेको कुरा दर्शाइएका छन् र यी सबले मलाई उहाँको सङ्गीतको मूल्याङ्कन गर्न एक रोमान्टिक पृष्ठभूमि सृजना गरिदियो। तपाईंलाई थाहै छ, म चोपिनको सौखिन छु भन्ने सुनेपछि पाकिस्तानका लागि पोल्यान्डका राजदूतले मलाई चोपिनका एक सेट रेकर्डहरु पठाइदिएका थिए।

तपाईंको सङ्कलनमा चोपिनको ‘फ्यूनरल मार्च’ पनि परेको छ कि? तपाईंलाई थाहै छ, आर्थर कोस्लरले आफ्नो एउटा पुस्तकमा चोपिनको ‘फ्यूनरल मार्च’ले उनलाई साम्यवादपट्टि आकृष्ट गरेको कुरा लेखेका छन्।
छैन। मैले रोमा रोलाँको ‘जाँ क्रिष्टोफ’ पढेको छु, जुन महान् सङ्गीतकार बिथोभनको जीवनमा आधारित छ। त्यसबाट बिथोभनप्रति मेरो रुचि जाग्यो।

मोजार्ट नि? अथवा, त्यस्तै जोन स्ट्रस र खास गरी उनको अमर रचना ‘ब्लु डेन्यूब’?
म १९४५ मा भियनामा हुँदा ‘ब्लू डेन्यूब’ सुनने मौका मिलेको थियो।

तपाईंलाई मन परेन त?
हो, मन पर्‍यो तर बिथोभन र चोपिनजत्तिको चाहिँ होइन। केही गीतिनाटकहरु, खासगरी वाग्नरका वीरोचित गीतिनाटकहरु मन पराउँछु।

‘रक एन्ड रोल’जस्ता आधुनिक पश्चिमी सङ्गीत कस्तो लाग्छ? तपाईंको यसप्रति पनि रुचि छ कि?
बिलकुलै छैन। त्यस्ता सङ्गीतबारेको सही चित्रण टैगोरले गर्नुभएको थियो। उहाँले बाल्यकालमा चर्को आवाजका पश्चिमेली सङ्गीत सुन्दा दुई रेलहरु जुधेको जस्तो लागेको बताउनुभएको थियो। त्यो टैगोरको अभिव्यक्ति हो। म यस्तो चर्को सङ्गीत रुचाउँन्न। तर केही गीतहरु भने मन पर्दछन्।

तपाईं पल रोब्सनलाई मन पराउनुहुन्छ?
हो, म उनलाई मन पराउँछु। त्यस्तै जोन बेज र केही लोकगीतहरु पनि मन पराउँछु।

विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वरप्रसाद कोइराला

अँ, साँच्ची, पल रोब्सनको ‘भोल्गा बोट्मेन्स सङ’ सुन्नुभएको छ?
छैन। म नाच मन पराउँछु। मेरी पत्नी नृत्यमा औधी रुचि राख्छिन्। उनी मलाई नृत्य कार्यक्रमहरुमा लैजाने गर्थिन्। उनी ठूलै नर्तकी हुन् त म भन्दिनँ तर राम्रो नाच्न जान्ने भने पक्कै हुन्। नाट्यमञ्चमा उनका भावभङ्गिमा यति स्वभाविक र स्वतःफूर्त हुन्छन् कि तिनले नाट्यकलामा उनका जे–जस्ता कमजोरी भए पनि तिनलाई ढाकिदिन्छन्। उनैले गर्दा मैले सबै नाम चलेका रसियन, अङ्ग्रेजी ब्यालेहरु हेरेको छु। सबै सुप्रसिद्ध भारतीय नर्तकनर्तकीहरुका कला पनि मैले देखेको छु। हुन त मेरो रुचि भरतनाट्यम, कत्थक र ओडिसीपट्टि छ। म मनिपुरीबाट उत्ति प्रभावित छैन, यो अलि सुस्त र नीरस हुन्छ।

भाँगडा नि? के तपाई यो अत्यन्त सशक्त र जीवन्त हुन्छ भन्ठान्नुहुन्छ?
यसमा सशक्तता हुन्छ भन्ने त मान्दछु तर यो मलाई मन पर्दैन। म कत्थक रुचाउँछु। मेरी बुहारी त्यस शैलीको नाचमा निकै सिपालु छिन्। नृत्यपट्टि मेरो चाख उदयशङ्करले जगाइदिनुभएको हो। म विद्यार्थी हुँदा बनारसमा उहाँ नाचेको मैले देखेँ। म्याडम सिम्की उहाँको जोडी हुनुहुन्थ्यो र यी दुईबाहेक अन्य कुनै पनि जोडी बढी मिल्दो हुन सक्छ जस्तो मलाई लाग्दैनथ्यो।

चलचित्रहरु नि?
म चलचित्रमा त्यति रुचि राख्तिनँ, न त धेरै सिनेमा हेरेको नै छु। कलेजमा पढेताका केही सिनेमा मन पर्थे, जसमध्ये ‘ब्लू एन्जेल’ एउटा हो। मलाई एभिल जेनिङ्सका चलचित्र मन पर्थे। त्यस्तै ग्रेटा गार्बोका पनि। ती सबै पुराना भइसके। चाल्र्स ब्यायर पनि मलाई मन पर्ने हुन्। जेलबाट छुटेपछि मैले ‘ब्रिज अन द रिभर क्वाई’ हेरेँ र खुबै मन पराएँ।

सत्यजीत रे नि?
मैले उहाँका दुई–तीनवटा चलचित्र मन पराएँ। मैले हेरेको सत्यजीत रेको पछिल्लो चलचित्र ‘शतरंज के खिलाडी’ हो तर यो ‘पाथेर पांचाली’ जत्तिको मलाई मन परेन।

हिन्दी चलत्रिहरु नि?
समष्टिमा हिन्दी चलचित्रहरु मलाई मन पर्दैनन्। तर ‘अंकुर’ र ‘निशान्त’जस्ता दुई तीनवटा चलचित्र मैले रुचाएँ। श्याम बेनेगलका केही चलचित्र मन पर्थे। अर्को एउटा हिन्दी चलचित्र म मन पराउँथे किनभने त्यसका लेखक हाम्रा मित्र हुनुहुन्थ्यो। तयो फणीश्वरनाथ रेणुको ‘तीसरी कसम’ हो, जुन एक जना बङ्गालीको निर्देशनमा बनेको थियो। हिन्दी चलचित्रहरुमा व्यापारिक चलचित्रहरु मलाई मन पर्दैनन्। ती ज्यादै चर्का, अत्यन्त कोलाहलपूर्ण र निकै उग्र हुन्छन्।

(भोला चटर्जीको पुस्तक ‘बीपी कोइरालाः पोट्र्रेट अफ अ रिभोल्युसनरी’को नेपाली अनुवादको अंश)

साभारः नेपाल खबर

Leave a comment

Your email address will not be published.


*