22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

तस्बिर

        रमेश अनुरागी   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     9:47:43 AM  | 89 पटक पढिएको   |  

शुक्रबार बिहानै गाउँबाट बुवाको फोन आयो । दूध लिएर एकाबिहानै बजार पुग्दा फोन हान्नुभएको रहेछ बजारकै पीसीओबाट । बुबाको हातमा फोन थिएन । ल्यान्डलाइनबाट आउने प्रायः फोन बुबाकै हुन्थ्यो ।

बिहानै ३ बजे उठ्ने बानी थियो उहाँको, जब घरमा भैंसी दुहुनो हुन्थ्यो । फोन गर्नेबित्तिकै भन्नुभो, “भोलि शनिबार छ, सक्छस् भने आज साँझसम्म घर आइपुगेस्, एउटा जरूरी काम छ ।” यति भनेर फोन राखिदिनुभो । कलब्याक गरें, १० मिनेटसम्म बिजी आइरह्यो । पछि डायल गरिनँ । मेरो मनमा ढ्यांग्रो बज्यो । मनमा अनेक तर्कना आए ।

०००

मलाई पनि घर पुग्ने अत्यासले छोएको थियो । घर नगएको पनि महिना दिन पुगिसकेछ । भित्तामा टाँगिएको पात्रो हेरें । मंसिर ८ गते शुक्रबार रहेछ । कलेज जान तयार भएँ । बीए दोस्रो वर्षको पढाइ चलिरहेको छ । मंसिरको महिनासँगै ठण्डी सुरू भइसकेको छ । शरीर त चिसै थियो, मन भने तातियो । त्यस्तो के जरुरी थियो र त्यति बिहानै फोन गर्नुभो बुवाले ? मनभित्र आँधीहुरी चलिरह्यो ।

भारी मन लिएर कलेज गएँ । पढ्न मन पनि लागेन । दोस्रो पिरिएड पनि सकिएछ । साथीहरु खाजा खान क्यान्टिन पस्दै थिए । म लुसुक्क कोठातिर हान्निएँ । फेरि त्यही पीसीओमा फोन गरें, उस्तै बिजी थियो । गाउँको एकमात्र पीसीओ भएकाले कहिल्यै खाली हुँदैन । त्यसको सजाय मैले भोगिरहेको थिएँ । खाजा बनाउन जाँगर चलेन । बसपार्कतिरै केही खानुपर्ला भनेर झोला ठिक्क पारें । पर्स हेरें, २५० रुपयाँ रैछ । यति भए त पुगिहाल्छ ! दौडिएर बसपार्क गएँ । जतिसक्दो छिटो घर पुग्ने हुटहुटीले मन भरिएको थियो ।

बसपार्ककै होटेलमा खाजा खाएर बस चढें । सिट प्रायः खाली थिए । फुच्चे खलाँसी जोड-जोडले यात्रु डाक्दै थियो, “जाने हो हजुर छिन्चु-रामघाट-बोटेचौर !” करिब आधा घण्टापछि बस आफ्नो गन्तव्यतिर मोडियो । शरीर केही हलुका भयो । प्रतीक्षाको घडी केही छोटो हुँदै थियो । बस आफ्नै रफ्तारमा अगाडि बढ्यो । बसको गतिजस्तै मेरो मुटु दौडिरहेको थियो । मनमा उठेका तर्कनाको लेखाजोखा यो जुनीभरि गर्न सक्दिनँ । केही नराम्रो भयो कि घरमा ! घर सम्झें । बा–आमा सम्झें । उहाँहरूको बुढ्यौलीतिर शरीर सम्झें।

गानो दुखिरहने आमाको पेट सम्झें । ६० कटिसकेका बुबाको अनुहारका चाउरी सम्झें । सबै आँखा वरिपरि नाचिरहे । भित्र कतै गाँठो परेछ । बेलाबेला झ्यालबाट बत्तिएर आउने स्याँठले मेरो एकाग्रता तोड्थ्यो । बेलाबेला म आफ्नैबारे सोच्थें । मन बसबाट झरेर बसपार्क हुँदै कोठासम्म र त्यहाँबाट कलेजसम्म पुग्थ्यो । कलेजमा सधैं लास्ट बेन्चर थिएँ म । अन्तरमुखी स्वभाव भएर होला- थोरै साथी थिए । पढाइमा कमजोर भएकाले सरहरुको नजरमा पनि खासै परिनँ । पढाइभन्दा क्याम्पसमा हुने साहित्यिक कार्यक्रमले चाहिँ खुबै तान्थे । म कहिलेकाहीँ गजल र कविता कोर्थें- ठट्यौली पाराका । माया पिरतीका । त्यस्तै त्यस्तै । एकान्तमा आफैं पढ्थें । अरूलाई सुनाउन किनकिन धक लाग्थ्यो ।

कहिलेकाहीँ त धक मानिमानी सुनाएको पनि थिएँ । राम्रो प्रतिक्रिया पाउँदा मन उडेर माथि-माथि पुग्थ्यो चङ्गाजस्तै । अनि एकैछिनमा आफ्नै धरातलमा ओर्लेर यथार्थको बाटो नापिरहेको हुन्थें । मनमा अनेक कुरा खेलिरहन्थे, “आज घरबेटीले कोठाभाडा मागेको छ ।” अस्ति घरबाट ल्याएको १५ सय ग्यास भर्दा सकियो । रित्तो गोजी छाम्थें । त्यसै-त्यसै हातखुट्टा गल्थे । अघिल्लो पटक घर जाँदा बाले भन्नुभएको थियो, “अब हाम्रो भर नपरेस् । एउटा जागिर खोजेर खाएस् । यो खेती किसानीले मात्र कति दिन पुग्ला ! अब त तेरो पनि केही गर्ने बेला आयो । तैं त होस् घरको छोरो भनेको पनि ।” जिम्मेवारीबोधले थिच्दै त लगेको थियो तर मभित्र ठूलै हलचल पनि ल्याइदिएको थियो । बुवालाई के थाहा यहाँ जागिर खान कति पापड बेल्नुपर्छ ! कि त एक्स्ट्रा ट्यालेन्ट हुनुपर्छ । मसँग यी कुनै गुण थिएनन् ।

लोकसेवादेखि बोर्डिङ टिचरका लागि जहाँतहीँ आवेदन दिन्थें । सबै ठाउँमा फुस्सा । सबैतिर हारथाक भएर फेरि बुबालाई नै सम्झिन्थें । “हजुर छिन्चु छिन्चु,” खलाँसीले ढ्याप्प ढोकामा हात ब जार्यो । गाडी छेवैमा रोकियो । कोही मानिसहरू ओर्लिंदै थिए, कोही चढ्दै । मलाई बाहिर निस्कने मनै थिएन । सडक दायाँबायाँ तेर्साइएका ठेलागाडीबाट फलफूलको मीठो बासना आइरहेको थियो । कोही चिनेजानेका केही अपरिचित अनुहारहरु देखिन्थे । करिब १० मिनेटपछि फेरि बसले आफ्नो गति लियो ।

रफ्तारमा अगाडि बढ्यो मदानीचौर, गोगनपानी हुँदै । आफ्नै सेरोफेरोको आभासले मन खुसी हुँदै गयो । रातामाटा चोकमा पुगेर गाडी फेरि घ्याच्च रोकियो । त्यहाँबाट हाम्रो घरतिर जाने बाटो लाग्थ्यो । चोकमा उत्रिएर सरासर म अगाडि बढें । बाटोमा कोही चिनेजानेका मानिसहरू पनि जम्काभेट हुन्थे । सोध्थे, “कहाँबाट आयौ कान्छा ?” म नमस्कार गर्दै मुसुक्क हाँसेझैं गरेर जवाफ फर्काउँथें, “सदरमुकामबाट !” मनको आँधीबेहरी बढेर सुनामी भइसकेको थियो । दौडिएर घर पुगें । घरमा कोही थिएन । बा-आमा बारीतिर हुनुहुन्थ्यो शायद । गोठमा एकनासले बाख्रा कराइरहेका थिए ।

आफ्नै आँगन पनि बिरानो लागेको थियो, धेरै दिनपछि आएर होला । कैयौं दिनदेखि लिपपोत नगरिएको भुइँ र भित्ताको माटो उप्किएर माटो थुप्रिएको थियो । मन अमिलो भयो । कठै मेरी आमा कसरी एक्लै घरधन्दा र चुलो चौको गर्दिहुन् ! धेरै बेरसम्म कोही नदेखेपछि मनमा झनै चिसो पस्यो । वरपर पनि कोही देखिनँ । अनेक सोच्दै पेटीमै पल्टिएँ । कतिखेर निदाएछु, पत्तै पाइनँ ।

म उठ्दा आमा ख्वाकख्वाक गर्दै हुनुहुन्थ्यो । “निदाइराथिस्, उठाइनँ!” मुसुक्क हाँस्दै मतिर आउनुभो । ढोगें । भान्छाबाट धूवाँ पुत्ताइरहेको थियो । म आमाकै पछिपछि भान्छा छिरें । आँखा पिरा भए । आमाको मुहार केही उज्यालो देखें । बुवालाई भने कतै देखिनँ । सोधें, “आमा बा खै ? किन यसरी हतारमा बोलाउनुभएको ?” “बा त घाँस लिन जानुभाछ,” मुसुक्क हाँस्दै भन्नुभो, “अब खै के काम हो, आएपछि सोधेस् ।” आमालाई भेटेदेखि नै लागिसकेको थियो- मैले सोचेजस्तो नराम्रो केही भएको छैन । नत्र आमा त्यसरी कसरी हाँस्थिन् मेरोसामु ?

साँझ छिप्पिँदै गर्दा बुबा घाँसको भारी बिसाएर भित्र छिर्नुभो । मैले ढोगें । बुवाको अनुहारमा चाउरी थपिएका थिए । हतार नगरी सोधें, “बा किन यसरी बोलाउनुभएको ? आत्तिएर झन्डै मेरो परान गएन ।” बा मज्जाले हाँस्नुभो । आमा नि चाउरी परेका गाला अझै चाउरी पार्दै हाँस्नुभो ।

बुबा बिस्तारै बोल्न थाल्नुभयो, “यसपालि तेरो बिहे गरिदिने सोचेका छौं ।” म त झसंगै भएँ । भासिएको स्वरमा भनें, “मेरो बिहे ?  कोसँग ?” फिस्स हाँस्नुभो । “तँलाई मन परेकै केटी हो । बैदारकी छोरी कुसुम । केटी शिल स्वभावकी छ । पढेलेखेकी छ । हामीलाई नि त्यो केटी साह्रै मन पर्छ । मन धेरै नडुला । तेरो लगन आ’छ यसपालि । मैले चिना हेराइसकें । बैदारले पनि हुन्छ भनेका छन् । केटी नि राजी छ रे !” मैले मन पराएकी केटी ? कुसुम राम्री छे, बुवाले भनेजस्तै स्वभावकी छे । तर मैले उसलाई कसरी मन पराएँ ? र, यो कुरो बुवासँग कसरी पुग्यो ? मैले ‘मन पराउँछु’ भनेर कहिल्यै कसैसँग भनेको थिइनँ ।

अनेक प्रश्नले मेरो मथिंगल घुम्यो । म केही बोलिनँ । खाना खाएर बुवा बाहिर निस्किनुभो । सुटुक्क आमालाई सोधें, “आमा मैले मन पराएको कसरी भन्नुभो ?” आमा मुसुक्क हाँस्नुभो र भन्नुभो, “तेरो किताबमा बाले कुसुमको फोटो भेट्नुभएछ । हामी लाटालाटी हौं र त्यत्ति नबुझ्ने ?” त्यसपछि आमा अझै जोडले हाँस्नुभो । र, मेरो दिमागमा डेढ वर्षअघिको त्यो दिन आयो, जुन दिन कुसुमले मलाई परीक्षा फर्म भर्न ४ वटा फोटो दिएकी थिई ।

३ वटा फोटो फर्ममै टाँसिदिएँ, बाँकी एउटा किताबमै राखें । पछि भेटेको बेला दिन्छु भनेको थिएँ, बिर्सिएछु । मान्छेहरू भन्छन्– तस्बिर आफैं बोल्छ । यसैगरी त बोल्दो रहेछ तस्बिर ।

साभारः बाह्रखरी

Leave a comment

Your email address will not be published.


*