21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

म मरे पछि (कथा)

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     3:29:32 AM  | 100 पटक पढिएको   |  

-बुद्धिसागर

के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ।
बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको पो रैछु।
जम्मा ३० वर्षको त भएको थिएँ। बेलाबेला घुच्चुकतिर टनटनी दुखिरहन्थ्यो। निद्रा कम भएको होला भन्ठानेको त ब्लड प्रेसर पो बढेको रैछ।

त्यसका पनि रातैपिच्छे अनेकथरि कमसल रक्सी। अनि चुरोटका बट्टा। मुटु त गैसकेको रैछ, यार। अलिअलि त थाह भइसकेको थियो, स्वास्थ्य खराब हुँदैछ। स्वास्थ्य सुधार्न अस्ति भर्खरै ट्रेडमिल किनेको थिएँ। अठार हजार हालेर। हिँउदे झरीझैं बेलाबेला बर्सिने तलब साँचेर। पसिना खलखली बगाएको थिएँ। अब त स्वस्थ हुन्छु, भन्ठान्दै थिएँ। सास त गैगयो।
बिहान उठ्दा अरू बेलाभन्दा ज्यान तंग्रिएको थियो। झ्यालबाट घाम पसिसकेको थियो। घडी हेरेँ, सवा आठ भैसकेको रैछ। बाथरुमतिर लाग्दा भनन्न रिङटा चल्यो। थचक्क बसेँ। सत्य, मैले जन्मेदेखि हिजो सुत्दासम्मका घटना झल्झली सम्झेँ। फिल्म उल्टो गरी प्रदर्शन भएझैं। मेरा कानमा एकाएक जिन्दगीभरि सुनेका र बिर्सेका शब्द एकाएक उच्चारण भए। जुरुक्क उठेँ। पिसाबले च्यापेको थियो, फेरेँ। बाथरुममा तुरुर्र आवाज आयो, तर पिसाब खै?
मरेपछिका लक्षण त यिनै पो हुँदा रैछन्।
मैले आत्तिएर बाथरुमको ऐना हेरेँ, अनुहार नै देखिएन। फिलिममा त भूतको असली स्वरुप ऐनामा देखिन्थ्यो, यत्रो साँचो हुनु त्यो कुरा! मरेकाले स्त्रि्कप्ट लेखे पो! मरेको मान्छे ऐनामा देखिदो रैनछ, मैले थाह पाएँ।
मैले आफ्नै आँखा अगाडि हिरिक-हिरिक गर्दै मरेका मान्छे देखेको थिएँ। म खुसी भएँ। किनभने, मैले त्यसरी मर्न परेन। स्वादले मरेँ।
गर्नुपर्ने कत्ति काम थिए! संसारै खाने किताब लेख्छु भन्थेँ, अब मरेपछि केको लोभ? काठमान्डुमा घर बनाउन सकिन्न भनेर भुटभुटिरन्थेँ, मरेपछि के घर के डेरा! यत्रै सित्ति।
१० वर्षदेखि हृदय कुटुकुटु खाने समस्याहरू एक्कासि खलास भएका थिए।

संयोगबस, बिहान बत्ति थियो। थोत्रो कम्प्युटर खोलेँ। खै कसको हो, वायरलेस इन्टरनेटको सिग्नल मेरो कोठासम्म आउँथ्यो, म त्यसैलाई युज गर्थें। आज पनि कनेक्ट गरेँ। छिरेँ उही फेसबुकमा। साथीहरू, बिहानैदेखि संविधानको थपिएको ३ महिनाबारे व्यंग्य र भावुकताले भरिएका स्टाटस पोस्ट गरिरहेका थिए। मलाई पनि एउटा स्टाटस जमाएर दिऊँजस्तो लाग्यो। होस्, मरेपछि के देश, के संविधान, के धरति लोक!
सबैभन्दा खतरनाक स्टाटस पोस्ट गरेँ।
साथी हो, हिजो राति म त मरेछु। यो नै मेरो अन्तिम स्टाटस हो। मेरो जीवनमा गाँसिने सबैलाई धन्यवाद।
यस्तो स्टाटस त अहिलेसम्म कसैले पोस्ट गरेको थिएन होला। मरेपछि पनि अलिकति घमण्ड जाग्यो। पिलिक्क एउटा कमेन्ट आइत हाल्यो। करिब चार वर्षदेखि मैले पछ्याएकी र फेसबुकको मेरो स्टाटसमा अहिलेसम्म एउटा पनि लाइक नगरेकी झुम्पाको पो रैछ। मरेपछि पहिलोपल्ट मुसुक्क हाँसेँ। उसले लेखेकी रैछ- ‘हाहाहा, तिमी पनि कस्तो। ब्यान ब्यान कस्तो स्टाटस लेखेको? हरेक नेपालीको जीवन मरेजस्तै भको छ। हाहाहा।’
मैले च्याटमा उत्तर दिएँ, ‘सत्य, म त साँच्चै मरिसकेँ।’
‘पक्का हो?’
‘हो।’
‘म कल गर्छु।’ उसले लेखी।
एक्कैछिनमा उसको फोन आयो। मैले उठाएँ।
‘तिमी यत्ति चाँडै मरौलाजस्तो लागेको त थेन।’ झुम्पा रोई, ‘तिम्ले लाइन मारेको पनि थाह थियो। के गर्नु, यसो नखरा देखाएँ। तैपनि भन्दिहालूँ, म तिम्लाई मन पराउँथँे। अब त मरिहालेऊ।’
मेरो गला अवरुद्ध भो। आँखा ताता भए। आँखा छामेँ, सुख्खा थिए। भनेपछि, मरेपछि आँसु आउँदो रैनछ।
‘म पनि माया गथर्ें।’ मैले मसिनो आवाजमा भनेँ, ‘मरिहालेँ। भन्न सकिनँ। यस्तै रैछ जिन्दगी। अर्को जुनीमा तिम्रो हुने भएँ।’
‘स्योर। अर्को जुनीमा।’ उसले भनी र सोधी, ‘अनि पशुपति कति बेला जान्छौ?’
‘दिउँसोतिर। आऊ है त!’
‘पक्का।’ उसले फोन राखी।
लौ, फेसबुकमा त कमेन्टको पर्रा नै छुटेछ। ४ सय २१ जनाले लाइक गरेछन्। कमेन्टको संख्या पनि सय नाघेछ। यत्ति धेरै रेस्पोन्स त मैले जन्मदिनमा पनि पाएको थिइनँ।
कमेन्ट पनि अचम्मैका थिए।
नयाँ क्षितिजतिरको शुभयात्रा।
यो मुलुकले तपैंजस्तो प्रतिभाशाली मान्छे गुमायो। दुःखी छु।
लौ न, के सुन्नुपर्‍यो?
ल दाइ, जे होस्। आफू मरेको कुरा आफंैले पोस्ट गर्नुभो, धन्यवाद। यो स्वर्ग-नर्कको कुरा के रछ। लेखिरहनुहोला।
हसाउँछ यार यो मान्छे पनि। ब्यान ब्यान कस्तो जोक गरेको!
अफिसतिरबाट केही साथीले कमेन्ट लेखिभ्याएछन्, ‘भरे, निमेशको ममः पसलमा चिया पिउँदै गफ गरौंला। अन्तिमपल्ट तिम्रो गफ सुनेर हाँस्न मन छ।’
र, एउटा छद्मनामीको कठोर कमेन्ट पनि रैछ, ‘ठिक भो। रद्दी किताब लेखेर मजस्तो कोई लेखक छैन भनेर धाक दिन्थिस्। गैछस्। नेपाली साहित्यको भलो भो।’
सुरुमा यो कमेन्टले चित्त दुखेको थ्यो। मन सम्हालेँ। यत्रैसित्ति, मरेपछि पनि के चित्त दुखाइरहनु!
फेसबुकमै थिएँ। मोबाइलको घन्टी बज्यो।
मित्र पाउलो रैछन्। पाउलोसित हिजै खड्डु केन्द्रमा मदिरापान भएको थियो। उनैले रक्सी ख्वाउने भएका थिए। म चियामा त पैसा खर्च नगर्ने मान्छे, रक्सीमा त के पैसा चुहाउँदो हुँ र? हाम्ले देशको चिन्ता गर्दै तुरुक्क आँसु झारेका थियौं।
‘हेलो कविजी।’ उताबाट हतारिएको आवाज आयो, ‘के हल्ला चलेको, तपैं मरेको भन्ने!’
‘हो, म त मरिसकेँ।’
‘लौ यस्तो पनि हुन्छ।’ उनको भावुक आवाज, ‘हिजो त्यत्रो समय सँगै बसियो, भन्नुपर्दैन? अनि सुटुक्क मर्दिने? मैले अरूबाट सुन्नुपर्ने तपैं मरेको खबर? तपैंले मलाई आफ्नो मित्र नै ठान्नुभको रैनछ। मेरो हृदय चिरियो।’
‘होइन, त्यस्तो होइन।’ मैले कुरा सम्हालेँ, ‘मैले पनि अघि भर्खरै थाह पाएँ, आफू मरेको कुरा। फोन गरुँला भन्दैथेँ।’
‘ल जे भो, भो।’ उनी सम्हालिए, ‘मलाई त तु भेट्न आऊँ जस्तो लागेको थियो तर आज बन्द पो रैछ। बाइक त जलाइनै हाल्छन्। पर्खिनु किवजी, म हिँडेरै आउँछ।’
‘म पर्खिन्छु।’ मैले भनेँ, ‘अरू साथीलाई पनि खबर गर्छु।’
उनले फोन राखे।
मैले केही आफूसित गाँसिएका मान्छेको लिस्ट बनाएँ। बीस जना जतिको। र, आफू मरेको कुरा एसएमएस गरेँ। लेखक भएकाले किताब विमोचनबाहेक अरू बेला साथीलाई निमन्त्रणा गरेको थिइनँ। आफू मरेको खबर पनि पुस्तक विमोचन शैलीकै भयो।
आदरणीय साथीहरू, आज बिहानै मैले जटिल जीवनबाट मुक्ति पाएँ। म मरेँ। यो जीवनकालमा अन्तिमपल्ट तपैंहरूलाई मेरो मृत्यु उत्सवमा सहभागी भइदिन, अनुरोध गर्दछु।
तपाईंको उही मित्र
स्थानः पशुपति आर्यघाट।
समयः दिउँसो ३ बजे। म ठिक टाइममा जल्नेछु।

अनि मित्र हारुकीलाई छुट्टै म्यासेज गरेँ, ‘तुरुन्त मेरो कोठामा आइज। म मरिसकेँ।’
बार्दलीमा बसेर चुरोटको सर्को तानिरहेँ। बन्द भएकाले सडकमा कमै मान्छे थिए। हतार-हतार हिँडिरहेका थिए। चर्को गर्मी थियो। सोच्न थालेँ- जिउँदै सुतेको मान्छे उठ्दा त मरिसकेको हुँदो रैछ। के रैछ जिन्दगी! किन हतारिएका होलान् मान्छेहरू यसरी?
मोबाइल बज्यो। एसएमएस रैछ। पठाउने मेरी विवाहित प्रेमिका रैछन्। लामो समय भेटघाट भएको थिएन।
खाना बनाउँदै थिएँ। तिम्रो खबर पाएर दुःखी भएँ। एकपल्ट तिम्रो अनुहार हेर्न मन छ। तर, आज बन्द परेछ। मेरो श्रीमान घरमै छन्। आउन गाह्रो होलाजस्तो छ। तिमी मेरो समस्या बुझ्छौ। प्लिज, आज पशुपति नजाऊ। जसरी हुन्छ एकदिन म्यानेज गर।
म खिस्स हाँसेँ।

मरेको दिन के फोहरी भएर बस्नु! फेरि घरपरिवारका मान्छेहरू कोठा खानतलासी गर्न आउने होलान्। मैले कुनासुना सफा गरेँ। ओछ्यानको तन्ना र ब्ल्यान्केट मिलाएँ। नुहाएँ र सेतो सर्ट लगाएँ। सुद्ध भाको के!
चिया पिउन निस्कनुपर्ला भन्ने सोचिरहेको थिएँ, मित्र हारुकी हतारिँदै आइपुग्यो। उनको अनुहारबाट चिटचिट पसिना निस्किरहेको थियो। मलाई हेर्दै एकपल्ट अमिलो हाँस्यो र कोठाको कुनापट्टिको कुर्सीमा थ्याच्च बस्यो। घुटुक्क थुक निल्यो।
ऊ कसरी कुरा सुरु गरूँ भनेर अल्मिलिइरहेको थियो। बिचरा मेरो मित्र। सोध्यो, ‘सन्चै?’
‘मरेको मान्छेलाई के सन्चो, के बिसन्चो?’
ऊ खिस्स हाँस्यो।
‘घरबेटीलाई पनि खबर दिनुपर्ने।’ मैले भनेँ, ‘भक्तपुर बस्छन्। होस्, पछि फोन गर्छु। कि चिठी लेख्दिन्छु, तँ पुर्‍याइदिन्छस्?’
उसले मुन्टो हल्लायो।
‘तीन महिनाको भाडा पनि तिर्नु छ, दुई महिनाको दिनुपर्ला। मरेकोलाई त एक महिना माफ गर्लान्, हैन र?’
मित्र अचम्भित भयो।
‘कि नदिऊँ?’ मैले सल्लाह मागेँ।
‘कस्तो कुरा गरेको!’ मित्रले भन्यो, ‘मरेपछि के काम पैसा! दे, पूरै दे। मेरो पैसा खाएर मर्‍यो भन्ने किन पार्नु!’
मैले मुन्टो हल्लाएँ।
हारुकीले मेरो कोठाको सप्पै सामान एकएक गर्दै हेर्‍यो। कुनातिर एउटा भरि ग्यासको सिलिन्डर राखेको थिएँ, समस्या पर्छ भनेर। उसले सिलिन्डरलाई प्रेमिकाको गालाझैं सुम्सुम्यायो र भन्यो, ‘यो सिलिन्डर म लैजाऊँ?’
‘बल्लतल्ल पन्ध्रसय घुस दे र ल्याको चिज!’ म झस्किएँ।
‘तँ त मरिसकिस्, किन चाइयो?’ उसले भन्यो, ‘म जिउँदोलाई दे र जा।’
ए, हो त। मैले भनेँ, ‘लैजा। तर एउटा सर्त छ, आज दिनभरि मसितै हुनुपर्छ।’ उसले फेरि सिलिन्डर मज्जाले सुम्सुम्यायो र मतिर हेर्दै हाँस्यो। जे भए पनि, जाँदा मित्रलाई मैले अमूल्य चिज दे र जाँदै थिएँ। सन्तुष्टिले आत्मा भरिलो भयो। भनेँ, ‘हिँड, चिया पिउन जाऊँ। च्या पसलमा पनि पैसा तिर्नु छ।’
ऊ बाहिर निस्कियो।
मैले ढोकामा ताल्चा लगाएँ। जुत्ता लगाएँ। हामी घरबाट बाहिर निस्कियौं।
मेरो मोबाइल बारम्बर बजिरहेको थियो। म्यासेजको पर्रा नै छुटेको थियो। मैले एउटा-दुइटा त पढेँ, पछि दिक्क लाग्यो। सबैको एउटै भाव त थियो-
तिमी असल थियौ। के गर्नु भगवानले धर्तीबाट असलै लैजान्छ। जसरी हुन्छ म तिम्लाई अन्तिम बिदाइ गर्न पशुपति आइपुग्छु।
एकजनाले त अत्यधिक भावुक भएर लेखनाथ पौड्यालको कवितै पठाएछन्, ‘आयो टप्प टिपेर लग्यो, टारेर टर्दैन, त्यो।’
‘कत्ति आको म्यासेज!’ साथी हारुकी पनि दिक्क भयो।
‘मान्छेको मृत्युमा भावुक हुन्छन् नि त!’ म बोल्दै थिएँ, फोन बज्यो। कहिलेकाहीँ कविगोष्ठीमा भेटिने पिकासोले फोन गरेका पो रैछन्। उनी नेपाल एकेडेमीमा सदस्य पनि छन् क्यारे।
‘महान कविज्यू!’ उनको आवाज अवरुद्ध थियो, ‘मैले भर्खरै खबर पाएँ। भात खाँदैथे, आधै छाडे। दुःख लाग्यो। तपैंजस्तो महान सृजनाकर्ताले यो धर्ती छाडेका दिन, कसरी म भात खान सक्छु र!’
‘धन्यवाद!’ मलाई आफ्नो प्रशंसा सुन्दा बढी बोल्नै आउँदैन।
‘तर एउटा कटु कुरा।’ उनले अझै रुन्चे आवाजमा भने, ‘तपैं नेपाली साहित्यलाई ठूलो अन्याय गर्दै हुनुहुन्छ। सिधै पशुपति जाने कुरा गर्नुभएछ। यसरी जानै पाउनुहुन्न। एकै घन्टा भएपनि एकेडेमी आइदिनुपर्‍यो। तपार्इंका शुभचिन्तकले तपैंको अनुहार हेर्नु परेन? मैले तपैंको व्यक्तित्व र कृतित्वबारे, एउटा भाषन पनि तयार गरिसकेँ।’
ए, भाषन गर्न पो रैछ।
‘धन्यवाद!’ मैले भनेँ, ‘आज नेपाल बन्द छ। म हिँड्न सक्दिनँ। मेरो डेराबाट पशुपति नजिक पर्छ। म उतै जान्छु। उतै आउनुस्।’
फोन राख्ने पाएको छैन। अर्को नम्बरबाट फोन आइहाल्यो। ल्यान्डलाइन थियो। मलाई मेरी विवाहित प्रेमिकाको जस्तो लाग्यो र उठाएँ।
‘साहित्यकारज्यू हो?’ उताबाट पुरुषको मोटो आवाज आयो।
ए, अर्कै पो परेछ। उठाइ त हालेँ।
‘तपैंको अवसानको खबरले हामी लालटिन टिभी परिवार असाध्यै दुःखी छौं।’
‘धन्यवाद!’
‘एउटा कुरा साहित्यकारज्यू!’ उताबाट उत्साही आवाज आयो, ‘एक घन्टालाई हाम्रो टेलिभिजनको स्टुडियोमा आउनुपर्‍यो। तपैंसित लाइभ प्रोगाम गर्ने योजना छ। मृत्युबारे मृतकसित भेटवार्ता शीर्षकमा।’
‘म आउन सक्दिनँ।’ मेले भनेँ, ‘पशुपतिमा मेरा मित्रहरू आउनेवाला छन्। उतै जान्छु। सक्नुहुन्छ भने उतै आउनुस्।’
‘हेर्नुस्, हाम्रो एउटै गाडी थियो। बन्दकर्ताले अघि भर्खरै तोडफोड गरे। हामी आउन सक्दैनौं।’
‘म ३ बजेदेखि पशुपतिमै हुन्छु।’ यत्ति भनेर मैले फोन राखेँ।
मित्र र म चियापसलमा पस्यौं। भीडभाडै थियो। कोही पत्रिका पढ्दैथे, कोही चिया सुर्क्याउँदैथे त कोही चुरोटको धुवाँ बुङबुङति उडाइरहेका थिए। कति त अब देश टुक्रिने भो भनेर चिन्ता गरिरहेका थिए। मित्र र म कुनातिर बस्यौं। चियापसले साउजीलाई भ्याइनभ्याइ थियो।
म ४ वर्षदेखि नियमित ग्राहक थिएँ। त्यसैले साउजीलाई मेरो टेस्ट थाह थियो। उनले मेरा लागि कालो चिया र साथीको लागि दूधचिया ल्याइदिए।
मैले चियाको घुट्को लिएँ। थाह भो, मरेपछि पनि चियाको स्वाद भने उही रहनेरैछ।
‘अनि एउटा कुरा।’ मित्र हारुकीले चियाको एक घुट्कोपछि सोध्यो, ‘मरेपछि त यमदूत लिन आउँछन् भन्थे, साँचो होला र? तँ त मैसित छस्।’
म हाँसेँ।’ त्यै त म छक्क परिरहेको छु। फिलिममा देखाएजस्तो हुन्छ कि भन्ने सोच्या थिएँ, खै आएको छैन। चितामा जलिसकेपछि आउँछ कि?’
साँच्चै यमदुत आयो भने कस्तो होला? फोटो खिचेर फेसबुकमा पोस्ट गर्न पाए क्या रमाइलो हुन्थ्यो।
हाम्ले चिया सक्यौं।
‘साउजी!’ मैले आलुचना पकाइरहेका साउजीलाई भनेँ, ‘मेरो हिसाब-किताब कति भाछ?’
‘तलब आयो र?’ साउजीले डाडु चलाउँदै सोधे।
‘आएको त छैन। अलिअलि जम्मा भएको त थियो, त्यैबाट तिर्न खोजेको।’
‘लौ, आएपछि तिर्नुस् न!’
‘हैन, आजदेखि म आउदिनँ, अन्तै जान लाको।’
‘ए, अमेरिकातिर?’ साउजीले अचम्म मानेर सोधे। अमेरिका शब्द सुन्नेबित्तिकै अरू चिया पिइरहेका मान्छे पनि चनाखो भए। एकजना अधबैसेंले सोधिहाले, ‘हो भाइ, अब यो देश बस्न लायक रहेन। भिसा कसरी पायौ, भाइ?’
‘अमेरिका जान लाको होइन।’ मैले हाँस्दै भनेँ, ‘म त मरेर पो जान लाको।’
‘ए!’ अधबैंसेले भने, ‘सानैमा मर्नुभएछ। बिचरा म त अमेरिका जान लाग्नुभएको

Leave a comment

Your email address will not be published.


*