20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

छोराको बलि (कथा)

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     3:06:09 AM  | 70 पटक पढिएको   |  

लक्ष्मण अधिकारी

‘आमा जेल छुटिन् रे?’ खबर सुन्दा ‘घरमाथि पहिरो आयो’ भनेजस्तै भयो। १२ वर्षकी शिखरा र १० वर्षकी मन्दाराका त्रसित आँखा जुधे। पाँच वर्षको विछोडपछि आमा घर आउन लाग्दा खुसीले मन उत्ताउलो हुनुपर्ने, तर छोरीहरू सिकारीको पासोबाट फुत्किएका मृगजस्तै भयभीत बने। अनुहार नीलोकालो भो। सानी चाहिँ डरले रुनै थाली। एक हातले आँखा मिच्दै ‘म त भाग्छु, आमाले मलाई नि काट्छिन्’ भनी।

काट्ने कुरा सुन्नासाथ शिखरा पनि खङ्रङ्ग भई। ‘साँच्चै आमाले घर आएर फेरि हँसिया उज्याइन भने?,’ मन उथलपुथल भयो। पाँच वर्ष अघिको त्यो घटना फेरि आँखा अगाडि दोहोरिए। त्यही दिनजस्तै सास छिटोछिटो चल्यो। कता कुँदौँ के गरौँ, औडाहा भो। आँखा चिम्ले पनि ती दृश्यहरू सङ्लो तलाउमा माछा चलेजस्तै छ्याङ्ङ देखिए।

त्यो दिन ऊ पँधेरामा मुख धोएपछि आम्खोरामा पानी भरेर आउँदै थिई। पल्लो डाँडामा रातो सूर्य छर्लङ्ग उदाए। बेली फूलको वास्ना मगमग छ। फुरुङ्ग मन लिएर भित्र पस्दै थिई। बँुइगलमा आमाले डरलाग्दो आवाज निकालिरहेको सुनी। मन अत्तालियो, दौडेर भर्‍याङ उक्लिदै गई। पूजा गर्ने ठाउँनजिकै भाइलाई घोप्टो पारेर सुताएको देखेर ऊ टक्क उभिई। आमाको कपाल डरलाग्दोसँग फिँजिएको थियो। कालो टीका लगाएर काम्दै एउटा हातमा हँसिया र अर्को हातमा धुप लिएर भाइ र भगवान वरिपरि घुमाउँदै थिइन्। शिखराको मुटु एक्कासि खुम्चियो। पाइला सरेनन्, शब्द निस्किएन। ऊ भर्‍याङमै थचक्क बसी। आमा घरी ठूलो र घरी सानो स्वर निकालेर मन्त्रहरू पढ्दै थिइन्।

उनको अगाडि रहेका गणेश र देवीलाई फुलपाती, सिन्दुर लगाएर सिंगारिएको छ। एकैछिनमा आमा ठूलो–ठूलो स्वर गर्दै घुँडा टेकेर बसिन् र हँसिया ढोगिन्। शिखराको डर बढ्दै गयो, मुटु काम्न थाल्यो। आमाले हँसिया उज्याएपछि उसको मुटुले ठाउँ छोडेजस्तै भो। चिच्याएर कराउन मन लागे पनि सास रोकेर बसी। त्यसबेला ऊ सात वर्षकी मात्र थिई।

ऊ सम्झँदै गई, त्यसपछि आमा रगत लतपतिएको हँसिया लिएर ‘एई शिखरा’ भन्दै भर्‍याङतिर आइन्। शिखरा हतारिँदै तल भाग्दा भर्‍याङको बीचबाटै चिप्लिएर लडी। चिलले चल्ला समाएझैँ मन्दराको हात समातेर ऊ भाग्दै बारीतिर गई। बहिनी त कुरै नबुझी आत्तिएर दौडिई। उनीहरू कान्लैकान्ला छलिएर तल्लाघरे काकीकोमा लुक्न पुगे। आमाले दुबैलाई नभेटेपछि आँगनमा आएर ठूलो स्वरले बोलाइन्। गोठमा पसेर बाँधिराखेको भैंसीलाई हँसियाले क्वाँकिन्। भैँसी दाम्लो चुडाएर रगत चुहाउँदै बुर्कुसी मार्न थाल्यो। उनले हँसिया लिएर जथाभावी काट्दै हिँडेको हल्ला फिँजियो।

दिउँसो अड्डाका मानिसहरू पनि भेला भएर समाते। आमालाई पाताकसेर लडाएको सुनेपछि छोरीहरू डराउँदै पुगे। शिखरा त्यसबेलाको दृश्य सम्झन्छे, ‘आमालाई घुँडा टेकाएर हात पछाडि लगेर आँगनको मियोमा बाँधेको रहेछ। सबैले गाली गरिरहेको देख्दा मन कसोकसो भयो। भात पनि खान पाएकी थिइनन्। आमालाई दुख्नेगरी बाँधेको देखेर मलाई आमाको धेरै माया लाग्यो। बुनुले आमासँग जान्छु भनी। मैले समातेँ। त्यसबेला मेरो हात कामिरहेको थियो।

गाउँका सदस्य हजुरबाले ‘किन छोरो काटिस् ?’ भनेर सोध्दा आमाले ‘भगवानले दिएका भुरा भगवनालाई नै बलि चढाएर के बिराएँ?’ भन्दै उल्टै कराइन्। त्यसपछि गाउँका अरु मानिसहरुले आमाको कपाल समातेर भुत्ल्याए। कसैले बाँसको लठ्ठीले पिटे। आमा धेरै रोइन्, मायाँ लागेर हामी पनि रोयौँ। आमालाई मार्छन्जस्तो लाग्यो। नाङ्गो ढाडमा लठीले त्यसरी नहानेको भए नि हुन्थ्योजस्तो भयो। आमाले रुँदै ‘ए शिखरा भाइलाई ले म दुध खुवाउँछु भनिन्।’

बिहानै आमाले भाइलाई काटिसकेकी थिइन्। अहिले किन त्यसो भनिन्? मैले बुझिनँ। भोलिपल्ट प्रहरी आएर आमालाई जेल हाल्न तमघासतिर लगे। बुनु परसम्म पछ्याउँदै गई, काकाले समाते। मैले आमालाई तल पुर्‍याउँदासम्म जस्केलाबाट हेरिरहेँ। घाँटी सुनिएजस्तो भयो, ओठ बटारिए। निकैबेर त्यहीँ बसेर घुँक्कघुँक्क गरेँ। पछि बैनीलाई पनि मैले नै फकाएँ।

गाउँका मान्छेहरूले ‘धामीसँग पोइल जान छोरा काटेकी हो, छोरीहरू चाहिँ भागेर बाँचेछन्’ भनेर बात मारेको सुनेँ। तर, आमाले त्यसो गर्न लागेको हो होइन मैले बुझेको थिइनँ। त्यसपछि हाम्रो घर सबै बिग्रियो। आमा सम्झेर एकछिन मन कहालिन्थ्यो अनि एकैछिनमा मायाले रुन मन लाग्थ्यो। ‘आमा कहिले आउँछिन्?’ भनेर बुनुले सोधेपछि मन थामिदैनथ्यो, दुबै रुन्थ्यौँ।

शिखराको मानसपटलमा त्यसअघिको अवस्था चलचित्रजस्तै दृश्य बनेर लहरै आइरहेका छन्। पाँच वर्षकी बुनु उसको पछिपछि झोला बोकेर सँगै स्कुल जान्थी। भर्खर बामे सर्न थालेको भाइ बिहान रोएर बिदाइ गथ्र्यो भने साँझ सधैँ आँगनमा आएर ङिचिक्क गर्दै हाँस्थ्यो। तर, आज सानो भाइ यस दुनियाँमा छैन। रक्ताम्य काहालीलाग्दो त्यो पूजा कोठा। स्मृतिका पाना पल्टिनासाथ उसको मुटु थर्थरिन्छ, डल्लो परेर फुट्लाजस्तो हुन्छ।

ऊ सम्झन्छे, सानो भाइ, एउटी बहिनी, माया दिने आमा र छहारी दिने बा साँच्चै रमाइलो परिवार थियो। छोराछोरीलाई अझ सुख दिने भन्दै उसका बा झोला बोकेर मलेसियातिर लागेपछि भने उनीहरूको परिवार काँच फुटेजस्तै चकनाचुर भयो।

ऊ सम्झन्छे, ‘बा गएपछि एक दिन भाइ असाध्य बिरामी भयो। हामी सबैले पिर गर्‍यौँ। म केही गर्न त सक्तिन थेँ तर भाइलाई एकोहोरो हेरेर नजिकै बसिरहेँ। आमाले गाउँकै धामी बोलाइन्, उनले ‘पिसाच लागेको हो’ भने। केही दिन बेलुका बेलुका आएर फुकफाक गरे र एउटा भाले पनि काटे। औषधि पनि खुवाएपछि एक हप्तामा भाइ ठीक भयो। धामीले आमालाई पनि ‘तन्त्रमन्त्र सिकाइदिन्छु, मसान जगाउन कालो बोको चाहिन्छ’ भने। साँच्चै आमा तन्त्रमन्त्र सिक्न थालिन्। रातिराति मसानघाट जाने, ढ्याङ्ग्रो ठोकेर बक्ने गर्न थालिन्। तर, काकाहरूले आमा रातिराति अर्कासँग मसानघाट गएको मन पराएनन्। केही दिनमै आमा धामी भएको, देवी चढेको गाउँभरि हल्ला चल्यो।’

‘बा ले मलेसिया गएपछि सुरूमा ‘निकै रमाइलो छ, कमाइ पनि ठीकै छ’ भनेर खबर गरे। यो सुनेर हामी औधी खुसी भयौँ। मैले स्कुलमा नयाँ झोला लगेँ, सबैले तारिफ गर्दा मन फुरुङ्ग भो। तर, यो पानीको फोकाजस्तै भो। छ महिनामा एकपटक पैसा पठाएपछि एकैचोटी बा मेसिनमा बेरिएर बितेको खबर मात्र आयो।

‘धेरै दिनसम्म मरेका बालाई त्यहीँ बाकसमा राखेका छन् भन्थे। पछि नेपाल ल्याउन खर्चले पुगेन भनेर जिल्लातिरकै काकाहरूले उतै सदगद गरिदिए भन्ने मात्र सुनियो। त्यसपछि हामी टुहुरा भयौँ, आमाले निकै सुर्ता गरिन्। आमा मध्यरातमा खोलामा गएर नुहाउने, पूजा पाठ गरेर बस्ने, छटपटाउने, कराउने गर्न थालिन्। हामीसँग पनि झर्को मान्ने, पकाएको पनि नखाने, एकोहोरो हुने भइन्। धामीले आमालाई मुहुनी लगाएर बिगारेको भन्ने हल्ला चल्यो। बा बितेपछि आमालाई धामीले भगाउनलाई अनेक टुनामुना गरेको भन्ने पनि भयो। केही दिनपछि धामी मधेसतिर गयो भन्थे। आमा पनि केही दिनमा त्यसैसँग हिँड्छे भन्ने गाइँगुइँ सुनियो। म निकै डराएँ।’

‘एक दिन आमाले मध्यरातमा खोलाबाट आएर हामी सबैलाई उठाइन्, आफ्नोसामु देवी प्रकट भएको, अव भविष्य थाहा पाउन सक्ने, जे पनि गर्न सक्ने भनिन्। साक्षत् देवीले कानमा आएर सबै कुरा भन्ने गरेको सुनाइन्। कसैकसैले हाम्री आमा माता बनेको भनेर हेराउन, देखाउन पनि थाले। तर, हामीलाई भने परपर गर्न थालिन्। आमा बिहानभरि पहेँलो मजेत्रो ओडेर पूजा कोठामा बस्न थालिन्। आमाले हाम्रो वास्ता नगरेपछि हाम्रो खाने, स्कुल जाने सबै क्रम बिग्रियो। म र बुनुले बालाई धेरै सम्झियौँ। बा फर्केर नआउने भइसकेका थिए तर पनि बुनुलाई अझै बा आउँछन् भन्ने थियो। उसले आश गरेको देखेर मलाई रोउँरोउँ लाग्थ्यो।’

पाँच वर्षअघि जेल गएकी आमा अब छुटेर आउन लागेको सुन्दा मनभित्र कहीँ खुसी भएजस्तो पनि हुन्छ तर आमाको त्यो भयानक रुप र रक्ताम्य पूजा कोठा सम्झिएपछि भने दुबैको मुटु एक्कासि ढुकढुकिन्छ।

‘भोलि तिमर्की आमा आउँदैछिन्’ भनेर काकाले सुनाएपछि दुबै दिदिबहिनी छटपटीमा छन्। अब के हुने हो उनीहरूले बुझ्नै सकेका छैनन्।

पुलिसले लगेपछि आमालाई जन्मकैद गर्नुपर्ने माग राखेर मुद्दा चलायो। सुरूमा उसको पक्षमा बोलिदिने कोही भएनन्। पछि एउटा संस्थाले उनको पक्ष लिएर मानसिक असन्तुलन भएकाले कैद माफी हुनुपर्ने, सरकारले उपचार गरिदिनु पर्ने माग राख्यो। यो सुनेर गाउँका मानिसहरू हाँसे, कसैले पत्याएनन्। तर, अन्त्यमा यस्तै भयो। अदालतले ‘सरकारले उसलाई जेलमै राखेर उपचार गरिदिनुपर्ने र ठीक भएपछि निगरानीमै रहनेगरी छोड्नुपर्ने’ फैसला गर्‍यो। लामो उपचारपछि उनी स्वस्थ बनेकाले स्थानीय स्वास्थ्य संस्थाको निगरानीमा आफ्नै घरमा बस्न पाउनेगरी छुटकारा भयो।

उनी घरतिर लागिन्। कतिखेर घर पुगेर छोरीहरूलाई अंगालौँ भनेर मन आत्तियो, सास बढ्यो। तर, छोरीहरू उनको अगाडि पर्न नपाए हुन्थ्यो भनेर हडबडाइरहेका छन्। आमा घरमा पुग्दा छोरीहरू घरमुनी बारीमा काम गर्दैथिए। अरु दुई जना मानिससँगै आमा घरमा पसेको देखर छोरीहरू खङरङ्ग भए। अब के गर्ने? उनीहरू अलमलमै थिए। आमा कोरीबाटी गरेर पहिलेभन्दा राम्री भएर आएकी थिइन्।

भित्र पस्नासाथ ‘मेरा छोरीहरू खोई?’ भनेर अत्तालिएर कराइन्। उनी बुइँगलमा गएर डाको छोडेर बरबराउँदै रोएको बाहिरै सुनियो। आमा रोएको सुनेर मन्दरा पनि सुँक्कसुँक्क गर्न थाली। एकछिन त दिदिबहिनी बारीमै थचक्क बसेर सुँकसुकाए। आमा लगातार रोएको सुनेपछि उनीहरूले खप्न सकेनन्, डराउँदै भित्र गए। छेऊमा पुग्दा आमाले रुँदै अँगालो मार्न खोजिन्, तर शिखराले परै बसेर ‘हाम्रो भाइलाई किन काटेको?’ भनी। ‘मलाई कसले त्यसो गर भन्यो थाहै पाइनँ, बेहोसीमै ठूलो बिगार गरेँछु। मेरो पनि त छोरो हो नि? बुबु खाइरहेको छोरालाई छिनाउने कोड परेका यी हात’ भन्दै भुइँमा बजारिएर रुन थालिन्। मन्दरा, ‘आमा हामीलाई नकाट्नु है, तपाईँलाई फेरि बाँधेर कुट्छन्’ भन्दै काखमा बस्न गई। यो देखेर शिखराले पनि खप्न सकिनँ। ‘आमा मलाई मेरो बा र भाइको धेरै याद आइरहेछ’ भन्दै अँगालो मारेर रुन थाली। वातावरण निकैबेर हृदयविदारक बन्यो।

सुरूमा ठीकै भो। दुई हप्तापछि आमाको व्यवहार अलि फरक भयो। उनले नियमित खानुपर्ने औषधिका पोका फुकाएकै रहेनछ। उनी चिडचिड गर्ने, कम बोल्ने, राति ननिदाउने, छटपटछटपट गर्न थालिन्। एक महिनापछि एक दिन आमा निकैबेर घरभित्रै हराइन्। छोरीहरूले खोज्दै जाँदा आमालाई बुइँगलमा पटुकाको पासो लगाएर झुन्डिइरहेको देखे।

Leave a comment

Your email address will not be published.


*