24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

आई हेट यू (कथा)

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     2:44:30 AM  | 106 पटक पढिएको   |  

भानुभक्त

ऊ यसरी हाँस्थी, मानौं संसारका सारा खुसी ल्याएर उसले उसको अञ्जुलीमा राखिदिएको छ।

‘कति बेस्सरी हाँसेको। सबै जना हामीलाई हेर्दैछन्’, ऊ साउती गर्थ्यो।

ऊ मुख बिगार्थी र आँखा तर्दै ठुस्किन्थी – हेर्न देऊ, मन परेको मान्छे भेट्दा दिल खोलेर हाँस्न पनि नपाउनु?

शनिबार साँझपख उनीहरू कफी सपमा भेटिन्थे। उसलाई लाग्थ्यो– शनिबार हप्तामा दुई चोटी आउने भइदिए क्या मजा हुन्थ्यो।

हिउँदका चिसा दिनमा कफी सपबाट कहिलेकाहीँ देखिन्थ्यो, सेताम्य हिमाल। ऊ देखाउँथ्यो हिमाल र भन्थ्यो – ऊ त्यही हिमालको फेदमा छ मेरो गाउँ।

काठमाडौंमा जन्मे हुर्केकी ऊ धेरै टाढा पुगेको त्यही मनकामना त हो। कलकल बग्ने खोला, मैला लुगा लगाएका अनुहार, साँघुरो बाटो देखेको उसले टिभी र फिल्ममा मात्र हो। मनमनै ऊ कल्पना गर्थी कस्तो होला, उसलाई मन पर्ने मान्छेको गाउँ। पहाडको फेदमा पत्थरले छाएको, रातो र कमेरो माटोले लिपेको अनि यताउति मकै झुण्ड्याएको घरको पेन्टिङ उसले आफ्नो कोठामा राखेकी थिई। उ सोच्थी– यस्तै होला पहाडको फेदमा यो मान्छेको घर।
तर उसले कहिल्यै भनेन घरका बारे।
***
डिग्री पढ्न कीर्तिपुर आएको ऊ डिग्री कम आयोग धेरै पढ्थ्यो। हिउँदको मधुरो घाममा छतमा कालो फम ओछ्याएर दिनभरि पढ्थ्यो, बाक्ला बाक्ला किताब। घरि हिँड्दै पढ्थ्यो। घरि बसेर पढ्थ्यो। घरि सुतेरै पढ्थ्यो। उसको अंकलको घरमा उसको डेरा थियो। ऊ कोठाबाट देख्थी उसका हाउभाउ। जिल खान्थी, उसले पढेको देखेर। सोच्थी – गाह्रो रैछ जागिर खान, त्यही भएर त गमक्क पर्दा रैछन् सरकारी कर्मचारी।

एकदिन उसले झ्याल खोली र खोकी। तर उसले हेरेन। सिटी मारिदिई। उसलाई त्यसले पनि केही असर पारेन। ऊ यसरी पढिरहेको थियो। मानौं एक सेकेण्ड पनि पढेन भने उसको जागिर अर्कैले खाइदिनेछ।

हिम्मत जुटाएर उसले बोलाई – त्यसरी के पढेको? उसले बोलेन। किताबको कभर देखाइदियो। मोटो किताबमा लेखिएको थियो – प्रशासनिक अभिरुची परीक्षण। ऊ फेरि पढन थाल्यो।

ऊ मनमनै हाँसी– कस्तो पढन्ते रैछ। यत्रो साइड मार्दा पनि चालै पाउँदैन। कति बेपरवाह थियो ऊ अरुप्रति अनि कति लगनशील थियो, पढाइप्रति।

अर्कोदिन ऊ फेरि आयो छतमा हातमा कालो फम बोकेर। उसले झ्याल खोली। हेरी। तर उसले प्रतिक्रिया जनाएन। कागजको टुक्राले उसलाई हानीदिई। टाउकोमा लागेको कागज उसले खोलेर हे¥यो। एकछिन आँखा त¥यो। मोबाइल निकाल्यो। केहीबेरमा उसको मोबाइलमा म्यासेज आयो – आई हेट यू।

उसले रिप्लाई लेखी– इट्स ओके। लभ एण्ड हेट आर टु साइड्स अफ द सेम क्वाइन।

उसले जवाफ फर्काएन। बरु अर्को दिनदेखि छतमा आउनै छोडिदियो।

ऊ छतमा नआउँदा नियास्रो लाग्थ्यो उसलाई। कहिले देख्थी। इनारको पानी तानेर ऊ ओठ चलाउँदै बाटामा ल्याएर भाँडा माझिरहेको हुन्थ्यो। ऊ खोक्थी। जीभ्रो पड्काउँथी। अहँ, ऊ फर्केर हेर्दैनथ्यो। उसलाई कति धेरै बेवास्ता गथ्र्यो ऊ। उसको त्यही बेवास्ताले उसलाई बेचैन बनाइदिएको थियो।

छ महिनापछि एकदिन अफिसबाट फर्किँदा उसको मोबाइलमा म्यासेज आयो– मेरो कोठामा आज पार्टी छ। निम्तो मानेर आउनु। नामै सोध्न नपाएकी उसले मोबाइलमा उसको नाम हेटर सेभ गरेकी थिई। एमबिए सकेर एउटा प्राइभेट बैंकमा ऊ जागिर खान थालेकी थिई। जागिरे चटारोले हेट गर्ने मान्छेलाई जिस्काउले उसलाई फुर्सद मिलेको थिएन। कैयौंपल्ट म्यासेज पठाएकी थिई, उसले। जवाफ नआउने थाहा हुँदाहुँदै पनि ऊ लेख्थी– ह्वेर आर यु? छतमा किन आउँदैनौ अचेल? उसले एकचोटी फर्काएको थियो म्यासेजको उत्तर। र, लेखेको थियो तिनै तीन शब्द– आई हेट यू। उसको उत्तर रेडिमेड थियो– इट्स ओके। लभ एण्ड हेट आर टु साइड्स अफ द सेम क्वाइन।

अफिसबाट सिधै उसको कोठामा गई ऊ। उसले खसीको मासु पकाएको थियो। एक लिटर दही ल्याएको थियो। अलिकति फलफूल पनि राखेको थियो। सुरुमै उसलाई लड्डु खुवाएर उसले भन्यो– म अधिकृत भइसकें। यी नियुक्ति पत्र।

क्लियर ब्यागबाट नियुक्ति पत्र निकालेर देखाउँदै उसले थप्यो– आमाबुवाले गाउँमा भोलि खसी काटेर भोज खुवाउने भनेका छन्।

उसलाई घृणा गर्छु भन्ने सन्देश पठाउने मान्छेले जिन्दगीका सारा खुसी एकै सासमा उसका सामू राखिदियो। उसले लड्डु एकै गासमा निली र भनी– आइ लभ यू।
ऊ अक्क न बक्क प¥यो, बोल्नै सकेन। त्यो साँझ उनीहरूले सँगै खाना खाए। पत्रिकाले बेरेको एक बोतल निकालेर उसले भन्यो– आयोग पढ्न थालेदेखि छोएको थिएनँ। आज खान्छु।

उसले भनी– म गिलासमा हालिदिन्छु। दुई गिलासमा उसले रक्सी राखी।
‘तिमी पनि खान्छौ?’
‘कहिलेकाहीँ खान्छु तर यत्रो खुसीमा नखाएर कसरी बस्न सक्छु?’
ऊ मुस्कुरायो। दुबै जनाले गिलास ठोके। रक्सीको नसामा उसले आफूलाई उसकासामू सुम्पिदिई। उसले सुम्पिई आफूलाई तर उसले सम्हालेन। काखमा पल्टिएकी उसलाई उसले भन्यो– घृणा गर्न जति सजिलो छ, माया गर्न त्यति नै गाह्रो छ। म सक्ने वाचा मात्र गर्छु, अहिले नै म तिमीलाई माया गर्छु भन्न सक्दिनँ। रिकुटे प्रेममा मलाई विश्वास छैन।

उसलाई अलिअलि लागेको नसा उत्रियो।

मुख बिगार्दै उसले अर्को चुस्की लिएर थप्यो– काठमाडौंमा घर, भित्तामा यत्ति ठूलो टिभी, फ्रिज, लुगा धुने मेसिन, सोफा टक्क सबै व्यवस्था भएसी माया गर्ने हो। मायामात्र के बिहे नै गर्ने हो। त्यसपछि गर्ने हो सबथोक सुहागरातमा।

जुन कुरा उसले जन्मेदेखि नै पाएकी थिई उसका लागि त ती कति ठूला सपना रहेछन्। सोचेर ऊ हैरान भई।

***
त्यो दिन पनि शनिबार थियो। ‘एक बजेसम्म काम गर्नुपर्छ अफिसमा। ओटी आउँछ। त्यसपछि गार्डेन अफ ड्रिम्समा भेटौंला, एकबजेतिर आउनु’ बिहानै उसले मोबाइलमा म्यासेज पठाएको थियो। जागिरे भएसँगै कीर्तिपुर उसले छोडिसकेको थियो। दुबै जागिरे भएकाले भेट प्रायः शनिबार मात्र हुन्थ्यो। कहिल्यै ऊ शनिबार पनि अफिस गइदिन्थ्यो ओटी आउँछ भनेर।

त्यो दिन बिहानैदेखि उसलाई हतारो भयो। नुवाइधुवाई गरी। खाना खाई। कुर्ता सुरवाल लगाई। कपाल कोरी। परेलामा गाजल लगाई। ओठमा गुलाबी लिपिस्टिक घसी। ऐना हेरी। फेरि कपाल मिलाई।
राम्री भएँ भन्ने ढुक्क भएपछि साढे ११ बजे नै स्कुटर निकालेर ऊ हिँडी। घरबाट हिँड्दा उसको मुटु बेस्सरी धड्कीरहेको थियो। मुटुको चालसँगै ऊ स्कुटरको एक्सिलेटर बटार्थी। सोच्थी, गुडिरहेकी छैन ऊ हावामा उडिरहेकी छे।

त्रिपुरेश्वर पुग्नै लागेकी थिई। जाम थिएन। एक्सिलेटर ४० गतिमा थियो। एक्कासी थाम्न सकिन उसले स्कुटर र पछारिई सडकमा। अर्को मोटरसाइकलको चालक पनि सम्हाल्न खोज्दाखोज्दै उसैसँग ठोक्कियो। त्यसपछि ऊ बेहोस भई।

अस्पतालमा अर्को दिन बिहान मात्र उसको होस खुल्यो। अस्पतालभरि भीड थियो। मान्छेहरू हतारमा थिए। छेउमा बसेकी आमाले भनिन् – हाम्रो घर केही भएन। धेरैका घर भत्किए। कति मान्छे मरे मरे। उसले बल्ल थाहा पाई, ठूलो भूइँचालो आएछ।

दिउँसो मोबाइलमा डायल गरी उसको नम्बर। जति पटक डायल गरेपनि टेलिकमकी केटीले भनीरही– तपाईँले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन।

हिमालको फेदमा रहेको गाउँमा उसको घर पनि भत्कियो कि। गाउँ गयो होला सोची तर मन बुझेन बेलाबेलामा डायल गरिरही उसको नम्बर।

अर्को दिन आमाले पत्रिका ल्याएर उसलाई दिइन्। दोस्रो पेजको समाचार उसलाई मन पर्ने मान्छको हाँसीरहकेको फोटो थियो। मुनि क्याप्सनमा लेखिएको थियो–भूकम्पमा परी ज्यान गुमाएका कर कार्यालयका अधिकृत।

चारैतिर अँध्यारो छायो। समाचारमा पढी नसक्दै ऊ फेरि बेहोस भई।

समय बित्यो। स्कुटरबाट लड्दा लागेको घाउमा खाटा बसिसक्यो। मान्छेहरू उसैगरी काममा अभ्यस्त भइसके जसरी भूइँचालो आउनुभन्दा अघि हुन्थे।

तर ऊ अझै पनि हराउँछे उसलाई मन पर्ने मान्छे ज्यूँदै भएको कल्पनामा। र, कहिलेकाहिँ जान्छे मन बुझाउन कफी सपमा। हिउँदका चिसा दिनमा कफी सपबाट देखिन्छ, सेताम्य हिमाल। त्यही हिमालसँग सम्झिन्छ ऊ हेट गर्छु भन्ने मान्छेको गाउँ। अनि उसको मुटु चिसो बनेर जम्न खोज्छ।

Leave a comment

Your email address will not be published.


*