22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

पहल असीमका तीन गजल

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, पुस १४, २०७३     6:56:33 AM  | 579 पटक पढिएको   |  
१.
तरबारमा राखेर काँडामा जिन्दगी राखेर
तिमी कहाँ जाँदै छौघरखेत बन्धकी राखेर
देश खोज्न हिँडेका बाउ उतै हराएपछि
ऊ बाउ खोज्न जाँदैछ आँखामा नदी राखेर
राजधानीमा तिम्रा महल यसकारण बनेका हुन
धितोमा कर्णाली , कोशी र गण्डकी राखेर
साहूको ऋण तिर्न छोरा मुग्लान जाँदैछ
रोगी आमालाई दमको औषधी राखेर
तिमी पुण्य प्राप्त गर्न कुन मन्दिर जाँदैछौ
पुजारीले बालेको आगोमा पुतली राखेर
फेरि फर्कने भनेर गएका छन निष्ठूरीहरु
असीमलाई दुर्गती आफूलाई प्रगती राखेर
२.
मलाई शंका छ दृष्टि दोषजस्तो मुल्याङ्कन हुनुमा
तिमीलाई के लाग्छ दिनहु यो देशमा आन्दोलन हुनुमा
आमा सुकोमल बगैचा हुन बा सुरक्षित पहाड हुन
हामी बारुदजस्ता मान्छेको फूलजस्तो बचपन हुनुमा ।
दोषी समय होइन, भाग्य होइन दोषी स्वयम हामी हौ
यहा भ्रुण बढ्न नपाएका सपना गर्भपतन हुनुमा
पिउनु गलत भएपनि सराबको ठूलो भूमिका छ
मेरो जीवनका नोस्टाल्जिक यादहरु उन्मुलन हुनुमा
३.
फेरि एउटा ईतिहासको क्रम फेरिनेछ ।
रंग फेरियो समयको मौसम फेरिनेछ ।
बल्झिराको मनको क्यान्सर तब सञ्चो होला
तिमी डाक्टर भएपछि मलम फेरिनेछ ।
शिशिर गयो बसन्तले वनै ढक्मकायो
ब्यूझनेछन कबिहरू कलम फेरिनेछ ।
आमा पाल्नुपर्ने डरले चुलै अर्को बनाएछन
खाना फेरिनेछ दाईको घरजम फेरिनेछ ।
पहल असीम थापा
चाल्सा ९, अछाम

Leave a comment

Your email address will not be published.


*